धुलिखेल/राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को समापन तथा उत्कृष्ट करदाता सम्मान गरिएको छ । आर्थिक वर्ष २०८०÷२०८१ को पौष मसान्तसम्म विवरण भर्न बाँकी रहेकाले आर्थिक वर्ष २०७९÷२०८० को विवरण भर्ने करदाता मध्ये सबै भन्दा धेरै आयकर बुझाउने काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त वित्तिय संस्था र सिन्धुपाल्चोक केन्द्रीय कार्यालय भएको सिन्धु विकास बैक सम्मानित भएका छन् । त्यस्तै उत्कृष्ट कर्मचारी विजयकुमार आचार्य सम्मानित भएका छन् ।
आन्तरिक राजश्व कार्यालय धुलिखेलले विशेषत चारवटा जिल्लाको कारोवार हेर्ने गर्छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको कारोवार धुलिखेलबाट हुने गरेको छ । दोलखा र रामेछापमा सेवा केन्द्र मार्फत कारोवार हुनेछ । १ लाख १९ हजार ९ सय ३ करदाता मध्ये ४९ वटा स्वास्थ्य, १ सय ४ वटा शिक्षा, १ हजार ३ सय ३० वटा सरकारी कार्यालय, १ हजार ५ सय ८० वटा अन्त शुल्क, ४४ हजार ५ सय २३ वटा ब्यवसायीक प्यान र ६६ हजार ५ सय ६८ ब्यक्तिगत प्यान रहेका छन् । २०७५ सालसम्म सेवा केन्द्रका रुपमा कारोवार गरिरहेको कार्यालयले पछिल्लो वर्षबाट अन्य जिल्लासमेत हेर्ने गरी आन्तरिक राजश्व कार्यालयका रुपमा कारोवार शुरु गरेको हो । देशभर ४३ वटा यस्ता कार्यालय छन् ।
गत आर्थिक वर्षको अन्त्यमा कार्यालयले ४ अर्ब २९ करोड ३३ लाख राजश्वको लक्ष्य पाएकोमा ३ अर्ब ५७ करोड ३७ लाख असुल गरेको थियो । प्रतिशतका हिसावले लक्ष्यको ८३.२४ प्रतिशत हो । यो वर्ष ४ अर्ब ५० करोड २७ लाख २२ हजारको लक्ष्य रहेकोमा चार महिनाको अन्त्यमा १ अर्ब ३५ करोड ३३ लाखको लक्ष्य लिएकोमा ९१ करोड ८७ लाख राजश्व असुल गरेको छ । कार्यालयले विशेषत करदाता सेवा, कर संकलन र कर परिक्षण र अनुसन्धानको कार्यलाई प्राथमिकतामा राखेको प्रमुख कर अधिकृत हरिप्रसाद तिमल्सिनाले बताए । सम्मानित भएका मध्ये महिला लघुवित्त वित्तिय संस्थाले ९८ लाख १४ हजार र सिन्धु विकास बैकले ९९ लाख ९९ हजार आयकर तिरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत हरिप्रसाद तिमल्सिनाले नागरिकहरुलाई करमैत्री वातावरण बनाउने अभियानमा कार्यालयले सप्ताह मार्फत सचेतनामुलक तथा अन्य समयमा पनि विविध कार्यक्रम संचालन गरेको बताए । कार्यक्रममा बोल्दै प्रमुख कोष लेखा नियन्त्रक रुद्र कोईरालाले कर तिर्न योग्य संस्थाहरुलाई कर तिर्न सहज बनाउनु पर्ने बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले राज्यले लिएको कर असुलीको लक्ष्य पुरा हुन कठिन भएको बताए । ‘कोरोना पछि बजार उठ्नै सकेको छैन, विश्वभर आर्थिक मन्दी बढेको छ, ब्यापार घटेको छ’–बैद्यले भने–‘ब्यवसायीहरुको समस्या बुझ्ने प्रयन्न कसैले पनि गरेको छैन । कर बढाउने योजना मात्रै राखेर सफल हुन सक्दैन ।’ कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य मञ्जकुमार कोँजु, काभ्रे अध्यक्ष प्रताप बैद्य, धुलिखेल अध्यक्ष कोमलसुन्दर श्रेष्ठ, अडिटर्स एशोसिएसन नेपालका अध्यक्ष अर्जुनदास श्रेष्ठ, कर अधिकृत अखिलकुमार खड्का, रमेश ढकाल लगायतले कर ऐन, करका विशेषता लगायतका विषयमा धारणा राखेका थिए ।





