छैटौ अधिबेशनबाट दयासागर अध्यक्ष
धुलिखेल/दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) को १८ औ बार्षिक साधारण सभा एवं छैटौ अधिबेशन धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष झलककुमार दर्लामीको अध्यक्षतामा सम्पन कार्यक्रममा संस्थाले गरेका बार्षिक गतिविधी तथा आगामी वर्षका कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले सामाजिक संस्थाहरु स्थानीय सरकारका साझेदार बन्नु पर्ने बताए । ‘स्थानीय सरकारका साझेदारका रुपमा कार्य गर्ने सामाजिक संस्थाहरुले नागरिकहरुको जीवन स्तर उकास्ने तथा नागरिकहरुलाई सचेत बनाउने कार्यमा ध्यान दिनु पर्छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘सिविक फोरमले संचालन गरेका कार्यक्रमहरुबाट नागरिकहरु लाभान्वित भएका छन् ।’ कार्यक्रममा पनौती नगरपालिका वडा नम्वर ११ का अध्यक्ष विपेन्द्र लामाले स्थानीय सरकारले हेर्न नसकेका तथा सरकारका कुनै निकायको ध्यान पुगेर पनि गर्न नसकेका कार्यहरुमा सामाजिक संस्थाहरु सहयोगि र समन्वयकारी बन्न सक्ने बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले सामाजिक संस्थाहरुले समुदायमा पु¥याएको योगदानको चर्चा गर्दै सिविक फोरमका कार्यक्रम जीवनपयोगी, सामाजिक उत्तरदायित्वमुखी र आयआर्जनसँग समेत केन्द्रित भएकाले प्रभावकारी भएको बताए ।
प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले संचालन गरेको सभामा सचिव सम्झना शर्मा नेपालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । संस्थाले गत वर्ष संचालन गरेको सुरक्षित आप्रवासन, भविश्यका लागि आधार, झोलुङ्गे पुल उप क्षेत्र कार्यक्रम, धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्वन्धी कार्यक्रम, मखमलको जुत्ता चप्पल, अचार बनाउने र क्रिस्टलको माला बनाउने तालिममा सहभागि र उनिहरुले उत्पादन गरेका उत्पादन तथा त्यसबाट फेरिएको अवस्थाका बारेमा जानकारी सचिव शर्माले प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कोषाध्यक्ष क्षेत्रबहादुर मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाद्वारा संचालित २ करोड ५ लाखका कार्यक्रमका बारेमा जानकारुी गराए । त्यस्तै चालु वर्षका लागि ४ करोड २० लाख बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
सभाको बन्द सत्रले प्रस्तुत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति सर्वसम्वतले चयन गरेको थियो । निर्वाचन समितिका संयोजक नारायणध्वज तामाङले निर्वाचन कार्यक्रम प्रकाशन गर्दै सम्र्वसम्मत कमिटीको घोषणा गरेका थिए । अधिबेशनले अध्यक्षमा दयासागर तामाङ, उपाध्यक्ष आरती सुन्दास, सचिव सिताकुमारी तामाङ, कोषाध्यक्ष क्षेत्रबहादुर मुक्तानलाई चयन गरेको छ । त्यस्तै समितिको सदस्यहरुमा करुणा श्रेष्ठ, टेकबहादुर माझी र नविन राना मगर रहेका छन् ।






