2026 September 01/ 12:11: 52pm

    खानीखोला/एकपछि अर्काे काण्डमा मुछिएका युवाहरु पछिल्लो समय महङ्गा गाडी चोरी गरी विक्री गर्ने, नक्कली कागजात तयार गर्ने देखि नोट नै नक्कली बनाएर कारोवार गर्ने अभियानमा जोडिएका छन् । काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि र पार्टीका नेताहरु नक्कली नोटमा जोडिएका छन् भने तेमाल गाउँपालिका ८ घर भएका एक युवा महङ्गा गाडी चोरी गरी नक्कली कागजात तयार गरी विक्री अभियानमा पक्राउ परेका छन् । यसअघि काभ्रेको महाभारत गाउँपालिका युवा सुन तस्करीमा पक्राउ परेका थिए भने केहि युवा अनलाईन मार्फत यौन ब्यवसायमा संलग्न भएको अभियोगमा पक्राउ परेका थिए ।
    नक्कली नोटको कारोबारमा संलग्न भएका युवाहरुको सूचना चुहिँदा पिसाब चुहिन थालेको छ । सूचना किन चुहाएको ? भन्दै वडा अध्यक्षलाई समेत धम्की दिन थालेका छन् । तर प्रहरीले भने अनुसन्धानलाई सुस्त बनाएको छ । नेताहरु संलग्नलाई बचाउन सक्रिय भएका छन् । उनिहरुलाई बचाउन प्रहरीलाई अनुसन्धान हुनै नदिने गरी लागेको श्रोतले बतायो । नक्कली नोटको कारोवार गर्ने मध्येका पूर्व वडा अध्यक्ष समेत रहेका खानीखोला ७ का क्षेत्रमान घ्यावा, उनको सालो सोहि वडाका सन्तलाल सिंतान, वडा सदस्य सुरेश पुलामी र वडा नम्वर ४ का मिलन जिम्बाको पहिचान भएको स्थानीयहरुले बताएका छन् । पहिचान खुलेसँगै राजनीतिक रुपमा संरक्षण गर्न तथा गाउँका कुरा गाउँमै बसेर मिलाउन वडा अध्यक्ष रामबहादुर मोक्तान सहितलाई हारगुहार गरेका छन् । स्थानीय जात्रामा नक्कली नोटको कारोवार गर्ने गिरोहका सदस्यहरु मध्ये केहिको पहिचान भएसँगै स्थानीयहरुले कारवाहीको माग गरे पछि वडा अध्यक्षलाई धम्की दिएका थिए । धम्की दिनेमा खानीखोला गाउँपापालिका ७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य सुरेश पुलामी छन् । मकवानपुरसँग जोडिएको खानीखोला नक्कली नोट तथा अबैद्य कारोवारको ट्रान्जिट बन्न लागेको स्थानीयहरुले बताएका छन् । प्रहरीको सक्रियता नहुँदा तस्करी र नक्कली नोटको कारोवार एक वर्ष देखि फस्टाउँदै गएको छ ।
    खानीखोला गाउँपालिका वडा नम्बर ७ मा २०८० मंसिर २४ गते भएको धार्मिक तथा साँस्कृतिक कार्यक्रम तथा स्थानीय परम्परा अनुसार लाग्ने पशुपति जात्रा मेलामा संचालन भएका चिया पसल, किराना पसल, तथा खुद्रा व्यापार व्यवसाय गरी स्थानीय उत्पादनबाट जीविका चलाउने आशा बोकेर स्थानीय किसानहरूले गरेको कारोबारमा नक्कली नोटको कारोवार भएको थियो । जात्रामा फेला परेका नक्कली नोटहरु वडा सदस्य समेत रहेका खानीखोला गाउँपालिकाका न्यायिक समिति सदस्य सुरेश पुलामीले संकलन गरेका थिए । संकलित नोटहरु नेपाली काँग्रेसका वडा समिति सभापति समेत रहेका पूर्व वडा अध्यक्ष क्षेत्रमान घ्यावालाई बुझाएका थिए । घ्यावाले गाउँपालिका अध्यक्ष इन्द्र थिङलाई बुझाउँछु भन्दै बनेपा आएको स्थानीयहरुले बताएका छन् । राति १० बजेतिर नक्कली नोटको कारोवार गरिरहेका वडा नम्वर ४ का मिलन जिम्बालाई स्थानीय जात्रा ब्यवस्थापन समितिका सदस्यहरुले नियन्त्रणमा लिएका थिए । वडा सदस्य समेत रहेका सुरेश पुलामी सांस्कृतिक कार्यक्रममा आसन र भाषण समेत गर्न नगई जात्रामा लंगुरबुर्जा खेलाएर बसेका थिए । त्यहि लंगुरबुर्जामा समेत नक्कली नोटको कारोवार भएको थियो । उनी यसअघि तासको खालमा बसेको तस्विर सार्वजनिक भएको थियो । अझै सुरेश पुलामीको घरमा भएको हतियार विना इजाजतको हो । उनले सोहि हतियार बोकेर खिचेको तस्बिर सार्वजनिक भएको छ । उनै पुलामीले मिलन जिम्बालाई लिएर क्षेत्रमानलाई बुझाएका थिए । सोहि राति मिलनले एक हजारको नक्कली नोट तत्काली फिर्ता लिएका थिए । यसअघि आयोजित हरिबोधनी एकादशीमा लागेको मिल्चेको जात्रामा पनि नक्कली नोटको कारोवार भएको बताईएको छ । मंसिर ७ गते उक्त जात्रा लागेको थियो । त्यहाँ पनि केहि थान हजारका नोट फेला परे पछि च्यातेर फालेका थिए । स्थानीय तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका समयमा पनि यस्ता नोटहरुको कारोवार भएको स्थानीयले बताए । मंसिर २४ गते राति विक्री गरिएका केहि नोट धेरै पुराना छन् । 
    ‘वडा सदस्य समेत रहेका सुरेश पुलामीले नक्कली नोटको दोब्बर रकम फिर्ता गरे’–स्थानीय ब्यवसायीले भने– ‘मंगलबार विहान मसिंर २६ गते वडा सदस्य सुरेश पुलामी, क्षेत्रमान घ्यावा, सन्तलाल सिंतान लगायतले नक्कली हजारका नोटको प्रतिहजार दुई हजारका दर फिर्ता गर्दै उक्त नोट फिर्ता लिएर गए । सुरेश नपुगेका स्थानमा क्षेत्रमान्ले आफन्त समेत पठाएर रकम फिर्ता लिएका छन् ।’ उनिहरुको संलग्नता थिएन भने नक्कली नोट फिर्ता लिँदै किन दोब्बर पैसा तिरे ? स्थानीयले प्रश्न गरेका छन् । 
तस्वीरः नक्कली नोट कारोवारमा संलग्न भनिएकाहरु पुर्व वडा अध्यक्ष क्षेत्रमान घ्यावा, वडा सदस्य एवं न्यायपालिका सदस्य सुरेश पुलामी र अर्का युवा सन्तलाल सिंतान । अर्का मिलन जिम्बा पनि संलग्न छन् ।