2026 September 01/ 12:11: 47pm

जिल्ला अदालतको निरीक्षण
    धुलिखेल/प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वाेच्च अदालत लगायत देशभरका अदालतहरुलाई प्रविधीमैत्री बनाउँदै अनियमिततालाई ब्लक गरी न्यायमा पहुँच पु¥याउन आवश्यक रहेको बताएका छन् । 
    नेपाल बार दिवस (बार–डे) २०८० को उपलक्ष्यमा शनिबार काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आयोजित बार दिवसको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले उक्त धारणा राखेका हुन् । बार दिवसमा सहभागि हुनु अघि प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालत काभ्रेपलाञ्चोकको निरिक्षण गरेका थिए । सोहि क्रममा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपाल, न्यायाधीशहरु विश्वनाथ भट्टराई र शिवकुमार पोखरेल, श्रेस्तेदार कर्णबहादुर राई लगायतले जिल्ला अदालतले गरिरहेका काम, समस्या तथा भौतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । जिल्ला अदालतले भौतिक अवस्थाका कारण सेवाग्राहीहरुलाई सहज सेवा दिन असहज महसुस गरिरहेको सोहि अवसरमा प्रधानन्यायाधीश श्रेष्ठलाई जानकारी गराईएको थियो । 
    उपत्यका बार एशोसिएशन, उच्च अदालत पाटन बार एशोसिएशन, काठमाडौं जिल्ला अदालत बार एशोसिएशन, भक्तपुर जिल्ला अदालत बार एशोसिएशन, ललितपुर जिल्ला अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन र काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एसोशिएशनको आयोजनामा नेपाल बार दिवस मनाईएको हो । कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले भने न्यायमा पहुँच पु¥याउन, अनियमिततालाई ब्लक गर्दै जान प्रविधीमैत्री हुन आवश्यक छ । प्रधानन्यायाधीश श्रेष्ठले भने–‘म आएको दिन देखि नै सुधारका काममा लागिरहेको छु । सर्वाेच्च अदालतमा भएको सुधार उच्चमा, उच्च अदालतमा भएको परिवर्तन विस्तारै जिल्ला अदालतमा पु¥याईने छ । उच्च अदालतमा पेशीको तारेख अटोमेशन गर्ने तयारी छ । हामी सबै तिर त्यसको शुरुवात गर्नेछौं ।’ 
    ‘भर्खरै म चीन पुगें । केहि समय अघि भारत पनि पुगेको थिएँ । त्यहाँ भएको प्रविधीबाट म प्रभावित भएको छु । अदालतमा न कानून ब्यवसायी आउँछन न कोहि पक्ष आउँछन ? समयको पनि बचत । झन्झट पनि छैन’–प्रधानन्यायाधीश श्रेष्ठले भने–‘नेपालका अदालतमा पनि शुरु गरौं । पहिला सर्वाेच्च अदालतमा शुरु गरौ । केहि समय अघि धनकुटाबाट बहस भयो । यहाँ पनि सकिन्छ । हामी तयार नै छौं । भिडियो कन्फरेन्सबाट बहस गर्न चाहनु हुन्छ भने तपाई कानुन ब्यवसायीहरुले एउटा सन्देश पठाई दिनुस । हामी त्यसको ब्यवस्थापन गर्नेछौ ।’ प्रविधीबाट जनतासँग नजिक हुने र नागरिकमैत्री सेवामा सहजता ल्याउने विषयमा आफु सपथ खाएको दिन देखि नै प्रयत्न रहेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले भने–‘दार्चुलाबाट काठमाडौसम्म बहस र बकपत्र गर्न किन आउनु प¥यो ? प्रविधीबाट नै हुने भए पनि समय र खर्च दुबैको बचत मात्रै भएन । अनियमितता रोक्ने एउटा ब्लक पनि शुरु भयो । म सुधारका लागि प्रयत्नरत छु । साथ र सहयोग सबै पक्षको आवश्यक छ ।’ नेपालका अदालत प्रविधीमैत्री बनाउन सकिएन भने धेरै पछि परिने प्रधानन्यायाधीश श्रेष्ठले बताए । 
    स्वतन्त्र न्यायपालिका प्रविधीमैत्री सेवा, सक्षम कानून व्यवसायी पेशागत मर्यादा भन्ने नाराका साथ शुरु भएको कार्यक्रमको धुलिखेलमा उद्घाटन पछि प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौ जिल्ला भित्र रहेका तीनवटा अदालत विशेष, श्रम र बैदेशिक रोजगार न्यायाधीकरणमा भिडियो कन्सफरेन्सबाट बहस र बकपत्र लगायतका कार्य शुरु गरिएको बताए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भने–‘तपाई कानून ब्यवसायीहरु तयार भए सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा समेत उक्त प्रविधी कार्यान्वयन गर्न सकिन्छ ।’ प्रधानन्यायाधीश श्रेष्डले भिडियो कन्फरेन्सबाट बहस र बकपत्र गर्ने ब्यवस्था मिलाउन बारका अध्यक्षहरुलाई अनुरोध गरेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले सुधारका पाटो खोजौ भने पनि प्रविधीका माध्यमबाट पनि सुधार गर्ने कुरामा कोहि पनि सहमत नभएको बताए ।     बार दिवसको अवसरमा धुलिखेल वसपार्कबाट नगरपालिका सभाहलसम्म बाजागाजा सहित पदयात्रा गरिएको काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष विष्णुप्रसाद सापकोटाले जानकारी दिए । काभ्रेका अध्यक्ष सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा अधिबक्ता लालतारा अधिकारीको स्वागत रहेको थियो भने अधिबक्ता निरोज नेपालको संचालनमा सम्पन्न भएको थियो । 
कार्यक्रममा महान्यायाधीबक्ता डा.दिनमणी पोखरेल, वारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, उच्च अदालत, जिल्ला अदालतका न्यायाधीशहरु, बरिष्ठ अधिबक्ताहरु, वार एशोसिएसनका वर्तमान र पुर्व पदाधिकारीहरु, विभिन्न इकाईका प्रतिनिधिहरु, पुर्व महान्याधीबक्ताहरु र कानून ब्यवसायीहरुको सहभागिता रहेको थियो ।