2026 September 02/ 12:05: 00pm

मोतीराम तिमल्सिना
धुलिखेल

– विमानस्थलबाट तस्करी भएको सुन प्रकरणमा संलग्न विदेशीहरुको चार महिना वितिसक्दा समेत रद्द भएन नागरिकता र राहदानी । – दावा छिरिङ भनिने निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा, सोनाम लामा र 
उमेश योञ्जनले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता र राहदानी लिएको पुष्टि भए पनि सरकारले राहदानी र नागरिकता खारेजीको निर्णय गरेको छैन । 

    लाखांै रकम तिरेर घरमै नागरिकता प्राप्त गरेको बयान दिएका सुन तस्करीमा संलग्न विदेशी नागरिक दावा छिरिङ्ग भनिने निमा तामाङ लगायत ७ जना विदेशीको नागरिकता अझै खारेज भएको छैन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी नागरिकता खारेजीका लागि प्रकृया शुरु भएको दुई महिना पुग्न लाग्दा समेत मन्त्री परिषद्मा नागरिकता र राहदानी खारेजीको प्रस्ताव पेश हुन सकेको छैन । 
    ‘जिल्ला प्रशासन कार्यालय काभ्रेबाट निमा तामाङको नागरिकता खारेजीका लागि निर्णय भएर गृह मन्त्रालयमा फाईल आएको छ’– गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र ब्यवस्थापन शाखाका एक अधिकृतले भने–‘टिप्पणी उठेर मन्त्री परिषद्मा पेश गर्ने गरी प्रस्ताव तयार भएको छ । तर दर्ता भएको छैन । कहिले खारेजका लागि प्रस्ताव दर्ता हुन्छ एकीन छ्रैन ।’ दावा छिरिङ्गको नागरिकता खारेजी प्रकृयामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गृह सचिव दिनेश भट्टराईले चासो दिएका छैनन् । दावा लगायत अन्य ६ जना विदेशीले काभ्रेपलाञ्चोकबाट नागरिकता खरिद गरी राहदानी समेत लिएको फेला परेको छ । दावा बाहेक अन्यको हकमा नागरिकता खारेजीको प्रकृया समेत शुरु भएको छैन । दावा छिरिङ भनिने निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा, सोनाम लामा र उमेश योञ्जनले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता र राहदानी लिएको पुष्टी भए पनि सरकारले राहदानी र नागरिकता खारेजीको निर्णय गरेको छैन । उनिहरु लगायत अन्य ३ सय ५० जनालाई सोहि अवधीमा जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएका नागरिकताको अनुसुची फेला परेको छैन । ति अनुसुची र नागरिकताका सवालमा समेत गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मौन छ ।  
    सुन तस्करीमा संलग्न भई पक्राउ परेका चिनिँया मुलका बेल्जियम नागरिक दावा छिारिङले निमा तामाङका नामबाट नेपालको नागरिकता प्राप्त गरेको विषयमा ‘निमा तामाङको नागरिकता छानविन गठित समितिको प्रतिवेदन २०८०’ ले दिएको निर्देशन अनुरुप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निजको नागरिकता खारेजी प्रकृया शुरु गरेको थियो । २०८० भदौ १८ गते हाजिर भएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा भाद्र २२ गते नै जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट, सहायक प्रमुख जिल्ला अधिकारीको टिप्पणी सहितको निर्णयका आधारमा गृह मन्त्रालयमा नागरिकता र राहदानी खारेजी तथा संलग्न कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकी थिईन् । ‘छानविन समितिले दिएको निर्देशन अनुसार जिल्लाले गर्नुपर्ने आवश्यक प्रकृया पुरा गरी संलग्न कर्मचारीलाई कारवाही, नागरिकता र राहदानी खारेजीका लागि भाद्र २२ गते नै गृह मन्त्रालय पठाएका छौं’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्–‘जिल्लाको नागरिकको हकमा नागरिकता रद्द गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने भए पनि विदेशी नागरिकको हकमा मन्त्रालय हुँदै मन्त्री परिषद्बाट मात्रै निर्णय गर्नु पर्ने भएकाले आवश्यक प्रकृया सहित मन्त्रालय पठाएको छु ।’ अन्यको हकमा भने गृहको कुनै निर्देशन नआएको शर्माले बताईन् । विदेशीको हकमा मन्त्री परिषद्बाट खारेजको निर्णय गर्नुपर्ने भए पनि बाँकी ३ सय ४३ जनाको हकमा भने जिल्ला प्रशासन कार्यालय के गर्ने भन्ने नै अन्योलमा छ । 
    तत्कालीन समयमा गरिएको अनुसुची अभिलेखीकरण गर्दा जिल्लाबाट एक वर्षको अवधीमा ३ सय ५० वटा नागरिकताको अनसुची नभएको विवरण फेला परेको थियो । सोहि विवरण र त्यस्ता नागरिकताको सूची सहित गृहमन्त्रालयमा प्रतिवेदन बुझाएको भए पनि कारवाही हुन सकेन । जसका कारण तिनै ब्यक्तिहरु अहिले मुलुकका विभिन्न आपराधिक घटनामा संलग्न हुन थालेका छन् । फेरी पनि सरकार त्यस्ता ब्यक्तिहरुको खोजी र कारवाहीका लागि तयार भएको छैन । छानविन समितिले नेपाल प्रहरी विधिविज्ञान प्रयोगशालाको परिक्षण प्रतिवेदन अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका निमा तामाङ भन्ने ब्यक्तिको नेपालको राहदानी प्राप्त प्रयोजनार्थ राहदानी विभागमा रहेको औठाछाप र बेल्जियमका राहदानी बाहक दावा छिरिङ्गको औंठाछाप मेल खानुले निमा तामाङ र दावा छिरिङ्ग दुई फरक ब्यक्ति नभई एकै ब्यक्ति भएको पुष्टी भएको साथै निजले झुठा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्राप्त गरेको कुरामा कुनै द्धविधा रहेन भन्ने निश्कर्ष निकालेको थियो । छानविन समितिको निश्कर्षका आधारमा निज निमा तामाङलाई नेपालको प्रचलित कानुन बमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारवाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्वन्धमा समेत प्रचलित कानुन वमोजिम आवश्यक कारवाही अगाडी बढाउन उपयुक्त हुने देखिन्छ भन्ने प्रतिवेदन छानविन समितिले गृह मन्त्रालयमा दिएको थियो । 

सिफारिस बिना नै नागरिकता
    वडा अध्यक्षको सिफारिस नै नभएको नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयमा अनुसुची समेत फेला नपरे पछि शुरु भएको प्रारम्भिक अनुसन्धानले सुन तस्करमा संलग्न भनिएका दावा छिरिङ्ग भन्ने निमा तामाङको नागरिकता ‘माथिकै आदेशमा’ बनाएको खुलासा भएको थियो । निमालाई नागरिकता दिँदा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको सरकार थियो । अहिले पूर्व सभामुख समेत रहेका कृष्णबहादुर महराका छोरा पक्राउ परेका छन् । नागरिकता विक्री गर्ने गिरोहका सन्दर्भमा भने प्रहरीले गरेको अनुसन्धान अझै सकिएको छैन । सुन तस्करी र नागरिकता विक्री गर्ने गिरोहका बारेमा अलग अलग ढंगबाट अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 
    सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारी देउवा निकट शिवप्रसाद सिंखडा नै थिए । सिंखडा काँग्रेसमा सक्रिय थिए । देउवाको सचिवालयबाट ठाडो आदेश दिए पछि सिंखडाले कर्मचारीहरुलाई निमाको नागरिकता बनाउन निर्देशन दिएको श्रोतले बतायो । ‘कागजात भन्दा पनि प्रकृया पुरा भएको जस्तो लाग्छ, मेरो नाम राखेर दिएको नागरिकताप्रति म आफैलाई शंका छ’– निमाको नागरिकतामा हस्ताक्षर गरिएको भनिएका अधिकृत झपेन्द्रराज खरेलले भने– ‘धेरै अघिको कुरा भएकाले सम्झन कठिन छ । तर अभिलेखमा मेरो हस्ताक्षर भए पनि नागरिकतामा गरिएको हस्ताक्षर शंका छ ।’ प्रशासन कार्यालयमा सोहि दिनको अभिलेखमा खरेलले ११ वटा नागरिकतामा मात्रै हस्ताक्षर गरेका थिए । ४१ वटा नागरिकता वितरण भएकोमा बाँकी नागरिकतामा सिताराम थापाले हस्ताक्षर गरेका छन् । ३० जनाको अनुसुची फेला पर्दा उनै निमाको मात्रै प्रशासन कार्यालयमा अनुसुची फेला परेको थिएन ।’ निमासँगै सोहि दिन उनले अर्का पासाङको पनि नागरिकता दिलाएका थिए । एउटै ब्यक्तिलाई बाबु बनाएर पासाङ र निमाको नागरिकता सोहि दिन जारी भएको अभिलेखेमा देख्न सकिन्छ । 
    ‘निमा लगायतका ३ सय ५० भन्दा धेरै ब्यक्तिको नागरिकता अभिलेखमा राखेर अनुसुची गायब बनाईएको छ’–जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने–‘वडा कार्यालयको सिफारिस नै नभई नक्कली कागजात तयार गरेर वितरण गरिएको नागरिकताको अनुुसुची गायव पार्नु योजनाबद्ध हो । एउटा कर्मचारी मात्रैले यो कार्य गर्न सक्दैन ।’ नमोबुद्ध नगरपालिका वडा नम्वर ११ ठेगाना राखेका निमाले बाबु पेमा तामाङ बनाएका छन् । न पेमा नमोबुद्ध ११ मा छन् । न निमा । नागरिकतामा सनाखत गर्ने बेला उभ्याईएका पेमा को थिए ? विदेशी निमाले नागरिकता लिँदा पेश गरेका कागजात किन गायव बनाईयो ? वा कागजात नै लिईएन ? जिल्ला प्रशासन कार्यालयको रेकर्डमा नागरिकता लिँदा अनुसुची पनि नभएको उल्लेख छ । पेमाको नागरिकताको फोटोकपी र निमाको जन्मदर्ता पेश गरिएको उल्लेख छ । सर्वसाधारणले नागरिकता बनाउँदा शैक्षिक योग्यताको प्रमाणपत्रका साथै अन्य कागजात अनिवार्य उपलब्ध गराउनु पर्ने ब्यवस्था छ । निमाका हकमा कुनै प्रकृया पुरा गरेको देखिदैन । त्यो पनि निमा र पासाङलाई नागरिकता घरमै पु¥याईएको बयान दिएका छन् ।