2026 September 02/ 12:05: 00pm

बेथान्चोक, काभ्रे
    राजधानीबाट ४५ किमी दक्षिणमा बेथान्चोक गाउँपालिकाको केन्द्र छ । त्यहाँबाट साँढे ६ किलोमिटरको कच्ची सडकमा सवारी साधनको यात्रा पछि तीन किलोमिटरको पैदलबाट पुग्न सकिन्छ बेथान्चोक नारायणस्थान । पनौती नगरपालिकाको छत्रेसँगै गाउँपालिकाको प्रवेशद्वार पाटीखर्कबाट कालोपत्रे सडक हुँदै गाउँपालिकासम्म पुग्न सकिन्छ । 
    ‘स्थानीय सरकारको उपलब्धी भनेकै वडा तहको विकासमा ध्यान दिन सहज भएको छ । गाउँपालिकाका सडक चिल्ला, नगरपालिकाका सडक धुलाम्मे’– प्रतिनिधी सभा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भनिन–‘बेथान्चोक गाउँपालिकाको समृद्धीका लागि बेथान्चोक नारायणस्थानको प्रचार प्रसारका साथै विकास निर्माणलाई प्राथमिकतामा राखौं । हाम्रो तर्फबाट गर्नुपर्ने पहलकदमीको जिम्मेवारी लिन तयार छु ।’ गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथान्चोकको विकास र समृद्धीका लागि पुर्वाधार निर्माण पहिलो प्राथमिकतामा राखेको जानकारी गराउँदै आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आर्कषक पर्यटकिय केन्द्र बनाउने गरी कार्य गरिरहेको बताए । ‘विकास निर्माणमा दल नभनौ, सहकार्य र समन्वयले मात्रै विकास सम्भव छ’–डा. शिवमाया तुम्बाहाम्फेले भनिन्–‘बेथान्चोक गाउँपालिकाका जनप्रतिनिधिहरुले देखाएको उदारता र सहकार्यमा गाउँबासीहरुको भविश्य जोडिएको छ ।’ प्रतिनिधि सभा पूर्व सदस्य डा.विन्दा पाण्डेले बेथान्चोक नारायणस्थानको अवलोकन बेथान्चोकबासीहरुका लागि मात्रै नभई जिल्लाबासीहरुका लागि समेत गर्व गर्न सकिने स्थान भएकाले यसको संरक्षण, प्रर्वद्धन, प्रचार प्रसार, सरसफाई तथा वातावरणलाई जोगाई राख्ने चुनौती रहेको बताईन् । ‘गाउँपालिकाले उक्त स्थानमा पुग्ने पर्यटकहरुबाट हुन सक्ने फोहोरको ब्यवस्थापन तथा वातावरणको संरक्षणलाई विशेष ध्यान दिन आवश्यक छ’–डा. विन्दा पाण्डेले भनिन–‘पुर्वाधार निर्माणसँगै फोहोर ब्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।’ 
‘कालोपत्रे सडकका’लाई धन्यवाद
    शनिबार प्रतिनिधी सभाका पुर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, नेकपा एमाले स्थायी कमिटी सदस्य, अर्थ तथा योजना विभाग प्रमुख, प्रतिनिधि सभा पुर्व सदस्य डा.विन्दा पाण्डे, अनेमसंघकी केन्द्रिय महासचिव पेम्बा लामा लगायतको १५ सदस्यीय टोली बेथान्चोक नारायणस्थान पुग्यो । जिल्ला समन्वय समिति काभ्रेका पुर्व प्रमुख उद्धव केसीले जिल्लाबाट टिमको सहजीकरण गरेका थिए । बेथान्चोक गाउँपालिकामा अध्यक्ष भगवान अधिकारी, गाउँपालिका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाा, पुर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, स्थानीय पार्टी कमिटीका नेताहरु चेतनाथ तिमल्सिना, सोमप्रसाद तिमल्सिना लगायतका स्थानीयहरुले स्वागत गरेका थिए । 
    गाउँपालिका अध्यक्ष भगवान अधिकारीले समग्र गाउँपालिकाको विकास निर्माणको बारेमा जानकारी गराउँदै आगामी योजना सुनाएका थिए । टिमका तर्फबाट तुम्बाहाम्फे र डा. पाण्डेले गाउँपालिकाको विकास निर्माणमा आवश्यक स्थानमा सहजिकरण र समन्वय गर्ने बताए । सोहि क्रममा तुम्बाहाम्फेले गाउँपालिका अध्यक्ष अधिकारी लगायतको टिमलाई कालोपत्रे सडकका लागि धन्यवाद दिदै बेथान्चोक नारायणस्थानको प्रचार प्रसारमा जोड दिन सुझाव दिए । ‘बेथान्चोक नारायणस्थानको विकासबाट मात्रै गाउँपालिकाको समृद्धी हुने भएकाले त्यसका लागि निरन्तर सक्रिय भईरहेका छौं’–गाउँपालिका अध्यक्ष अधिकारीले भने । 

बेथान्चोक नारायणस्थानसम्मको यात्रा
    १५ सदस्यीय टिम बेथान्चोक पुगेपछि २० सदस्यीय भयो । सानो हलुका सवारी साधनका लागि बेथान्चोक नारायणस्थानसम्मको सडक उपयुक्त छैन । गाउँपालिकाले सडक निर्माणका लागि संघ र प्रदेश सरकारसँगको समन्वयमा कार्य प्रारम्भ गरेको छ । निर्माण कार्य सम्पन्न नहुँदासम्म मर्मत, ग्राभेलिङ्ग तथा उकालोमा ढुंगा छाप्ने कार्य जारी छ । फोरह्विल भएका सवारी साधनका लागि सहज सडक मानिन्छ । वर्षातका कारण कतै कतै भेलले बगाएको छ । मर्मत भईरहेको छ । गाडीसम्मको यात्रा सकेर उकालो चढ्यो टोली । पुर्व सभामुख भएकाले आफ्नै पिएसोका साथै ढुंर्खक प्रहरी चौकीको थप टोली साथमै थियो । 
    सवारी साधनबाट ओर्लेर दुई घण्टाको उकालो हिडे पछि बेथान्चोक नारायणस्थान पुग्यो टोली । हिड्न सक्नेहरु ४५ मिनेटमा पुग्छन् । चारै तिरको दृश्यलाई कैद गर्न निर्माण गरिएका स्टेशनहरुमा फोटो खिच्नेहरुको लर्काे थियो । बाटोभरी आउने जाने आन्तरिक पर्यटकहरुको लस्कर थियो । वाटोभरी भेटिएका आन्तरिक पर्यटकहरुको अनुहारमा थकित तर उत्साह भरिएको थियो । वातावरण, हरियाली, दृश्यावलोकन तथा त्यहाँबाट देखिने मनमोहक दृश्यहरुले लोभलाग्दो थियो । हल्का चिसोसँगै खुशीले नाचगान गर्ने माहौल थियो । ह्वात्तै बग्ने कुहिरो     । तत्कालै लाग्ने घाम । टल्केका हिमाल । घामको रापिलो झुल्का भित्रका बस्तिहरु । साँच्चै लोभलाग्दो दृश्यावलोकनमा पर्यटकहरुको घुईचोँ थियो । पुर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले पाँच वर्षको लगातारको प्रयत्न पछि पर्यटकका लागि आर्कषक झोलुङ्गे पुल निर्माणको कार्य प्रारम्भ भएको बताए । ‘सडक, झोलुङ्गे पुल तथा मन्दिर वरपरको सुरक्षा घेरा, अन्य संरचना निर्माणको कार्य जारी छ’– पुर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले भने–‘सबै क्षेत्रको सहयोग र समन्वय हुन सके बेथान्चोक नारायणस्थानको थप विकास सम्भव छ ।’ 
सहज छ यात्रा
    समुन्द्री सतहबाट करिब ३०१८ मिटर अग्लो स्थानमा बेथाञ्चोक नारायण मन्दिर छ । ५५ किमीको यात्रा पछि नारायणस्थान पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण महाभारत पर्वत श्रृंंखलामा पर्ने बेथानचोक गाँउपालिकामा धेरै महत्व राख्ने जडिबुटीहरु पाईन्छ । ढुंखर्क, भुग्देउ, च्यासिंखर्क, चलालगणेस्थान क्षेत्रमा पाईने केही महत्वपूर्ण जडिबुटीहरुमा लौठसल्ला, ठिंग्रेसल्ला, विस्वामा, अर्घौली, झ्याउ, सुगन्धवाल, चिराईतो, मजिठो, कुरिलो आदी पर्दछन् । बाहुन, क्षेत्री, आदिबासी, जनजाती, दलित आदी सबै जातजातिहरुको सुन्दर संगमस्थलको रुपमा बेथानचोक गाँऊपालिकामा तामाङ्ग जातिको बाहुल्यता रहेको देखिन्छ ।
    यात्रालाई सहज बनाउन बथान्चोक गाउँपालिकाको वडा नम्वर ३ ले विशेष योजना बनाएको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले शुरु गरेको गुरु योजना अनुसार बेथान्चोक नारायणस्थानमा पुर्वाधारको कार्य भईरहेको पुर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले जानकारी दिए । २०७९ मा निर्वाचित जनप्रतिनिधि वडा अध्यक्ष कुवेर ढकालले वडाको प्राथमिकतामा बेथान्चोक नारायणस्थानको पूर्वाधार निर्माण रहेको बताए । उक्त क्षेत्र पुग्न विच विचमा विश्राम स्थल निर्माण गरिएको छ । रात बस्ने गरी जानेहरुका लागि पनि पाटीको ब्यवस्था छ । शौचालय निर्माण भईरहेको छ । लिफ्ट मार्फत पानीको ब्यवस्थापन हुँदैछ । बत्तिको ब्यवस्थापन गरिएको छ । अन्य पूर्वाधारको निर्माण भईरहेको छ । सिँढी, फलामको बार तथा अन्य संरचनाले पुर्वाधार सम्पन्न र सहज यात्राको गन्तब्य बन्दै छ बेथान्चोक नारायणस्थान ।