गाडी दर्तामा विशेष छुट
बनेपा/सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले बामगती टिपर ब्यवसायी संघ, काभ्रेले शुरु गरेको सचेतनामुलक कार्यक्रमबाट संघमा आवद्ध टिपरहरु मार्फत हुने दुर्घटनामा कमी आएको छ । संघमा आवद्ध नभएका टिपरहरुले ट्राफिक नियम पालना नगर्दा वा संयमताका साथ सवारी नचलाउँदा दुर्घटना भईरहेका छन् । केहि दिन अघि बनेपाको गोदामचोकमा तिब्र गतिमा चलेको टिपर दुर्घटना भएको थियो ।
‘बामगती टिपर ब्यवसायी संघमा आवद्ध टिपरका चालकहरुलाई हामी समय समयमा प्रशिक्षण दिईरहेका छौं । ट्राफिक नियमको पालनाका लागि सम्झाई रहेका छौं । दुर्घटना नगराउने चालकहरुलाई पुरस्कृत गरिरहेका छौं’–अध्यक्ष सुरेश खत्रीले भने–‘बागमती टिपर ब्यवसायी संघमा आवद्ध भएका टिपरका चालकहरुलाई नियमित प्रशिक्षण गराउँदै उनिहरुको सुरक्षाका लागि समेत संघले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । जसका कारण दुर्घटना न्यूनिकरणमा उहाँहरुको चासो र सक्रियताका साथै जिम्मेवारी बढेको महसुस भएको छ ।’ दुई वर्षको अवधीमा बागमती टिपर ब्यवसायी संघमा आवद्ध टिपरका कारण एक जनाको ज्यान गुमेको तथ्यांकले देखाएको छ । टिपरहरुका कारण दुर्घटना हुन नदिन संघ सधै सचेत रहेको अध्यक्ष खत्रीले बताए । ‘संघमा आवद्ध टिपरहरुले बोक्ने ओभरलोड हटाउन अभियान शुरु गरेका छौं’–अध्यक्ष खत्रीले भने–‘ट्रफिक प्रहरीसँगको समन्वयमा ओभरलोड बोकेर आउने टिपरहरुलाई तत्काल कारवाहीक लागि सहयोग गरेका छौ ।’ ‘हामी संघ बाहिर रहेका टिपर ब्यवसायीहरुलाई तत्कालै संघमा आवद्ध भई दुर्घटना न्यूनिकरण अभियान तथा ब्यवसायीक मजबुदताका लागि आब्हान गर्दछौ’–अध्यक्ष सुरेश खत्रीले भने–‘संघ बाहिर रहेका ब्यवसायीहरुकै हितका लागि ध्यान दिदै सवारी साधन दर्तामा आधा छुट गर्ने निर्णय गरेका हौ ।’
‘हामी आफैले ब्यवसायी र चालकहरुलाई ओभरलोड नबोक्न, तिब्र गतिमा नचलाउन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागु पर्दाथ सेवन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न भनेका छौं’–अध्यक्ष खत्रीले भने–‘दुर्घटना एउटा चालकले रोक्न खोज्दैमा सम्भव छैन । सडक पूर्वाधार तथा सडकमा गुड्ने कयन सवारी साधनका कारण पनि हुने गरेको छ । तर टिपरका कारण दुर्घटना भयो र सडक भत्कियो भन्ने अवस्था आउन नदिन हामी सधै सचेत छौं र चालकहरुलाई खवरदारी गरिरहेका छौं ।’ टिपर ब्यवसायी संघकै अगुवाईमा केहि दिन अघि दर्जनौ टिपरहरुले बोकेको ओभरलोड विरुद्ध कारवाही गरिएको छ । संघले चालक तथा सवारी धनिहरुका लागि पनि विभिन्न सुविधा उपलब्ध गराएको छ । सोहि सुविधाका कारण ब्यवसायीहरु पलायन हुनबाट रोकिने विश्वास संघले लिएको छ ।
गाडी दर्तामा भारी छुट
बागमती टिपर ब्यवसायी संघको फागुन २८ गते बसेको बैठकले टिपर तथा मिनी टिपर ट्रक दर्ताका लागि ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । अध्यक्ष सुरेश खत्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको कार्यालय प्रमुख प्रकाश कायश्थले बताए । संघले चैत्र ३० गतेसम्मलाई उक्त सुविधा दिने निर्णय गरेको हो । संघले टिपर दर्ताका लागि ७ हजार ५ सय र मिनी टिपर÷मिनी ट्रक दर्ताका लागि ३ हजार ७ सय ५० रुपैया कायम गरेको छ । यस अघि उक्त शुल्क दोब्बर थियो । अहिले ५० प्रतिशत छुट गरिएको हो । सवारी धनिहरुले उक्त समयावधी भित्र सवारी साधन दर्ता गरेमा छुट सुविधा उपलब्ध हुनेछ ।






