बनेपा/नेपाल उत्पीडित जातिय मुक्ति समाज काभ्रेको जिल्ला कमिटीको चौथो जिल्ला सम्मेलन केन्द्रिय अध्यक्ष मनोहर विक पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष तेज नेपालीको अध्यक्षतामा सम्पन्न भएको छ ।
अधिबेशनको बन्द सत्रले नयाँ कमिटी निर्विरोध निर्वाचित गरेको छ । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष मनोहर विक पौडेलले दलित समुदायले प्राप्त गरेको अधिकारलाई कार्यान्वनमा चुनौती रहेको बताए । दलित समुदाय भित्र रहेको विभेदको अन्त्य गर्दै राज्यका निकायहरुमा समावेशी सहभागिता तथा दलित समुदायको क्षमता अभिबृद्धीमा ध्यान दिन सुझाव दिए । नेकपा एमाले नेतृत्वको सरकारले दलित समुदायका लागि खेलेको भूमिकाको प्रशंशा गर्दै केन्द्रिय अध्यक्ष मनोहर विकले दलित समुदायका बालबालिकाहरुको शिक्षाका लागि छात्रबृत्ति तथा एकल र जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको बताए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जु, जिल्ला अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, संगठनका विभिन्न जिम्मेवारीका नेताहरु टेक घतानी, गिता सुनार, खड्गबहादुर पुर्काेटी, एमाले काभ्रेका विभिन्न जिम्मेवारीमा रहेका नेताहरु, जनवर्गिय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, संगठनका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका प्रमुख समेत रहेका नेता अशोक ब्याञ्जुले दलित परिषद मार्फत धुलिखेलले नमूना कार्य गरिरहेको बताए । देशभर नमूना कार्यका रुपमा धुलिखेलले गरेका दलितसँग सम्वन्धित कार्यक्रमहरुले दलित समुदायले गरिरहेको सीपलाई प्रविधिमैत्री तथा दलित समुदायको उत्थानका लागि थप सहयोग पुगेको उनले बताए । नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले एमालेले मात्रै संगठनहरु तथा राज्यका निकायमा दलित समुदायको प्रतिनिधित्वलाई प्राथमिकतामा राखेको बताए । संविधानमा भएको ब्यवस्थामा मात्रै नभई थप पार्टीका संगठन तथा जिम्मेवारीमा समेत दलित समुदायको प्रतिनिधित्व गराईरहेको बताए । कार्यक्रममा सहभागिहरुले दलित समुदायका पेशा तथा ब्यवसायलाई अझै परिस्कृत र प्रविधिमैत्री बनाउन, शिक्षामा गुणस्तर र अनिवार्य गर्न तथा सामाजिक सुरक्षालाई अझै फराकिलो बनाउन र प्रतिनिधित्वमा स्पष्ट ब्यवस्था गर्न माग गरेका थिए ।





