‘कृषक हितमा सरकार छैन’–पूर्व मन्त्री बास्कोटा
धुलिखेल/नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले गठवन्धन सरकारले नेपाल र नेपालीको हितमा केहि गर्न नसकेको आरोप लगाएका छन् । किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिना देखि दुध विक्री गरेको मुल्य नदिएर चरम शोषण गरिरहेको बताए ।
नेपालकै नमुना दुग्ध सहकारी संस्था धुलिखेल नगरपालिका वडा नम्वर २ को सेतिदेवीको २३ औ बार्षिक साधारण सभामा बोल्दै पुर्व मन्त्री गोकुल बास्कोटाले कृषकहरुको हितमा काम गर्न नसक्ने कृषि मन्त्रीलाई गोबर उपहार दिन कृषकहरुलाई अनुरोध गरे । ‘खेति गर्ने समयमा रासायनिक मल छैन, दुध विक्री ग¥यो पैसा छैन, उत्पादन ग¥यो मुल्य छैन’–पुर्व मन्त्री बास्कोटाले भने–‘यस्तो सरकारका कृषि मन्त्रीलाई गोबर उपहार नदिएर के दिने ? म मोसो त भन्दिन तर गाईको गोबर चाँहि छ्यापी दिनुहोस् ।’ ‘किसानलाई सहयोग गर्ने कुनै नीति सरकारको छैन, राज्य जनतासँग भागेर जनताको समस्याको अपनत्व लिन सक्दैन’–पुर्व मन्त्री बास्कोटाले भने–‘किसानले ऋण गरेर, दश नंग्रा खियाएर विक्री गरेको, पसिना चुहाएको मुल्यको दुधको पैसा खै ? सरकार लुटेरा बनिरहेको छ । संसद र सरकारलाई पटक पटक खवरदारी गरेको भए पनि सरकारले वेवास्ता गरेको छ ।’ सरकार नेपाली कृषकहरुको दुधको मुल्य दिन छाडेर भारतिय दुध र पाउडर ल्याउँदै गरेको आरोप मन्त्री बास्कोटाले लगाए ।
‘समाजबादको वकालत गर्ने कृषि मन्त्री के हेरेर बसेका छन् ? कुराले चिउरा भिज्दैन’–पुर्व मन्त्री बास्कोटाले भने–‘कृषकहरुको हितमा मात्रै नभएर यो सरकारको ध्यान नीजि स्वार्थ बाहेक अन्यत्र छैन । बाटोघाटो पुल पुलेसामा यो सरकारको ध्यान छैन । यस्तो बेवकुफ सरकार कहिल्यै बनेको थिएन । पञ्चहरुको सरकार पनि यस्तो थिएन होला । जनताको कुरै सुन्दैन । ब्यक्तिगत हैन देशको विकास हुनु पर्छ । विकास गर्ने तर्फ यो सरकारको ध्यान नै छैन । जनताले यसको बदला लिनेछन् ।’ पुर्व मन्त्री बास्कोटाले उत्कृष्ट कृषक वडा अध्यक्ष अर्जुन न्यौपानेलाई सम्मान गरे । सहकारीले वर्षभरी धेरै दुग्ध विक्री गर्ने एक जना कृषकलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत गत वर्ष र यो वर्ष पनि वडा अध्यक्ष न्यौपाने नै सम्मानित भएका हुन् । उनले एक वर्षको अवधीमा ६९ हजार ३ सय ८८ लिटर दुध विक्री गरेका थिए ।
सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले कृषकहरुको हितका लागि स्थानीय सरकारले समन्वय र सहजिकरण गरिरहेको बताए । सभामा दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टिकाबल्धव सापकोटा, सहकारी अभियान्ताहरु, वडा अध्यक्षहरुले कृषकहरुको समस्यामा सरकार रमिते बनेको गुनासो गरेका थिए । सस्थाका अध्यक्ष चर्तुभज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सभामा संचालक समितिका उपाध्यक्ष निरञ्जन गेलाल, तोयनाथ घोरसाईने लगायतले संस्थाले गरेको प्रगतिका बारेमा जानकारी गराएका थिए ।
आफ्नै गाई फार्म, नमुना सहकारी
सेतिदेवी दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडले आफ्नै गाईफार्म संचालन गरेको छ । लम्पि स्किन रोगको प्रकोपका बाबजुत पनि संस्था आफैले संचालन गरेको फार्ममा साढे करोड लगानी गरिएको छ । जसबाट एक वर्षको अवधीमा ८३ लाख ७२ हजार १ सय १५ रुपैया आम्दानी भई ८१ लाख ८३ हजार २ सय १६ रुपैया खर्च भएको छ । संस्थाले कुल २५ करोड ५६ लाख ९८ हजार ४ सय ६६ रुपैया आम्दानी गरेको छ । खर्च कटाएर एक वर्षको अवधीमा ३० लाख मुनाफा हासिल गरेको हो । २ करोड ६४ लाख ९३ हजार ९ सय शेयर पुँजी, १४ करोड २७ लाख २३ हजार ४ सय ९५ रुपैया बचत र १२ करोड ६२ लाख १ हजार ९ सय ७८ रुपैया ऋण लगानी गरेको उक्त संस्थाले कृषक मैत्री कार्यक्रम संचालन गरेको छ । १८ जना कर्मचारी रहेको उक्त संस्थाले स्वच्छ दुध संकलन तथा विक्रीका लागि दैनिक विहान र बेलुका दुध संकलन गर्दै आएको छ भने पुश विमा कार्य, कृषकलाई आवश्यकता अनुसार पशु आहार तथा रासायनिक मल उपलब्ध गराउँदै आएको अध्यक्ष चर्तुभुज तिमल्सिनाले बताए । अध्यक्ष तिमल्सिना, उपाध्यक्ष निरञ्जन गेलाल, सचिव सुनिता सापकोटा, कोषाध्यक्ष ध्रुर्वप्रसाद चौलागाई, लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णबहादुर ढुंगाना र ब्यवस्थापक हरिहर अधिकारीले संस्थाले गरेका गतिविधीहरु प्रस्तुत गरेका थिए ।
सर्वसम्वत नया समिति
बार्षिक २५ लाख लिटर दुध विक्री गर्ने सहकारी संचालनका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । विदुर कोईरालाको अध्यक्षतामा बच्चुराम न्यौपाने उपाध्यक्ष, दामोदर कोईराला सचिव, बसन्त चौलागाई कोषाध्यक्ष रहेका छन् । त्यस्तै धावा लामा, विनोद घोरसाईने, पञ्चलाल तामाङ, नविन अधिकारी, शान्ति दंगाल न्यौपाने, कोमल चौलागाई र बेदप्रसाद बजगाई सदस्य रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा कृष्णबहादुर ढुंगाना संयोजक तथा दुर्गाप्रसाद चौलागाई र रुपा तामाङ रहेका छन् । उक्त सहकारीले संघ र प्रदेश तहबाट पटक पटक उत्कृष्टताको पुरस्कार प्राप्त गरिसकेको छ ।





