2026 September 02/ 02:44: 55pm

भुकम्प पछिको उद्दारमा सशस्त्रको ‘डेमो’ 
    पाँचखाल/मध्यान्ह १२ बज्नै लागेको थियो । ११.२८ मा पाँचखाल ४ को खेल मैदानमा प्रतिस्पर्धाका लागि जम्मा भएका विद्यार्थीहरु समेत अचम्ममा परे । भुकम्प गयो भुकम्प । सँगै रहेका सहभागि, शिक्षक तथा स्थानीयहरु पनि चिच्याएको आवाज पछि यताउता गर्दै थिए । दुई वटा झुप्रा र एउटा कच्ची घरबाट बचाउ बचाउको आवाज आईरहेको थियो । केहि मान्छेहरु रोईरहेका थिए । केहि उद्दारका लागि अपिल गरिरहेका थिए । हेर्दा हेर्दै दृश्यमा केहि घर भत्किए । उनिहरुले घरमा आफन्त पुरिएको बताउँदै थिए । 
    सशस्त्र प्रहरी बल १५ नम्वर गण हेडक्वाटर पाँचखालका प्रमुख एसपी अच्युतकुमार मजगैयालाई भुकम्प गएको र केहि घरहरुमा क्षती पुगेर केहि स्थानीयहरु हताहत भएको खवर आउँछ । तत्कालै एसपी मजगैयाले सुरक्षा सहित उद्दार टोली खटिन निर्देशन दिनु अघि जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई जानकारी गराउँछन् । प्रजिअ शर्माले सुरक्षा निकायका सबै टोलीलाई खवर गरी तत्कालै शशस्त्र प्रहरी परिचालनका लागि निर्देशन दिन्छिन् । शशस्त्र प्रहरी बल १५ नम्वर गण हेडक्वाटर पाँचखालको उद्धार टोलीले स्थानीय श्रोत र साधन, प्रविधीको प्रयोग गरी स्ट्रेचर सहित एम्बुलेन्स लिएर घटनास्थल पुग्छ । तत्कालै घाईतेहरुलाई सुरक्षाकर्मीसँगै गएको सशस्त्र प्रहरीकै स्वास्थ्कर्मीको टोलीले उपचारका लागि स्ट्रेचर र एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल पठाउँछ । बाँकी रहेकाहरुको खोज र उद्दारका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै खोजतलास शुरु गर्छ । पुनः भुकम्पको पराकम्पका कारण उत्पन्न जोखिममा उद्धारका लागि खटिएको टोलीले आफ्नो रक्षाका लागि तैनाथ हुन्छ । केहि समय पछि घरको ढोका काटेर पुरिएकाहरुको उद्धार हुन्छ । पुरिएका मध्ये एकको जिवितै र एकको मृत अवस्थामा उद्धार हुन्छ । उनिहरु दुबैलाई थप उपचार तथा पोस्टमार्टमका लागि जिल्ला रिफर गर्छ । 
    २६ औं भुकम्प सुरक्षा दिवसका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखालमा आयोजना गरिएको डेमोमा शशस्त्र प्रहरीले भुकम्प आउनु अघिको तयारी, भुकम्प पछिको खोज तथा उद्धारका बारेमा डेमो प्रर्दशन गरेको थियो । नागरिकहरुले भुकम्पबाट बच्ने खालका संरचना निर्माण गर्न तथा भुकम्प गए पछिको उद्धारमा ध्यान दिनु पर्ने विषय र स्वयं सुरक्षाकर्मीले पनि विपदको अवस्थामा खटिँदा ध्यान दिनु पर्ने विषयमा सचेत गराईएको थियो । ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मुल नाराका साथ पाँचखाल फुटवल मैदानमा भुकम्प सुरक्षा सम्बन्धी डेमो प्रदर्शन गरिएको हो । भुकम्प सुरक्षा दिवस जिल्ला मुल आयोजक समिति काभ्रेको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले डेमो प्रदर्शन गरेको हो । । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, पाँचखाल नगरपालिका उप–प्रमुख सुर्यमाया दनुवार, प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकाल, राष्ट्रिय अनुसन्धानका राजन प्रजापति, नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुनाथ हुमागाँई, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, विभिन्न सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दिपक गौतमले भुकम्प जुनसुकै बेलापनि आउनसक्ने भएकाले भुकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिन आग्रह गरेका छन् । यस्तै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भुकम्पको समयमा सुरक्षित रहन अपनाउनुपर्ने उपायबारे सबै सचेत हुनुपर्ने बताइन् । उपप्रमुख सुर्यमाया दनुवारले स्थानीय सरकारले संरचना निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि प्रयत्न गरिरहेको बताईन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति रघुनाथ हुमागाँईले रेडक्रसले विपत्तिमा सहयोग गर्दै आइरहेको बताए । उनले रेडक्रसले विपद् पुर्वको तयारीमा समेत सुुसुचित गराउँदै आएको बताएका छन् । नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले २०७२ को भुकम्पलाई अवसरको रुपमा लिँदै भुकम्प प्रतिरोधी संरचना निर्माणमा कडाई गर्नुपर्ने बताए । भवन भुकम्प प्रतिरोधी नबन्दा धेरै जनधनको क्षति व्यहोर्नुपरेको उनको भनाई छ ।

२०७२ को भूकम्पमा जिल्लामा भएको क्षती
    विनाशकारी भूकम्पका कारण काभ्रेपलाञ्चोक जिल्लामा ३ सय ७२ जनाको मृत्यु भएको थियो भने १४ हजार ८ सय ४३ जना घाईते भएका थिए । २ सय ३७ जनाको जिवितै उद्दार गरिएको थियो भने ४ सय ९६ वटा प्राणी उद्दार गरिएको थियो । भुकम्पमा घाईते भएकाहरु मध्ये ४ हजार ७६ जना विरामीको उद्दार गरिएको थियो । जिल्लामा रहेका ८३ हजार २ सय २४ पुर्ण रुपमा क्षति भएका थिए । सरकारी भवनहरु, सामुदायिक भवन, सहकारी भवन, गुम्बा, रेडक्रस भवन, लघु जलविद्यूत्त, मठ मन्दिर, दुध चिस्यान केन्द्र, सामुदायिक विद्यालय, स्वास्थ्य भवन, प्रहरी चौकी, कृषि उपजहरु १ अरव ३५ करोड ८२ लाख ५० हजार बराबरको क्षति भएको थियो । खाद्यान्न, तरकारी तथा नगदे बाली, हाट बजार, ब्यवसायीक कृषि फर्म लगायतको क्षति भयो । खानेपानी, शौचालयहरु पुश सेवा केन्द्र र पशुधनमा समेत करोडौंको क्षति भयो । काभ्रेमा भूकम्पले क्षति भएको सर्भे गरिएका ९८ हजार १९ घर धुरी मध्ये लाभग्राहिको सूचीमा परेका ८४ हजार ४ सय ८६ घर धुरी थिए । जसमध्ये ७६ हजार ६ सय ८४ घर धुरीले पहिलो किस्ताका लागि सम्झौता गरेका थिए । सरकार र एनजिओ मार्फत उक्त सम्झौता भएको थियो । जिल्लामा एनजिओले पुर्ननिर्माणका लागि आवासमा २ हजार ८ सय ९७ घर धुरीलाई सम्झौता गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।