2026 September 01/ 11:11: 19am

अध्यक्षमा श्याम थापा 
           बनेपा/आयाम बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा गत शनिवार मुख्य कार्यालय बनेपा लगायत पाँचखाल सेवा केन्द्र, पाँचखाल तथा नमोबुद्ध सेवा केन्द्र, भकुण्डेको कार्यालयहरुमा एकसाथ सम्पन्न भएको छ । 
               साधारण सभा सम्बन्धित कार्यालयहरुमा विहान ८ बजेदेखि साँझ ४ बजेसम्म संचालन भएको कार्यक्रममा मुख्य कार्यालय लगायत सेवा केन्द्रहरुमा उत्कृष्ठ कारोबार गर्ने सदस्यहरु मार्फत साधारण सभाको उद्घाटन कार्यक्रम गरिएको थियो । १ हजार ८ सय ३१ जना सदस्यहरुको उपस्थितिमा संचालक समितिमा रिक्त रहेको पदहरुमा समेत उपनिर्वाचन कार्यक्रम सम्पन्न भएको हो । संचालक समितिका निवर्तमान अध्यक्ष नवराज घोरसाइनेको राजिनामा पश्चात अध्यक्ष पद रिक्त रहेको, संस्थाका उपाध्यक्ष श्याम थापाले अध्यक्ष पदमा र संचालक समिति सदस्य रसिला थापाले उपाध्यक्ष पदमा आफ्नोे दावेदारी प्रस्तुुत गरेपछि अध्यक्ष, उपाध्यक्ष र संचालक समिति सदस्य पदको उप निर्वाचन गर्नुपरेको थियो । उप निर्वाचनमा कुनै दावि विरोध नपरेपछि अध्यक्षमा बनेपा निवासी श्याम थापा, उपाध्यक्षमा धुलिखेल निवासी रसिला थापा र संचालक समिति सदस्यमा पाँचखाल निवासी बद्री प्रसाद पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ ।  
            काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का ब्यवस्थापकले उप–निर्वाचन संयोजक भई उप निर्वाचन समापन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका ढकालले पछिल्लोे समय सहकारीहरुमा समस्या देखिनुको कारण सहकारी मर्म अनुसार संचालनमा नआउनु, सदस्यहरुले सहकारीलाई हेर्ने नजरमा परिवर्तन नहुनु, हल्लाको पछाडि लागेर सबै सहकारीहरुलाई समान ब्यवहार गर्नु प्रमुख कारणहरु रहेको बताउनु भएको थियो । सहकारी आफैमा समस्या नभएको जिकिर गर्दै ढकालले आफ्नो सहकारीको अवस्था के कस्तो रहेको छ भन्ने विषयमा सदस्य स्वयंम चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष नवराज घोरसाइनेले संस्थामा अध्यक्ष पदमा नरहेपनि सदैव संस्थाको हकहितमा लागिरहने बचतबद्धता ब्यक्त गर्नुभएको थियो । घोरसाइनेले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) मा कार्यक्रम अधिकृतको निम्मेवारी सम्हाले पश्चात आफुले आयाम साकोसको अध्यक्ष पदबाट राजिनामा दिएको सभा समक्ष जानकारी गराउनु भएको थियो ।
          त्यसैगरि कार्यक्रमको सभापतित्व गर्नुभएका सचिव डम्बर ब. लम्सालले सहकारी अभियान भित्र देखिएका विभिन्न खाले समस्याहरुको बाबजुत पनि आयाम साकोसले १४ औं वार्षिक साधारण सभा समक्ष संस्थाको गतिविधि निर्धक्क साथ प्रस्तुत गर्न पाउनु गर्वको विषय भएको भन्दैै आगामी दिनहरुमा पनि सदैव शेयर सदस्यहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो । हाल संस्थाको कुल शेयर पुँजी १ करोड ५३ लाख ४४ हजार, कुल बचत ९ करोड ७० लाख ४१ हजार कुल ऋण लगानी ११ करोड ७८ लाख ५४ हजार तथा कुल सम्पत्ती १६ करोड १९ लाख ३६ लाख रहेको संस्थाको वित्तिय अवस्थाबारे जानकारी प्रस्तुत गर्नुहुँदै संस्थाका कोषाध्यक्ष सुनिल चौलागाँईले आ.व. २०७९÷०८० मा संस्थाको राहत कार्यक्रम अन्र्तगत जन्म देखि मृत्युसम्म आयाम साकोसको साथ भन्ने मुल नाराका साथ ३७ जना सदस्यहरुलाई रु. २ लाख बयासी हजार १६५ राहत रकम वितरण गरिएको जानकारी गराउनु भयो । उहाँले हालसम्म युवा तथा साना ब्यवसायी स्वरोजगार कोषसँगको सहकार्यमा सहुलियत दरमा ९९ जना शेयर सदस्यहरुले ऋण सुविधा समेत उपभोग गरिरहेको जानकारी गराउनुभएको थियो । हाल आयाम साकोस ३४४५ जना शेयर सदस्यहरु रहेका छन् । त्यसैगरी चौलागाँईले संस्थालाई अझै निखार्न तथा सदस्यहरुको विश्वास कायम राख्नको लागि स्तरिकरण कार्यक्रम कोशिसमा समेत सहभागी भएको जानकारी गराउनु भएको थियोे । 
            कार्यक्रम निर्वाचन उप समितिमा सदस्य पदमा रहेर कार्यभार सम्हाल्नु भएका बागमती प्रोस्कूनका कर्मचारी लक्ष्मी पन्थ तिवारी, सदस्य श्याम हुमागाँई, पूर्व अध्यक्ष टिकाराम खड्गी, गरिमा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सुधिर बैद्य लगायतका अतिथिहरुकोे उपस्थितिमा सम्पन्न भएको थियो । साथै निर्वतमान अध्यक्ष नवराज घोरसाइनेलाई कार्यक्रमका सभापति डम्बर ब. लम्सालले मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत सविना पन्तले गर्नुभएको थियो ।