2026 September 02/ 02:44: 38pm

राजश्वको लक्ष्य २२ करोड, संकलन ४ करोड 
    बनेपा/बनेपा नगरपालिकाले १३ आंै नगर अधिबेशन सम्पन्न गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा १३ औं सभा सम्पन्न भएको हो । 
    सभामा नगर प्रमुख शाक्यले १८ महिना कार्यकाल सकिदा सम्म भएका विकासका कार्यहरुका बारेमा जानकारी गराएका थिए । शिक्षा विकासको पहिलो खुट्किलो भएकाले नगर भित्र रहेका ३४ वटा विद्यालय मध्ये प्रत्येक वर्ष ४ वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउन र सोहि अनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्न शुरु गरिएको शाक्यले बताए । नगरका कृषकहरुको तरकारी तथा फलफुल नबिग्रीयोस् भन्नका लागी बनेपा ८ मा ४ रोपनी क्षेत्रफलमा मल्टी कोल्ड स्टोर निर्माण गर्न लागिएको र सोहि भवनलाई संघीय सरकारबाट २ करोड अनुदान प्राप्त भएको बताए । लम्पीस्कीनबाट नगर भित्र ६ सय वटा गाईभंैसी मरेका र तिनको क्षतिपूर्ति बापत प्रतिपशु १० हजारका दरले प्रदान गरिएको र गाई, भैंसी बाख्राको निःशुल्क विमाको ब्यबस्था गरिएको बताए । प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क मोतिविन्दुको अप्रेसनको कार्यलाई निरन्तरता, सडक, खानेपानी लगायतका कार्यहरु गर्दै आएको बताए । कार्यक्रममा उपप्रमुख तथा राजश्व परामर्श समितिका संयोजक विमला सापकोटाले समितिको प्रतिवेदन र बजेट तथा योजना तर्जुमा समितिको प्रतिबेदन प्रस्तुत गरेकी थिईन् । सापकोटाले पौष मसान्तसम्म आईपुग्दा राजश्वको लक्ष्य २२ करोड रहेकोमा ४ करोड ४४ लाख मात्र संकलन भएको बताईन् । नगरमा १ हजार ९ सय ५० ब्यबसाय दर्ता भएका र यो वर्ष १४६ वटा थपिएको बताईन् । उपप्रमुख सापकोटाले आगामी २०८०÷०८१ सम्मको राजश्वको लक्ष्यमा पुग्न मुस्किल रहेको बताईन् । चालु वर्षका लागि विनियोजित योजना भने ९० प्रतिशत सम्झौता भएका छन् । 
    सभामा संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिका संयोजक तथा वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष रमेश दाहाल, सामाजिक विकास समितिको प्रतिबेदन वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुंवर, विधान समितिको प्रतिबेदन संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारी, वन, वाताबरण तथा विपद् ब्यबस्थापन समितिको प्रतिबेदन वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, पूर्वाधार विकास समितिको प्रतिवेदन संयोजक तथा ४ नम्बर वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, लेखा समितिको प्रतिबेदन संयोजक तथा ७ नम्बर वडा अध्यक्ष हिटलर शाक्यले प्रस्तुत गरेका थिए । त्यसैगरी सभामा नगर सदस्यहरुले प्रतिबेदन उपर छलफलमा भाग लिएका थिए भने प्रतिवेदन उपर नगर प्रमुख, उपप्रमुखले जवाफ दिएका थिए । सभामा प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले नगरमा चालु रहेका योजना समयमा नै सम्पन्न हुने बताए ।