2026 September 01/ 11:11: 57am

विद्यार्थीमुखी शिक्षाका लागि शिक्षकलाई लगानी’
    बनेपा/काभ्रे शिक्षा विकास प्रतिष्ठानद्वारा संचालित काभ्रे माध्यमिक विद्यालय बनेपाले ३१ औ बार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण गरेको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिक्षाविद् जगन्नाथ अवाको अध्यक्षता रहेको थियो । 
    ‘उपत्यकाको नजिक अर्थात उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला शैक्षिक हवका रुपमा विकास हुँदै गएको छ । काभ्रे माध्यमिक विद्यालयको विकास हुँदा समग्र शिक्षा क्षेत्रको विकास हुन्छ’–उपकुलपति थापाले भने–‘काठमाडौ विश्वविद्यालयको शैक्षिक गुणस्तर कायममा काभ्रे माध्यमिक विद्यालयको महत्वपूर्ण योगदान रहेको छ ।’ पछिल्लो समय विद्यार्थीहरुको उच्च शिक्षा मोह अन्य मुलुकमा हुन थालेको भन्दै काठमाडौ विश्वविद्यालयले नेपालमा नै स्वरोजगार, अनुसन्धानमुलक शिक्षाका लागि नयाँ योजना शुरु गरेको उपकुलपति थापाले बताए । ‘स्वदेशमा अर्थात आफ्नै मुलुकमा केहि गर्ने सिपयुक्त, अनुसन्धानयुक्त र स्वरोजगारमुलक शिक्षाका लागि जोड दिएका छा्रैं’–उपकुलपति थापाले भने–‘मुलुकको विकासका लागि शैक्षिक संस्थाहरुको दिगोपना र गुणस्तर महत्वपूर्ण विषय हो । काभ्रे माध्यमिक विद्यालय जस्ता शैक्षिक संस्था त्यसका धरोहर हुन् ।’ 
    काभ्रेमाध्यमिक विद्यालयले स्थापना देखि हालसम्म एसएलसी र एसईईमा १ हजार ८ सय ७८ जना विद्यार्थी उर्तिण गराएको प्रिन्सिपल कुमार मानन्धरले बताए । कक्षा १२ को विज्ञान र ब्यवस्थापन संकायमा ७ सय ५३ जना विद्यार्थी उर्तिण भएका छन् । २०५२ सालबाट एसएलसीमा सहभागि हुँदै आएको विद्यालयमा हाल १ हजार २ सय ६० जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारी ८४ जना कार्यरत छन् । शैक्षिक गुठी अन्र्तगत संचालित विद्यालयले हरेक वर्ष बार्षिक बजेट तथा कार्यक्रमको पारदर्शिता र सामाजिक लेखापरिक्षण समेत गर्दै आएको छ । शैक्षिक सत्र २०७९ बैशाख देखि २०७९ चैत्रसम्म ३ करोड ९८ लाख ७३ हजार रुपैया आम्दानी गरेको विद्यालयले ३ करोड ६६ लाख ६७ हजार खर्च गरी ३२ लाख बचत गरेको छ । चालु शैक्षिक सत्र २०८० का लागि ४ करोड ६ लाख २० हजार आम्दानी गरी १६ लाख बचत गर्ने लक्ष्य लिएको छ । विद्यालयको भवन, जग्गा तथा अन्य सम्पति गरी १४ करोडको सम्पति रहेको विद्यालयको मौज्दात २ करोड र ६० लाख ऋण रहेको प्रिन्सिपल मानन्धरले बताए । 
    विद्यार्थीहरुका लागि २ हजार रुपैयाको स्वास्थ्य विमा, निशुल्क आँखा परिक्षण, आत्मरक्षा तालिम, मार्सल आर्ट तथा अन्य अतिरिक्त कृयाकलाप, खेलुकद सप्ताह लगायतका कार्यक्रम संचालन गरिरहेको विद्यालयले नेपाली र अंग्रेजी विषयको पठन सुधारका लागि अभिभावक बालबालिका कार्यक्रम समेत संचालन गरिरहेको छ । अभिभावक शिक्षा तथा ५ वर्ष नियमित काम गर्ने शिक्षक कर्मचारीहरुका लागि उपदान र स्थायीहरुको हकमा संचयकोषको सुविधा उपलब्ध गराएको छ । माध्यमिक तहमा कार्यरत शिक्षकहरुका लागि सामुदायिक विद्यालयमा सरकारले तोकेको मापदण्डको सेवा उपलब्ध गराएको विद्यालयले अन्य तहमा पनि त्यहि अनुसारको सुविधाका लागि प्रयासरत रहेको छ । डिजिटल कक्षा, अभिभावक शिक्षा कार्यक्रम, सामाजिक संजालको दबदबामा इन्टरनेटको प्रयोगबाट डिजिटल शिक्षा उपलब्ध गराएको मानन्धरले बताए । मानवजाति परिवर्तनसँग डराउने भए पनि आवश्यकताले त्यसबाट भाग्न नमिल्ने बताउँदै प्रिन्सिपल मानन्धरले सामाजिक सञ्जालको सदुपयोगमा धेरै जोड दिनु पर्ने बताए । 
    कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल विकास श्रेष्ठ, संचालक शान्तिराज कायश्थ, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु, जनप्रतिनिधिहरु तथा विद्यालयका शुभचिन्तकहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न विद्याको पुरस्कार उपलब्ध गराईएको थियो ।