2026 September 03/ 04:08: 31am

    बनेपा/अबिरल वर्षात सँगै बाढी र पहिरोका कारण पानीका मुहानहरु पूर्ण रुपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल, ब्यापारीक शहर बनेपा र पनौती लगायतका ग्रामिण क्षेत्रका पालिकाहरुमा खानेपानी अभाव हुन थालेको छ । मुख्य तीन शहर पनौती, बनेपा र धुलिखेलमा एकीकृत खानेपानी र धुलिखेलमा ल्याएको खानेपानीको मुहान बन्द भएको छ । खानेपानीको पाईप कयौ स्थानमा बगाएको छ । 
    खानेपानी अभावसँगै पानीजन्य रोगहरु निम्तिन सक्ने भन्दै स्वास्थ्यकर्मीहरुले उमालेर मात्रै पानी पिउन अनुरोध गरेका छन् । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुले नागरिकहरुलाई खानेपानी उमालेर मात्रै पिउन अनुरोध गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल र बनेपामा ल्याएको खानेपानीको मुहानमा बाढीका कारण क्षति पुगेको छ । जसका कारण पानी नियमित हुन सकेको छैन । नेपाल खानेपानी संस्थान बनेपा शाखा अन्तर्गत बनेपा क्षेत्र र पनौती क्षेत्रको मुहान तथा पाईप लाईन एवं धुलिखेल नगरपालिकामा विगत लामो समय देखी रोशीखोलाबाट आईरहेको पानीको मुहान र पाईपलाईनमा क्षती भएका कारण खानेपानीको हाहाकार भएको हो । नेपाल खानेपानी संस्थान काभ्रेका सूचना अधिकारी होमप्रसाद चौलागाईका अनुसार बनेपामा ल्याईरहेको दुबै मुहान शशिपानी र एकीकृत खानेपानी तथा मिनरल आयोजना समेत बन्द भएको छ । धुलिखेल नगरपालिकामा भुमेडाँडाबाट ल्याएको खानेपानीको मुहानमा क्षती भएकाले आवश्यक ममर्त कार्य सम्पन्न नहुन्जेल खानेपानी आपूर्ति कार्य प्रभावित हुने खानेपानी संस्थान र समितिले जानकारी गराएको छ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति नेपाल खानेपानी संस्थानले क्षमा मागेको छ । शहरी क्षेत्रका अलावा रोशी, बेथान्चोक तथा बाढी पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार शुरु भएको छ ।