फेरी थपिदै विदेशी, खारेज भएन नागरिकता
मोतीराम तिमल्सिना
धुलिखेल
विमानस्थल बाहिरबाट बरामद गरिएको सुन तस्करीमा फेरी अर्का एक ब्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेको साथबाट बरामद गरिएको राहदानीका आधारमा उनी काभ्रे ठेगाना भएका उमेश योञ्जन हुन् । तर उनको नागरिकताको विवरण अभिलेखमा छैन । अभिलेखका आधारमा विदेशी मुलका नागरिक उमेश योञ्जन नक्कली ब्यक्ति हुन् । सुन तस्करीमा काभ्रेबाट नागरिकता लिनेमा उमेश सहित विदेशीको संख्या ७ पुगेको छ ।
यसअघि पक्राउ परेका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङले निमा तामाङका नामबाट नेपालको नागरिकता प्राप्त गरेको विषयमा ‘निमा तामाङको नागरिकता छानविन गठित समितिको प्रतिवेदन २०८०’ ले दिएको निर्देशन अनुरुप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निजको नागरिकता खारेजी प्रकृया शुरु गरेको भए पनि अझै खारेजी भएको छैन । २०८० भदौ १८ गते हाजिर भएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा भाद्र २२ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट, सहायक प्रमुख जिल्ला अधिकारीको टिप्पणी सहितको निर्णयका आधारमा गृह मन्त्रालयमा नागरिकता र राहदानी खारेजी तथा संलग्न कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकी हुन । निरन्तर विदेशी नागरिकलाई नागरिकता उपलब्ध गराएका विषयमा समाचार प्रकाशन गर्दै आएको छ । सोहि समाचारका आधारमा गृह मन्त्रालयले मन्त्रलायका उप सचिवको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । भाद्र २२ गते जिल्लाबाट खारेजीका लागि गृहमा पठाएको भए पनि अझै नागरिकता खारेजी नभएको हो ।
‘छानविन समितिले दिएको निर्देशन अनुसार जिल्लाले गर्नुपर्ने आवश्यक प्रकृया पूरा गरी संलग्न कर्मचारीलाई कारवाही, नागरिकता र राहदानी खारेजीका लागि शुक्रबार मन्त्रालय पठाएका छौं’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन–‘जिल्लाको नागरिकको हकमा नागरिकता रद्द गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने भए पनि विदेशी नागरिकको हकमा मन्त्रालय स्तरबाट निर्णय गर्नु पर्ने भएकाले आवश्यक प्रकृया सहित मन्त्रालय पठाएको छु ।’ निमा तामाङको हकमा मन्त्रालयस्तरबाटै छानविन समिति गठन भएकाले मन्त्रालयले नै यसका बारेमा निर्णय गर्नेछ । छानविन समितिले नेपाल प्रहरी विधिविज्ञान प्रयोगशालाको परिक्षण प्रतिवेदन अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका निमा तामाङ भन्ने ब्यक्तिको नेपालको राहदानी प्राप्त प्रयोजनार्थ राहदानी विभागमा रहेको औठाछाप र बेल्जियमका राहदानी बाहक दावा छिरिङ्गको औंठाछाप मेल खानुले निमा तामाङ र दावा छिरिङ्ग दुई फरक ब्यक्ति नभई एकै ब्यक्ति भएको पुष्टि भएको साथै निजले झुठा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्राप्त गरेको कुरामा कुनै द्धिविधा रहेन भन्ने निश्कर्ष निकालेको थियो ।
छानविन समितिको निश्कर्षका आधारमा निज निमा तामाङलाई नेपालको प्रचलित कानुन बमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारवाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्वन्धमा समेत प्रचलित कानुन बमोजिम आवश्यक कारवाही अगाडी बढाउन उपयुक्त हुने देखिन्छ भन्ने प्रतिवेदन छानविन समितिले गृह मन्त्रालयमा दिएको थियो । ‘प्रतिवेदनका आधारमा निजको नेपालको नागरिकता र राहदानीबाट हटाउन जिल्लाबाट आवश्यक निर्णय सहित मन्त्रालय पठाएका हौ’–प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्–‘उनी पक्राउ परेर सिआईवीले समेत अन्य विषयमा अनुसन्धान गरिरहेकाले उनिसँग जोडिएका अन्यको हकमा पनि कानून अनुसार हुने छ ।’ विदेशी नागरिकको हकमा नेपाल सरकारले मात्रै निर्णय गर्न सक्ने ब्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयले निमाको नागरिकता र राहदानी खारेजीका लागि मन्त्रालय पठाउने निर्णय गरेको हो ।
छानविन समितिले नागरिकता जस्तो विषयमा गहिरो अध्ययन अनुसन्धान तथा छानविन नगरी पर्याप्त प्रमाण एव अनुसुची १ रहेको वा नरहेको यकिन नगरी मिति २०७४ पुष २० गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट प्रदान गरिएको नागरिकता प्रमाण पत्र नम्वर ३०–०१–७४–११८६८ को निमा तामाङको नागरिकता प्रमाणपत्र प्राप्त गर्ने प्रकृयामा सनाखत गर्ने तत्कालिन नायब सुब्बा रामचन्द्र अर्याल (हाल अधिकृत छ्रैटौं पदमा यातायात ब्यवस्था कार्यालय सानो भ¥याङ्गमा कार्यरत) र नागरिकतामा हस्ताक्षर गर्ने तत्कालिन प्रशासकीय अधिकृत हाल मेलम्ची नगरपालिकाको कार्यालय सिन्धुपाल्चोकमा प्रशासकीय अधिकृत पदमा कार्यरत झपेन्द्रराज खरेललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत लेखी पठाउन सुझाव दिएको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त प्रकरणमा संलग्न सम्पूर्ण कर्मचारीहरुलाई आवश्यक कारवाहीका लागि मन्त्रालयमा सिफारिस गरेकी छिन् । तर अन्य कर्मचारीको हकमा छानविन समिति मौन रहेकाले जिल्ला प्रशासन कार्यालयबाट सिआईवीले मागेको कागजात र संलग्न कर्मचारीको विवरण बाहेक केहि पठाएको छैन । अन्य विदेशीहरुको नागरिकताका बारेमा पनि सरकार अझै मौन छ ।
पछिल्लो समय अर्का ब्यक्तिको नागरिकता विना राहदानी बनेको फेला परेको छ । उमेश योञ्जनका नाममा जारी भएको राहदानी नम्वर १२२३२२८७ हो । यि ब्यक्ति भारतमा पक्राउ परेका छन् । तर काभ्रेका हैनन । राहदानीमा काभ्रे जन्मस्थान राखिएको छ । नागरिकता नम्वर ३०३०९१–१७५४ उल्लेख छ । उक्त नागरिकता नेपालको गृह मन्त्रालयको रेकर्डमा समेत छैन । राहदानी बनाउँदा नागरिकता भिडाउनु पर्ने ब्यवस्था भए पनि उमेश योञ्जनका नाममा त्यस्तो भएको देखिएन । ११ फ्रेबुअरी १९८४ अर्थात २०४० माघ २८ गते शनिबार जन्म मिति राखिएको उमेशले २०२१ अप्रिल २६ मा धुलिखेलबाट जारी गरिएको राहदानीका आधारमा उनी विभिन्न देश जाने आउने गरेका थिए । उमेश अहिले भारतमा सुन तस्करीकै अभियोगमा पक्राउ परेका छन् । दावासँगै पक्राउ परेकाहरुको हकमा पनि सरकार मौन छ । एक पछि अर्काे गर्दै नागरिकता र राहदानी लिने ब्यक्ति नै नक्कली फेला पर्न थाले पछि काभ्रेपलाञ्चोक जिल्ला त्यसका लागि भण्डार जस्तै भएको छ ।
उमेशले लिएको राहदानी र दावाले बनाई दिएका राहदानी एउटै अवधीमा जारी भएको देखिन्छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिनु अघि तस्करहरुले धमाधम राहदानी र नागरिकता खरिद विक्री गरेका थिए । दावाले बयानमा समेत २ लाख देखि ५ लाखसम्म रुपैया तिरेर घरमै नागरिकता पाउने गरेको बयान दिएका थिए । फेरी उमेश फेला परेका छन् । उनी आफु तस्करीमा नभएको प्रमाण जुटाउन थप नक्कली कागजातका लागि सरकारी कार्यालय धाउन थालेका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रकृया अघि बढिरहेको बताए । सुन तस्करीसँग जोडिएका विदेशी ब्यक्तिहरुको साथमा नेपाली नागरिता फेला परेसँगै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) को टोलीले गरेको अनुसन्धानमा नागरिकता र राहदानी जिल्ला प्रशासन कार्यालय काभ्रेबाट लिएको खुलेको हो ।





