2026 September 02/ 12:05: 38pm

रोजगार र समृद्धि प्राथमिकता
    नाला, शेरा/जागरण लप्सी क्याण्डी पाउँ भण्डारको नयाँ भवन शुभारम्भ गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्यले नयाँ उद्योगको उद्घाटन गरेका थिए । बनेपा नगरपालिका वडा नम्वर ४ शेरामा उक्त उद्योग संचालनमा छ ।
    अचार, लप्सी क्याण्डीका परिकार तथा अर्गानिक खाद्य सामाग्रीहरु उत्पादन गर्ने उद्देश्यले उक्त उद्योग शुभारम्भ गरिएको प्रोपाईटर एवं महिला जागरण समुहकी अध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिईन् । ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिने तथा स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने उद्देश्यले उद्योगलाई निरन्तरता दिईएको हो’–अध्यक्ष तथा प्रोपाईटर निर्मला श्रेष्ठले भनिन्–‘केहि समय शुरु भई संचालनमा आउन कठिन भएको उक्त उद्योगलाई ब्यक्तिगत रुपमा संचालन गर्ने गरी लगानी गरिएको छ ।’ आफ्नै जग्गामा ४० लाख लगानी गरेर शुरु गरिएको उद्योगमा उत्पादित सामाग्री अर्गानिक छ । नेपालका विभिन्न स्थानका अलावा अष्ट्र्लिया, जर्मन लगायतका देशहरुमा समेत पठाउन थालिएकाले गुणस्तरमा कुनै सम्झौता नगरिएको प्रोपाईटर श्रेष्ठले बताईन् ।
    उद्योगमा लप्सीका १० परिकारका पाउँ बनाईएको छ । सिन्धुपाल्चोक तथा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट सिजनमा लप्सी संकलन गरी त्यसबाट उत्पादन गरिएको कच्चा पर्दाथलाई वर्षभरी नै तयारी समान उत्पादन गर्न मिल्ने गरी गोदाम गरिएको छ । सोलार डायर मार्फत धुलो समेत नजाने गरी सुकाईएको पाउँलाई प्याकेजिङ्गमा पनि ध्यान दिईएको छ । १ सय ७५ ग्राम पाउँको एक सय रुपैयाँ पर्ने गरी मूल्य राखिएको छ । कागती, अमलाको अलग अलग पाउँ उत्पादन गरिएको छ । विभिन्न प्रकारका रोगको औषधीका रुपमा लिईएको कागती तथा अमलालाई पाउँका रुपमा खान सकिने गरी उत्पादन गरिएको श्रेष्ठले बताईन् । 
    पाउँ तथा अचार उत्पादनका लागि दैनिक १० जनाले अवसर पाउने गरेका छन् । ति मध्ये पाउँ उत्पादन र अचारका लागि जानुका श्रेष्ठ र विनिता श्रेष्ठले नियमित काम गरिरहेका छन् । पाउँसँगै स्थानीय उत्पादन मुला, गाँजर, काउली, तितेकरेला लगायतको मिक्स अचार तथा मेथीको अलग अचार बनाउने गरिएको छ । विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा अचारको माग बढिरहेको श्रेष्ठले बताईन् । बार्षिक १५ लाख भन्दा धेरैको कारोवार हुने गरी उद्योगलाई पुनः कृयाशिल बनाईएको उनले बताईन् । केहि वर्ष अघि सहकारी मार्फत संचालित उद्योग समुहले संचालन गर्न नसके पछि समुहकी अध्यक्ष समेत रहेकी श्रेष्ठले पुरानो कारोवारलाई फछ्र्याैट गरी ब्यक्तिगत रुपमा उद्योग शुरु गरेको बताईन् । पाउँ र अचारसँगै दालमोठ तथा आलुका परिकार चिप्स लगायतका सामाग्री उत्पादन गर्ने प्रोपाईटर श्रेष्ठले बताईन् । 
    उद्योगको नयाँ भवन उद्घाटन गर्दै उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्यले नेपालबाट विदेशिएको श्रम र पुँजीलाई स्वदेशमै रोक्न घरेलु तथा साना उद्योगहरुको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ महिला समिति अध्यक्ष रोशनी उपाध्यायले महिलाहरुले शुरु गरेका उद्योगहरुलाई हरेक क्षेत्रबाट सहयोग हुनु पर्ने बताईन् । महिलाहरुले शुरु गरेका उद्योगहरुको अवस्था सबल र सक्षम भए पनि पुँजी, श्रम र प्रविधीमा अब्बल हुन कठिनाई भएको बताईन् । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, महासचिव रविन्द्र बैदार, घरेलु तथा साना उद्योग महासंघका निरु बैदार, सिद्धिबहादुर कर्माचार्य, जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सहभागीहरुले उद्योगको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।