2026 September 02/ 02:43: 46pm

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर ५ स्थित श्रीखण्डपुरमा प्रवेशद्धार र नाःफल्चा शिलान्याश गरिएको छ । श्वेतभैरव मन्दिर प्रवेशद्वार निर्माण गर्न लागिएको हो । धुलिखेल नगरपालिकाको पुरानो र ऐतिहासिक क्षेत्रको रुपमा रहेको श्रीखण्डपुर क्षेत्रको मौलिकता झल्कने परम्परागत शैलिमा प्रवेशद्वार निर्माण हुनेछ । यस्तै भग्नावशेष अवस्थामा रहेको नाःफल्चाको पनि हिजो बुधबार शिलान्याश गरिएको छ । ६० वर्षभन्दा अघिदेखी भग्नावशेषको रुपमा रहेको फल्चा पुनःनिर्माण गर्न लागिएको हो । प्रवेशद्धार र नाःफल्चा शिलान्याश गर्दै नगर प्रमुख अशोक ब्याञ्जुले संम्पदाको संरक्षण र सम्बद्र्धनमा नगरपालिका लागिरहेको बताए । हाम्रा मौलिक साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदा, पाटी पौवाको संरक्षण र प्रवद्र्धन नगरपालिकाको प्राथमिकतामा रहेको उनको भनाई छ । हिजो बुधबार धुलिखेल नगरपालिका वडा नम्बर ५ मा निर्माण भइरहेको महादेव पोखरीको समेत नगर प्रमुख ब्याञ्जुले निरिक्षण गरेका छन् । उनले प्राचिन महत्वको पोखरी निर्माणले खुसी मिलेको बताएका छन् । पोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अबको १०/१५ दिनमा पोखरी उद्घाटन गरिने वडा अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिए । पुरानो इतिहास बोकेको श्रीखण्डपुरका सम्पदालाई जीवन्त दिन आफुहरु लागिरहेको उनको भनाई छ । पुर्खाले बनाएका सम्पदा भावी सन्ततिलाई समेत हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए । श्रीखण्डपुरको इतिहास र पहिचान कायम राख्न पनि मौलिक संपदा संरक्षण र पुनःनिर्माण जरुरी रहेको उनको भनाई थियो । 
कार्यक्रममा धुलिखेल नगरपालिका वडा १ का वडा अध्यक्ष सन्त बहादुर तामाङ, वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य, ९ का वडा अध्यक्ष बद्री हुमागाँई, ११ का वडा अध्यक्ष नारायण बडाल, वडा नम्बर ५ का वडा सदस्य, वडा सचिव निर्मला रावल, नेकपा एमाले नगर अध्यक्ष दयाराम महत, नेकपा एकीकृत समाजवादीका हरिगोपाल प्रधानांगसहित स्थानीयको उपस्थिती रहेको थियो ।