2026 September 04/ 09:00: 06am

    नमोबुद्ध/नमोबुद्ध नगरपालिकाले नेपाल पत्रकार महासंघको १२ औ जिल्ला अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । नगर प्रमुख कुन्साङ लामाले निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई नगरपालिकामा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले राज्यको चौथो अंगले समाजमा सकारात्मक सन्देश प्रभाव गर्ने वातावरण बनाउने क्रममा नमोबुद्ध नगरपािलकाले भूमिका खेल्ने बताउँदै स्थानीय सरकारलाई सल्लाह, सुझाव र समन्वयका लागि संचार क्षेत्रको निरन्तर सहयोग र सुझावको अपेक्षा रहेको बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले समाजको आधारभुत चरित्र जुनसुकै पेशामा रहँदा पनि भिन्न नहुने भएकाले पत्रकारिता पेशा मार्फत मुलुक र राष्ट्रको समुन्नत विकासमा सक्रिय रहन नेतृत्वलाई शुभकामना दिए । पत्रकारिताका आयाम र प्रकृति तथा प्रविधिसँगै रुची र त्यसका सिमा फराकिलो भएको बताउँदै गिरीले नागरिकहरुको पहरेदार बन्न सुझाव दिए । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले नयाँ नेतृत्व र जिल्लाका संचारकर्मीहरु स्थानीय तहसँगको समन्वय र सहकार्यमा नागरिकहरुका अधिकारलाई स्थापित गर्ने अभियानमा केन्द्रित हुने बताए । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु, नगरपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वातावरण शाखा प्रमुख सन्तोष काफ्लेले संचालन गरेका थिए । 
    नेपाल पत्रकार महासंघको अधिबेशनबाट विनोदकुमार न्यौपानेको अध्यक्षतामा कपिल कोईराला उपाध्यक्ष, सम्झना गौतम महिला उपाध्यक्ष, नगेन्द्र अधिकारी सचिव, देवराज केसी सह सचिव, निरञ्जुल कायश्थ सह सचिव, केशवराज पौडेल कोषाध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै मोहनकृष्ण तिमल्सिना, रञ्जित बोहोरा, विकास तिमल्सिना, पुरुषोतम ढकाल, सविता न्यौपाने, शिशिर दोङ, ज्ञानमणी नेपाल, शरण हुमागाई, रोशन तिमल्सिना निर्वाचित भएका छन् ।