मण्डनदेउपुर/नेकपा एमाले मण्डन देउपुर नगर कमिटी वडा नम्वर ७, ८, ९ को आयोजनामा विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमालेका विभिन्न तहका नेताहरुले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री बास्कोटाले नेपालको स्वाभिमानसँग सत्ता साट्न नहुने बताए । ‘छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको सिमाना भित्र खुलेआम प्रवेश गरी नागरिक तहमा अन्र्तक्रिया गरेको विषयमा प्रधानमन्त्री चुईक्क बोल्दैनन्’–पोलिटब्युरो सदस्य बास्कोटाले भने–‘यहि हो सार्वभौम मुलकको अस्तित्व ? यहि हो प्रचण्डले भारत विरुद्ध युद्धमा खनेको सुरुङ्ग मार्ग ?’ सत्ता गठवन्धन पूर्णतः नागरिक र जनताप्रति बेसरोकार रहेको भन्दै बास्कोटाले किसानलाई समयमै मल विउ उपलब्ध गराउन, दुधको मुल्य प्रदान गर्न अनुरोध गरे ।
पार्टीका आन्तरिक कामलाई ब्यवस्थित गर्न, नेताहरुको ब्यक्तिगत भन्दा पार्टीको नीति र विधी अनुसार चल्न नेता बास्कोटाले निर्देशन दिए । गठबन्धनका विरुद्ध एक्लै निर्वाचनमा प्रतिस्पर्धा गरेको एमालेले सोचे जस्तो उपलब्धी हासिल गरेको भए पनि आगामी निर्वाचनमा शत प्रतिशत सफलता हासिल गर्न तयारी अवस्थामा रहन र पार्टीका काममा सक्रिय हुन निर्देशन दिए । कार्यक्रममा एमालेका प्रदेश तहका उम्मेदवार कुमार खकुरेलले पार्टी विधि र सिद्धान्तका आधारमा संचालन हुँदा पार्टी कमिटीहरु सक्रिय हुनुपर्ने बताए । एमाले बागमती प्रदेश कमिटी सदस्य हरिशरण दाहालले एमाले बलियो हुँदा मात्रै मुलुक बलियो हुने बताए । एमाले जिल्ला कमिटी सचिव राजन भुर्तेलले एमाले केन्द्रले दिएको निर्देशन अनुसार टोल, वडा र गाउँ तथा नगर कमिटीका अधिबेशन समयमै सम्पन्न गर्ने गरी पार्टीले तयारी गरेको बताए । कार्यक्रममा एमाले अनमेसंघ स्थायी कमिटी सदस्य रिता ढकालले मुलुक निर्माणमा एमालेको बाहेक अरु दलको सोच र योजना नभएको बताईन् ।
कार्यक्रममा एमाले मण्डन देउपुर नगर कमिटी अध्यक्ष शेरबहादुर डोटेल, नेताहरु शिवराम तिमल्सिना, देवेन्द्र सापकोटा, सरोज पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । एमालेले दशंै, तिहार, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा स्थानीय कमिटीहरुको ब्यवस्थापनमा हरेक वडामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमहरु आयोजना गरिरहेको छ ।





