2026 November 07/ 01:54: 15am

नेपालमा रहेका महिला आयोगका पदाधिकारी तथा महिला अधिकारको क्षेत्रमा कार्यरत सम्पुर्ण संघ–संस्था, मानवअधिकारकर्मी, संचारकर्मी, न्यायकर्मी र सामाजिक अभियन्ताहरुमा चरम घरेलु हिंसामा परि जीवन धान्ने बाध्यताले विदेशीन बाध्य महिलाको तर्फबाट सबैलाई हार्दिक नमन सहित न्यायको भिख माग्दैछु । यो भिख केवल मेरो प्राणको लागि हो । न्यायको खातिर न्यायको लागि हो । कुनै न कुनै बाहनामा मलाई न्याय पाउनबाट बञ्चित नगरियोस् । 
    विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ । भर्खरै सम्पन्न भएको १६ दिने अभियानले के सन्देश दियो ? अब के हुन्छ ? हरेक दिन महिलाहरु हिंसामा छन् । लैङ्गिक हिंसामा धेरै पीडित भनेको महिलाहरु हो । महिलाहरुका कारण पुरुषहरु पनि पीडामा छन् सत्य हो तर महिला धेरै पीडामा छन् ।  यसका धेरै कारणहरु रहेछन् । महिलाहरु आफैमा सशक्त हुन नसक्नु । आफ्नो खुट्टामा उभिन नसक्नु । आर्थिक रुपले सक्षम नहुनु । शिक्षा तथा रोजगारमा महिलाहरुको पहुँच पुग्न नसक्नु । धेरै कारण महिलाहरु हिंसामा पर्दा रहेछन् । लिङ्गका आधारमा महिलाहरुलाई लाञ्छना लगाउन पनि सहज हुने रहेछ । महिलाहरुप्रतिका लाञ्छना समाजले सहजै पत्याउँदो रहेछ । हो होईन, भएको के हो ? कसरी यस्तो हुन पुग्यो ? भएर पो भयो कि ? नभएरै पो भयो कि ? यस्ता विषयमा समाजले खोज्ने ? बुझ्ने र विश्लेषण गर्ने अवस्था हुँदो रहेनछ । त्यहि कारण नेपालमा विशेषगरी धेरै महिलाहरु हिंसामा परेका छन् । 
    म पनि त्यहि हिंसामा परेको महिला हुँ । न्यायका लागि धेरै स्थानमा धाउनु सामान्य रहेछ । विदेशमा यस्तो खालको हिंसा हुँदा तत्कालै न्यायको महसुस गराउँदो रहेछ सरकारले । नेपालमा त सरकार पनि त्यस्तै । त्यहि सरकारलाई मत दिएर विजयी गराउने हामी जनता पनि त्यस्तै । जनताका लागि काम गर्छु, कानून बनाउँछु भन्नेहरु पनि त्यस्तै । त्यहि कानून कार्यान्वन गराउने कर्मचारीहरु पनि त्यस्तै । पहिला पहिला भन्दा त अहिले महिलाहरु स्वतन्त्र जस्तै छन् । चुल्हो चौकामा सिमित महिलाहरु अहिले देश विदेशमा छन् । आफै चालक छन् । पाईलट छन् । मुलुक हाँक्ने स्थानमा पनि पुगेका छन् । तर केहि महिलाहरु पुगेका आधारमा समग्र महिलाहरुको अवस्था सुध्रियो भनेर सोच्न थालियो भने असहज हुन्छ । नेताहरु भाषण गर्दा महिलामैत्री बनेरै गर्छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले केहिदिन अघि काभ्रेको पाँचखालमा भाषण गरेको सुन्दा मन त खुशी भयो तर अधिकारका लागि लडिरहनु परेका विवशता सम्झेर आँशु पनि आयो ।  छिट्टै मुलुकमा महिला प्रधानमन्त्री भएको हेर्न मन छ भन्ने प्रचण्डको भाषण तत्कालिन अवस्थामा गिरिजाप्रसाद कोईरालाले पनि भन्दै आउनु भयो । छोरी सुजातालाई प्रधानमन्त्री बनाउने बेला गिरिजाप्रसाद कोईराला पनि त्यहि भन्नु हुन्थ्यो । सकेजति पद दिलाए पनि प्रधानमन्त्री पदमा उहाँले पनि सुजातालाई पु¥याउन सक्नु भएन । अहिलेको गठबन्धन दलहरुको सम्भावना पनि होला । आरजु राणा प्रधानमन्त्री बन्ने संकेत प्रचण्डले केहि पाउनु भयो कि ? नत्र जुन स्थानमा पुग्यो त्यहि स्थानमा त्यहि समुदायका ब्यक्तिहरुलाई पद वितरण गर्ने, मन लागेको थियो भनेर भावनात्मक ब्लाकमेलिङ्ग गर्ने नेताहरुको बानीले मुलुक पछि परेको छ । 
    हुन त अहिले स्थानीय तहमा ४० प्रतिशत । संघीय संसद्मा ३३ प्रतिशत महिलाहरुको अनिवार्य सहभागीता छ । स्थानीय तहमा निर्वाचित महिलाहरुले मासिक भत्ता लिनु बाहेक अरु केहि गर्ने अधिकार र सामथ्र्य राख्छन होला ? त्यहाँ नेतृत्व गर्ने माथिल्ला तहका पुरुषहरुले काम गर्न दिन्छन् ? अझ अहिले त  गठबन्धनका नाममा प्रमुख वा उपप्रमुख पदमा महिला र पुरुष फरक–फरक हुनुपर्नेमा सबै पुरुष नै पुरुष छन् । मनमा भएका सबै कुरा कसरी पुरुषहरुलाई भन्न सकिन्छ ? महिलाहरुका अनेक समस्या छन् । अनेक चाहना छन् । त्यसको ब्यवस्थापनका लागि जति महिलालाई सहज रुपमा भन्न सकिन्छ त्यति पुरुषहरुलाई सकिन्न । यहि कारण पनि हरेक क्षेत्रमा महिला हिंसाका घटना भएका छन् । विदेशमा त्यस्तो छैन । महिलाहरुलाई गरिने ब्यवहार र सम्मान अलग्गै छ । नेपालमा पनि कानून नभएको होईन । कार्यान्वयन छैन । सक्ने र पहुँच हुनेहरुले जे गर्दा पनि हुन्छ भन्ने सोच छ । त्यहि कारण हामी पीडामा छौं । म पीडामा छु । मेरो पीडा कसले सुन्ने । सक्नेले जे गरे पनि हुन्छ ? खबरदार कुनै दिन हाम्रा आवाजहरु पनि मुखरित हुन पाए भने त्यो दिन तिमीहरुको पनि बाजा बज्नेछ । मैले मोरातीको यो स्तम्भ मार्फत खबरदारी गरेको छु । 
    मेरो जन्मथलो काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका वडा नं ८ काम्पानी हो । मेरो विवाह सिन्धुपाल्चोक जिल्ला साविक सांँगाचोक गाविस ३ हाल परिवर्तित चौतारा सांँगाचोकगढी नगरपालिका वडा नम्वर १२ बस्ने खड्ग बहादुर गिरीको नाती, चित्र बहादुर गिरीको छोरा सुशील गिरी (नाप्र नं २४१०५४÷४६७९) सँग मिति २०६७ फागुन २८ गते सामाजिक परम्परा अनुसार माईती घरबाट भएको हो । विवाह भए पश्चात कर्मघरमा गई पारिवारिक मर्यादा र अनुशासनमा रहि आफुले सक्ने सबै जिम्मेवारीहरु सुखदुःखका साथ पुरा गर्दै आएँ । म बाट २ जना छोराहरुको जन्म भयो । मेरो बुबा आमाले किसानी साथै मजदुरी गरेर हामी चार सन्तानलाई हुर्काउने, बढाउने र पढाउने गरेकोले मलाई विवाहमा ठुलै दाईजो दिन सक्ने हैसियत थिएन । अहिले त छ त्यतिबेला पनि दाईजो दिनु पर्ने चलन थियो । १२ वर्षमा खोलो फर्कन्छ भने जस्तै हरेक ब्यक्तिका जीवनमा केहि न केहि परिवर्तन वा फरक खालको अनुभूति हुँदो रहेछ । ऋणधन जे गरेर भए पनि बुबाआमाले आफ्नो इज्जत धान्ने गरी मलाई दाईजो सहित विदाई गर्नु भएको थियो । त्यो कुरा मेरो घरमा चित्त बुझ्न सकेको रहेनछ । बुहारी ठिक छ कि छैन ? बुहारीले गर्ने कर्म, धर्म ठिक छ कि छैन ? बुहारीलाई कसरी आफ्नो कुलको मर्यादा सिकाउने ? कसरी परिवार सुखी र समृद्धि बनाउने ? त्यसमा बुहारीको भूमिका के हुन्छ ? भन्ने सोच परिवारमा हुँदो रहेनछ । 
    घरमा गएको केहि दिन देखि नै मलाई दाईजोको निहुँमा मानसिक दबाब हुन थाल्यो । सासु ससुराले समय–समयमा दाईजोको कुरा उठाउँंदै हेँला गर्ने र श्रीमान्ले त्यसमा साथ दिदै गाली मात्रै होईन कुटपीट गर्ने क्रम चलिरहेको थियो । घर छाडेर हिँडौ माईतीमा बुबा आमालाई बुढेसकालमा छोरीको घर बिग्रियो भन्ने कुराको तनाव हुन् । नछाडौ सधैं श्रीमान्को कुटाई र सासु ससुराको मानसिक दबाब सहनु पर्ने । तर पनि महिलाहरुले सहनुको विकल्प रहेनछ । एकपछि अर्काे सन्तान जन्मिए पछि ति सबै तनाव गौण लाग्दा रहेछन् । लाग्दो रहेछ छ चाँहि के भने जिम्मेवारी, दायित्व र भविष्य । अझ घर परिवार, माईती र आफन्तको ईज्जत । ईज्जत जोगाउने र बच्चाहरु हुर्काउने । श्रीमानले कुटे कुटाई खाने । माया गरे जस्तो गरे चुप बस्नु पर्ने । उनिहरुको कठपुतली जस्तो बनिने रहेछ । एक खालको कारागार पनि रहेछ । हामी जस्तो शिक्षित भएका महिलाहरुले त त्यस्तो भोग्नु पर्ने रहेछ । सामान्य लेखपढ गरेका अझ लेखपढ नै नगरेका महिलाहरुले कस्तो समस्या झेल्नु पर्छ होला ? 
    त्यहि क्रममा विवाहको ५ वर्ष पछि २०७३ भदौ १४ गते मेरा श्रीमान् सुशील गिरी बैदेशिक रोजगारीमा गए । यता मैले २ छोरा, ससुरा र सासुको हेरचाह गरेर केही बर्ष गाउँंमै बसे । श्रीमान्ले पैसा कमाएर पठाए पछि धुलिखेल नगरपालिका वडा नम्बर ४ काठमाडौ विश्वविद्यालय नजिक घडेरी किनेर घर बनाउने काम भयो । त्यसपछि गाउँ छाडेर उक्त स्थानमा हामी बसाई स¥यौं । कागजी रुपमा त्यसो नगरे पनि ब्यवहारिक रुपमा हामी सिन्धुपाल्चोक छाडेर धुलिखेल बस्न थाल्यौं । यता सासु ससुराबाट म माथि ज्यादै नै घरेलु हिंसाले सीमा नाघ्न थाल्यो । उता विदेशमा रहेका श्रीमानले मसंँग फोन तथा मेसेञ्जरमा कुराकानी बन्द गरे । साथै फेसबुकमा समेत मलाई ब्लक गरेर बसे । कहाँ बस्छन् मलाई थाहा हुन सकेन । सासु ससुराले खान बस्न दिनु भएन त्यसपछि पटक–पटक प्रहरी चौकी र काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएँं । उनिहरु धेरैजसो उपस्थित भएनन् एकपटक उपस्थित भएका तर जिल्ला प्रहरीले सम्बन्धित मानिस नभएकोले बुढा बुढिलाई हामीले केही गर्न मिल्दैन भनेर फर्कायो । मलाई कहींबाट न्याय मिल्ने छांँटकाँंट नदेखेपछि २ छोराहरुलाई त्यहीं छाडेर म मेरो माईतिमा गएर बस्न थालें । त्यो क्रम लामो भयो । करिब दुई बर्षसम्म म माईतीमा नै बसें । माईतिमा बसेर पनि काम गरिखाने ठाउँ नभेटे पछि म बिदेशिन बाध्य भएँ । २०८० भाद्र २६ गते म साईप्रसको पारालिमनी भन्ने स्थानमा आईपुगें । यहाँ एक बृद्ध आमाको स्याहार सुसार गर्ने काममा छु । म बिदेश नहिडुञ्जेलसम्म उनिहरुले कुनै खोजखबर गरेनन् । मलाई घरमा बस्न दिने कुरा त परै जाओस् कहाँ छस् भनेर समेत सोध्न चाहेनन् । मैले अंश मुद्दा हाँलु भने श्रीमान्को अत्तोपत्तो थिएन । अहिले मलाई सम्बन्ध बिच्छेदको लागि चौतारा सांँगाचोकगढी ४ बस्ने सन्तोष भण्डारीलाई वारेसनामा दिई सिन्धुपाल्चोक जिल्ला अदालतमा फिरादपत्र दर्ता गरि मेरो नाममा अदालत हाजिर हुने गरी पत्र जारी भएको रहेछ । मेरो श्रीमान् सुशील गिरी मैले थाहा नपाउने गरी विचमा स्वदेशमा आएर अरुसँंगै दोस्रो बिवाह गरिसकेको भन्ने आफन्तहरुबाट बुझिन आए पछि मैले पनि म बिदेश हिंड्नु भन्दा पहिला २०८० भाद्र १७ गते चौतारा सांँगाचोकगढी नपा वडा नं १२ को कार्यालयमा निवेदन दर्ता गरेको छु । 
    अब म तुरुन्तै स्वदेश फर्कन सक्ने अवस्था पनि छैन । राजदुतावास मार्फत मेरो वारेसनामा कसैलाई दिउँ ंभने पनि साईप्रस हेर्ने दुताबास ईजरायलमा भएकोले म त्यहाँसम्म जान सक्ने अवस्थामा छैन । म माथि यस प्रकारको फट्याइँ, जालसाँंजी र हिंसाबिरुद्धको आवाजमा साथ दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु । विदेशी भूमिबाट मैले न्याय माग गरिरहेको छु । अधिकार माग गरिरहेको छु । सिन्धुपाल्चोक जिल्ला अदालतलाई एकतर्फी फैसला नगर्न अनुरोध गर्दछु । जसजसले मेरो यो पीडा सुनेको छ । पढेको छ उनिहरुलाई पनि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । अझै पनि हामी महिलाहरु दाईजोकै कारण पीडामा बस्नु पर्ने, श्रीमान्ले छानी छानी श्रीमतीहरु फेर्न पाउने, हामीले न्याय माग्दा श्रीमान् नै अगाडी उभिनु पर्ने परिस्थितिबाट कसरी र कहिले मुक्ति मिल्छ होला ? 

मिरा पुरी (गिरी)

हालः साईप्रस पारालिमनी