2026 September 04/ 02:14: 16pm

लक्ष्मण तिमल्सिना
बेथान्चोक

        असोज १०–१२ मा परेको अविरल वर्षातबाट बेथान्चोक जाने पक्कि सडक क्षतविक्षत भए पछि बेथान्चोक गाउँपालिकाको विशेष सभाले अन्य शिषर्कमा विनियोजन गरेको रकम कटौती गर्दै तत्कालका लागि मुख्य सडक निर्माण गर्ने निर्णय अनुसार बेथान्चोक ४ सल्लाफेद देखी पार्थली हुँदै बेथान्चोक २ गेल्डुङ बजार जोड्ने सडक पुर्ननिर्माण कार्य प्रारम्भ गरेको छ । 
    उकालो र अत्यन्तै जोखिम रहेको सलान्दु माथीको उकालो र पार्थली देखि गेल्ढुङ बजार पुग्ने सडकको बीच बीचका खण्डहरुलाई स्थायी रुपमा नै मर्मत गर्ने गरी कार्य प्रारम्भ गरिएको अध्यक्ष भगवान अधिकारीले बताए । सोमबार एक कार्यक्रमका बीच उक्त सडक निर्माण कार्यको शुभारम्भ गरिएको छ । गाउँपालिकाले तीन वडा सडकका लागि विनियोजन गरेको १० करोड रुपैया मार्फत उक्त सडकहरु पुर्ननिर्माण गरिनेछ । संघ र प्रदेश सरकारको सहयोगमा बेथान्चोक गाउँपालिकाको सिमाना पाटीखर्कबाट सल्लाफेदसम्मको सडक खण्ड पुर्ननिर्माण गरिने अध्यक्ष अधिकारीले बताए । 
    सल्लाफेद–पार्थली–गेल्ढुङ्ग सडक खण्डका लागि ५ करोड, भन्ज्याङ गोलगाउँ भुग्देउ मेदान्सु अन्र्तगत तिप्चोक–पार्थली सडक खण्ड साढे २ करोड र दाहाल भन्ज्याङ्ग हुँदै कामिडाँडा खण्डका लागि साढे २ करोड रकम विनियोजन गरिएको थियो । तीनवटै सडक निर्माण ब्यवसायी मार्फत निर्माण गर्ने गरी सम्झौता गरिएको छ । निर्माण ब्यवसायीले तीन वटै सडकका लागि ४ करोड ९८ लाख ८ हजार ५६ रुपैयामा सम्झौता गरेका छन् । सल्लाफेद पार्थली गेल्डुङ सडक बाहेक अन्य दुईवटा सडकका लागि प्रदेशको समपुरक बजेट समावेश गरिएको छ । उक्त सडक पुर्ननिर्माणको प्राथमिकता मानवबस्ति जोगाउने, नियमित सडक संचालन गर्ने र सडक संरक्षणका लागि वालहरु लगाउने गरी कामको विशेष क्षेत्र तोकिएको गाउँपालिकाले जानकारी दिएको छ । संघीय सरकारले पाटीखर्क–ढुंखर्क सडक निर्माणका लागि १० करोड विनियोजन गर्ने गरी टिप्पणी उठाई सकेको छ । यस अघि सोहि क्षेत्रका प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले तत्काल बेथान्चोक जाने सडक पुर्ननिर्माणका लागि बजेट विनियोजन सहित नागरिकहरुको आवास निर्माण लगायतका कार्यमा सरकारको ध्यानाकर्षण गराएका थिए । 
    बेथान्चोकमा भएको क्षतिका बारेमा अवलोकन गर्न मुख्यमन्त्री, संघीय मन्त्री तथा नेताहरुको लावालस्कर लागे पनि पुर्ननिर्माणमा थप सहयोग भने हुन सकेको छैन । सडक पुर्ननिर्माण कार्यको शुभारम्भको अवसरमा गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरु, इन्जिनियर तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।