2026 September 01/ 05:58: 08pm

    बनेपा/नेकपा एमालेका नेता एवं पूर्व मन्त्री तथा पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अनेरास्ववियु देशभरको अग्रणी, विश्वासिलो, भरपर्दाे र देशभावमा समेत अगुवा संगठन रहेको बताएका छन् । ‘विचार र चेतनाको वाहक मात्र नभई अनेरास्ववियु ब्यक्तिलाई प्रेरणा दिन र राष्ट्र प्रेम जगाउने अगुवा संगठन हो’–नेता बास्कोटाले भने–‘अनेरास्ववियुले बाँच्न सिकाउँछ । बाँच्नलाई सिप सिकाउँछ । सिप र श्रम हुँदा मात्रै ब्यक्ति, परिवार र राष्ट्रको आर्थिक समृद्धि सम्भव छ ।’ 
    अनेरास्ववियु काभ्रेले आयोजना गरेको एसईई दिएर बसेका विद्यार्थीहरुका लागि निःशुल्क कफि बनाउने १० दिन लामो तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पछि नेता बास्कोटाले विद्यार्थीहरुसँग प्रमाणपत्रसँगै सिप र सिर्जनाका साथै मेहनत गर्ने बानी बसाल्नु पर्ने बताए । ‘अध्ययन सँगै सिप र श्रमसँग जोडिन सके मात्रै ब्यक्ति खुशी हुन सक्छ, सिप भएको ब्यक्ति कहिल्यै बेरोजगार हुनु पर्दैन’–नेता बास्कोटाले भने । जिल्ला अध्यक्ष मिलनकुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकसय भन्दा धेरै ब्यक्तिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सुपरनोभा तालिम केन्द्रद्वारा निःशुल्क उपलब्ध गराईएको तालिममा विद्यार्थीहरुले सक्रियतापुर्वक तालिम लिएको प्रशिक्षक विवेक शर्मा दाहालले बताए । सुपरनोभाका संचालक मोहन गजुरेलले पछिल्लो समय कफि ब्यक्तिहरुको रुची बनेको, विदेश तथा स्वदेशमा समेत त्यसको सिप र सिप सिकेको जनशक्तिको माग हुने गरेकाले एसईई दिएर बसेका विद्यार्थीहरुले उक्त सिप सिकेर आगामी जीवनलाई सहज बनाउन शुरुवात गरेको बताए । 
    कार्यक्रममा एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले विद्यार्थीले नयाँ नयाँ सिर्जना सँगै सिप र त्यसको सहि ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका स्थायी सदस्य तथा बागमती प्रदेश इन्चार्ज सागरहरी अधिकारी, केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज सुमन जैरु, नेकपा एमाले जिल्ला सह इन्चार्ज शालिकराम पराजुली, प्रदेश कमिटीका उपाध्यक्ष युवराज दाहाल, सुपरनोभाका मोहन गजुरलेल, प्रशिक्षक विवेक शर्मा दाहाल, अनेरास्ववियु काभ्रेका उपाध्यक्ष दिपेश तिमल्सिना, सचिव विमला तिमल्सिना, प्रशिक्षार्थीहरु सरिमा बञ्जारा र रोशन अधिकारी लगायतले अनेरास्ववियुले प्रदान गरेको निशुल्क तालिमको सदुपयोगमा जोड दिए ।