2026 September 01/ 11:11: 20am

अध्यक्ष खड्काले यसरी गरे ‘स्वाहा’

– अबैद्य सुन, जग्गा र शेयर लगायतका क्षेत्रमा लगानी गरेको रकम उठेन

३७ करोड १८ लाख ३३ हजार ८ सय १४ रुपैया निक्षेप दायित्व रहेको गरुड सहकारीका अध्यक्ष बासुदेव खड्काले एकले निर्णय गरी संस्थाको रकम हिनामिना गरेका हुन् । कानूनले संचालक र कर्मचारी समेतलाई दोषि देखाएको छ ।
मोतीराम तिमल्सिना
बनेपा

    बनेपा १० जनागालमा रहेको गरुड सहकारीका निक्षेपकर्ताहरुको बचत रकम फिर्ता गर्ने कार्य अनिश्चित बनेको छ । संचालक समितिका अध्यक्ष लगायतलाई तत्काल देखिएको प्रमाणका आधारमा दोषि ठहर गरी जेल चलान गर्ने आदेशसँगै बचतकर्ताहरुमा उत्साह र निराशा दुबै छाएको छ । 
    ‘प्रहरीले गरुड सहकारीबाट भएको अनियमितताका बारेमा अनुसन्धान गरिरहेको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी राजकुमार श्रेष्ठले भने–‘पीडितहरुले आफुले प्राप्त गर्नुपर्ने रकम प्रमाण सहित प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गरेका छौं ।’ बचतकर्ताहरुले संचालक नभेट्ने तथा कार्यालय पनि नभएको अवस्थामा आफ्नो बचत रकम फिर्ता पाउने प्रकृयाका बारेमा राखेको जिज्ञासामा जवाफ दिदै डिएस्पी श्रेष्ठले भने–‘संचालक समितिका अध्यक्ष सहितलाई पक्राउ गरिएकाले बचतकर्ताहरुको लिन पर्ने रकमको प्रमाण सहित जिल्ला प्रहरी कार्यालय काभ्रेमा निवेदन दिन अनुरोध गरेका हौं । बचतकर्ताहरुको रकमका सन्दर्भमा संचालकहरुको चल–अचल सम्पति तथा अन्य माध्यमबाट रकम फिर्ताका लागि पहल हुनेछ ।’ 
    मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रका आधारमा धुलिखेल नगरपालिका वडा नम्वर ४ घर भएका श्यामकृष्ण सुवाल सहितका ८१ जना बचतकर्ताहरुले १२ करोड ५६ लाख १५ हजार ७ सय १२ रुपैया फिर्ता नदिएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले गरुड सहकारीका अध्यक्ष बासुदेव खड्का सहित १३ जनालाई सहकारी ठगीमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रहरीको मागदावी अनुसार पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि जेल राखेर अनुसन्धान गर्न र फरार भएकाहरुलाई तत्काल पक्राउ गरी अदालत उपस्थित गराउन आदेश गरेको थियो । प्रहरीले सहकारीको कम्प्युटर हार्डडिक्स दुई थान, चेकथान ३, रजिस्टर ४ थान, २०७०÷०७१ सालको लेखा परिक्षण प्रतिवेदन, २०७८÷२०७९ सालको लेखा परिक्षण प्रतिवेदन, २०७८ सालको निर्वाचन निर्णय पुस्तिका, विना धितो लगानी गरिएको रेकर्ड फाईल थान ४० र धितो बापत लगानी गरिएको रेकर्ड फाईल ७ थान २०८० असोज ५ गते बरामदी गरेको थियो । साथै बा २० च १०५९ नम्वरको सेतो रङको सुजुकी कार बरामद गरेको छ । 

यस्तो छ अध्यक्ष बासुदेव खड्काको बयान 
    बनेपा नगरपालिका १० स्थित पुलबजारमा गरुड बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०७४ मसिंर १६ गते निर्वाचन पदमा अध्यक्ष भई कार्य संचालन गरिरहेको थिएँ । २०७७ माघ ८ गते बनेपा १० मा रहेको छायाँश्वरी बचत तथा ऋण सहकारी संस्थासँग एकिकरण गरी २०७८ मसिंर १३ गते पुनः अध्यक्ष भई कार्य शुरु गरें । डेड वर्ष अघि देखि आफैले तलव खान नमिल्ने भएकाले श्रीमती प्रतिमा आचार्यको नाममा मासिक १ लाख रुपैया तलब लिने गरेको थिएँ । २०८० बैशाख ७ गतेसम्म उक्त सहकारीमा ३७ करोड १८ लाख ३३ हजार ८ सय १४ रुपैया निक्षेप दायित्व छ । ४७ करोड २६ लाख ६९ हजार ८ सय ९२ ऋण लगानी छ । ऋण उठाउन नसकेका कारण जाहेरवालाहरुले मागेको बचत फिर्ता दिन सकिन । मैले आफ्नै नाममा ६ करोड ४९ लाख ८५ हजार रुपैया ऋण लिएको छु । सोहि रकमबाट बनेपा १० मा श्रीमती प्रतिमा आचार्यका नाममा ३ रोपनी १ आना ३ पैसा २ दाम जग्गा खरिद गरेको थिएँ भने बनेपा १३ मा आफ्नै नाममा ६ रोपनी जग्गा, प्रतिवादी राजिव विष्टको दाई रविन विष्टका नाममा बनेपा १४ मा १ रोपनी १३ आना जग्गा, भक्तपुर सुर्यविनायक १० मा रविन विष्टकै नाममा रोज रिसोर्ट एण्ड लज संचालन गरिएको थियो । 
    आर्थिक संकट बढ्दै गए पछि श्रीमतीका नाममा रहेको बनेपाको ३ रोपनी १ आना जग्गा २ करोडमा धितो राखी पास गरिदिएको छु । धुलिखेलका भाग्यलक्ष्मी घिनाङ्गजु र इन्द्रशोभा घिनाङ्गजुको नाममा पास गरिदिएको जग्गाबाट ६० लाख लिएको छु । उनिहरुले धितो बराबरको रकम दिन नसके पछि युएम बचत सहकारीका ब्यवस्थापक रुसन श्रेष्ठ र नविन पाण्डेको माध्यमबाट बनेपामा बस्ने नजरमान कपालीको कम्पनीको नाममा धितो बन्धक गरी ३ करोड दिने शर्तमा उक्त जग्गा नजरमान कपालीको नममा पास गरिएको थियो । ३ करोड मध्ये कपालीले २ करोड ४४ लाख घिनाङ्गजुहरुलाई फिर्ता गरी बाँकी रकम बचतकर्ताहरुको फिर्ता गरिसकिएको छ । बनेपा १३ मा रहेको ६ रोपनी जग्गा काभ्रेपलाञ्चोक जिल्ला बचत संघमा धितो राखेर ३० लाख ऋण लिएको छु । रोज रिर्सोट राजिव विष्टको दाई रविन विष्टले संचालन गरेको भए पनि हाल लक्ष्मण सापकोटा भन्ने ब्यक्तिलाई भाडामा लिई संचालन भईरहेको छ । सुनमा गरिएको लगानी पनि फस्यो । पसल पनि बन्द गरें । सुनका लागि लगानी गरिएको रकम नउठ्दा विस्तारै म कमजोर बन्दै गएँ । श्रीमतीसँग पनि सम्बन्ध विच्छेद गरें । बचतकर्ताहरुलाई रकम फिर्ता दिने बेला सबै सम्पत्ति विक्री हुन्छ भन्ने डरले श्रीमतीसँग सम्वन्ध विच्छेद गरेर सम्पति दिएको थिएँ । तर हामी सँगै बस्थ्यौं । म हिरासतमा रहँदा पनि उनले नै खाना ल्याउने गरेकी थिईन् । प्रहरीले म चढ्ने गरेको कार पनि बरामद गरेको छ । 
    २०७९ फागुन ३० गते भक्तपुर जिल्ला अदालतबाट बासुदेव खड्काले श्रीमती प्रतिमा आचार्यसँग बचतकर्ताको रकम फिर्ता दिनुको सट्टा ८ करोड ६२ लाख ६७ हजार ४ सय ६७ रुपैया दिई सम्बन्ध विच्छेद गरेको थिएँ । 

अबैद्य सुनमा लगानी
    अध्यक्ष बासुदेव खड्काले एकल निर्देशन र निर्णयमा संचालक समिति समेतलाई जानकारी नदिई निर्णय समेत नगरी कर्मचारीहरुलाई कागजात तयार गर्न लगाएर श्रीमती प्रतिमा आचार्यको नाममा २०७३ बैशाख १२ गते घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकमा ब्रम्हा सुनचाँदी पसल दर्ता गरे । आर्थिक वर्ष २०७२÷२०७३ दर्ता नम्वर ३०३९ मा दर्ता भएको उक्त पसल आन्तरिक राजश्व कार्यालयमा समेत दर्ता भई ६०४११०३४७ नम्वरको प्यान समेत लिई कारोवार शुरु गरेको थियो । सुन पसल संचालन गर्ने नियत नै खड्काको खराब थियो । अबैद्य तथा चोरीका सुन र गहना किन्ने विक्री गर्ने प्रयोजनार्थ दर्ता भएको पसल सूनचाँदी ब्यवसायी संघमा आवद्ध भएको छैन । सहकारीको रकमबाट आफै सुन खरिद गर्न रसुवा जिल्ला भोर्ले गाविस ५ का सुरेश विश्वकर्मालाई २०७३ चैत्र १३ गते २८ लाख ५० हजार, दोलखा पवटी गाविस ३ का माकुरे विश्वकर्मालाई २०७३ असार ३० गते ५० लाख, दोलखाकै जुँगु गासिव २ का प्रेमबहादुर बराईलीलाई २०७३ भदौ २६ गते १० लाख, दोलखा जिल्ला लामिडाँडा ८ का मानकाजी लामगादेलाई २०७३ जेठ ४ गते १५ लाख, पाँचथर जिल्ला रानिगाँउ गाविस ९ का नारायणप्रसाद विश्वकर्मालाई २०७३ जेठ २६ गते १५ लाख, ललितपुर लेले ४ का कुमार सुनारलाई २०७३ साउन ३२ गते १ लाख, दोलखा लामिडाँडा गाविस ८ का राजकुमार लाम्गादेलाई २०७३ असार १४ गते २६ लाख, काभ्रे ज्याम्दी गाविस ७ का राजकुमार तामाङलाई २०७३ बैशाख २९ गते १५ लाख, सिराहा विष्णुपुर गाविस ३ का रविन्द्रप्रसाद लामालाई २०७६ असार २६ मा १२ लाख २५ हजार, दोलखा जिल्ला भिमेश्वर नपा १ का राजु रिजाललाई १० लाख, भारत देशका सुजित रानालाई पहिलो पटक २०७३ असोज २१ गते ११ लाख ५० हजार र २०७४ चैत्र २ गते १५ लाख ५० हजार लगानी गरेका थिए । १ करोड ९४ लाख ७५ हजार रुपैया अवैद्य सूनमा लगानी गरेका थिए । 
    

१३ जना विरुद्ध मुद्दा
अध्यक्ष बासुदेव खड्का, ४० वर्ष, भक्तपुर जिल्ला सुर्यविनायक ४ (पुर्पक्षका लागि कारागार)
कार्यकारी अधिकृत, प्रतिमा आचार्य, ३५ वर्ष, भक्तपुर जिल्ला सुर्यविनायक ४ (पुर्पक्षका लागि कारागार)
उपाध्यक्ष बेदप्रसाद सिग्देल, ५० वर्ष, काभ्रे जिल्ला, धुलिखेल, ९ (फरार) 
सचिव सलिना थापा, ३१ वर्ष, भक्तपुर जिल्ला, सुर्यविनायक, १० (फरार) 
कोषाध्यक्ष राजेश श्रेष्ठ, ५१ वर्ष, काभ्रे जिल्ला, बनेपा, ८ (फरार) 
सदस्य दिपाकुमारी आचार्य, ५६ वर्ष, काभ्रे जिल्ला, बनेपा १०, (फरार) 
सदस्य विदुर थापा, ५१ वर्ष, काभ्रे जिल्ला, बनेपा, १० (फरार)
लेखा अधिकृत अनु भण्डारी, ३० वर्ष, काभ्रे जिल्ला, पनौती ९ (फरार) 
कर्जा सहायक समुन सिग्देल, २८ वर्ष, काभ्रे जिल्ला, धुलिखेल ९ (फरार) 
सेवा केन्द्र प्रमुख सरिता दाहाल, ३१ वर्ष, काभ्रे जिल्ला, बनेपा १४ (फरार) 
सदस्य बच्चुराम विष्ट, ५२ वर्ष, काभ्रे जिल्ला, बनेपा १० (पुर्पक्षका लागि कारागार) 
ब्यवस्थापक रामगोपाल थापा, ३० वर्ष, भक्तपुर जिल्ला, सुर्यविनायक, १० (पुर्पक्षका लागि कारागार)
ब्यवस्थापक राजिव विष्ट, ३३ वर्ष, काभ्रे जिल्ला, बनेपा १४ (पुर्पक्षका लागि कारागार)