2026 September 04/ 02:14: 27pm

    धुलिखेल/पर्यटकीय नगरी, विश्वस्तरबाट स्वस्थ शहरको प्रमाणपत्र प्राप्त गरेको, वातावरण, खानेपानी, शिक्षा तथा अन्य विभिन्न सुचकांकमा उत्कृष्टता हासिल गरेको धुलिखेल नगरपालिकाले स्थापनाको ३९ आंै बार्षिकोत्सवका अवसरमा १३ सय रोपनी जमिनमा फिल्म छायांकन स्थल बनाउने सम्झौता गरेर धुलिखेलको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप प्रयत्न गरेको छ । 
    राष्ट्रिय महत्व र गौरवका आयोजनाहरुलाई सशक्त रुपमा प्राथमिकताका साथ संचालन गरिरहेको धुलिखेलले विश्वविद्यालय, अस्पतालसँगै गौरवका अन्य आयोजनाहरु निर्माण गरी आन्तरिक र बाह्य रुपमा समेत आर्कषक शहरका रुपमा विकास गर्ने जमर्काे गरेको छ । ‘पर्यटकीय शहर धुलिखेललाई शिक्षा, स्वास्थ्य, पर्यटनसँगै फिल्म क्षेत्रबाट समेत पहिचान दिने गरी १३ सय रोपनी जमिनलाई फिल्म क्षेत्रका लागि उपलब्ध गराउने निर्णय गरेका हौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘फिल्म क्षेत्रका लागि सम्झौता गरिएको जमिनमा चलचित्र विकास बोर्डले आवश्यक पूर्वाधारहरु निर्माण गर्नेछ ।’ त्यस्तै नगरपालिकाले स्थापना दिवसको अवसर पारी प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ भने विभिन्न विद्यालयहरुले शैक्षिक प्रर्दशनी गरेका छन् । 
    दक्षिण कोरियाको मुङ्गयोङ्ग शहरसँग भगिनी सम्बन्ध कायम राख्ने सम्झौता गरेको छ । साथै विभिन्न विद्याका ११ वटा सम्मान प्रदान गरेको छ । धुलिखेल रत्न, धुलिखेल नक्षत्र, धुलिखेल प्रज्ञाश्री, धुलिखेल सेवाश्री, धुलिखेल तारा, जनसेवाश्री, कर्मचारी दीर्घ सेवा सम्मान गरिएको छ । त्यस्तै विभिन्न क्षेत्रबाट नगरपालिकालाई योगदान पु¥याउनेहरुलाई प्रशंसा पत्र प्रदान गरेको छ । धुलिखेल नगरपालिकाबाट प्रकाशन गरिएका पुस्तकहरु नगरपालिकाको मुख्य उपलब्धीहरुको संगालो र स्वस्थ शहर धुलिखेल लोकार्पण गरिएको थियो । प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा आयोजित कार्यक्रममा कोरिया स्थित मुङ्गयोङ्ग नगरपालिकाका प्रतिनिधिमण्डल सहभागी भएको थियो ।