बनेपा/काभ्रेको ब्यापारीक नगरी बनेपामा भाद्र २२ र २३ गते आयोजना गरिएको बृहत्त फुड फेस्टिबल, नेवारी सुकुलभोज तथा सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । फुड फेस्टिबलको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्य लगायतले उद्घाटन गरेका थिए भने समापन जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले गरेका थिए ।
‘उदेश्य अनुरुप फेस्टिबल भब्य रुपमा सम्पन्न भयो’– फेस्टिबल कार्यक्रमका संयोजक श्यामकुमार भालु (मुनाल) ले भने–‘आर्थिक मन्दिले शिथिल ब्यवसायलाई चलायमान बनाउँदै फुडको पहिचान र ब्यवसायको प्रर्वद्धनका महत्वपूर्ण हुने उदेश्यले आयोजना गरिएको फेस्टिबल प्रतिकुल मौषम र समयका बाबजुत पनि सम्पन्न भएको छ ।’ महोत्सवमा सहभागी दर्शकहरुको उत्साहपूर्ण सहभागिताले आगामी दिनमा अझै ब्यवस्थित र भब्य रुपमा महोत्सव आयोजना गर्न हौसला मिलेको हामेट ब्यवसायी महासंघका कोषाध्यक्ष कृष्ण श्रेष्ठले बताए ।
‘शिष्ट ब्यवसाय निर्माण गरी ब्यस्त जीवनयापनलाई उत्कृष्ट बनाउँदै कला र संस्कृतिको जगेर्नाका लागि महोत्सव महत्वपूर्ण भएको छ’–संयोजक श्यामकुमारले भने–‘पारिवारीक मनोरञ्जनका साथ पौराणीक परम्परागत खाना, संस्कृति तथा भेषभुषालाई प्राथमिकतामा राखी ऐतिहासिक, धार्मिक, पर्यटकिय, सामाजिक, भौतिक स्थलहरुको प्रचार प्रसारका लागि केहि हदसम्म सफल भएका छौं।’ काभ्रे होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरीङ्ग संघको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा २५ वटा स्टल राखिएको थियो ।
काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघका अध्यक्ष शिवप्रसाद तिमल्सिनाले भने–‘जिल्ला भित्रका सबै पर्यटकिय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक तथा ब्यवसायीक क्षेत्रहरुलाई समेटेर पर्टकिय विकसाका लागि समन्वय गरिनेछ । त्यसका लागि घुम्ती कार्यक्रम फेस्टिबल आयोजना गरिएको हो ।’ स्वस्छ, सफा र हाईजेनिक परिकारहरुको सर्वसुलभ सेवा सामाजिक जमघटका लागि सर्वाेत्कृष्ट ब्यवस्थापन सहित होटल, पार्टी प्यालेस तथा क्याटरिङ्गहरुको सेवा सुविधा र अपरिहार्यता सम्वन्धी प्रर्वद्धन गरिएको ब्यवसायीहरुले बताएका छन् । फुड फेस्टिबलमा एकै दिन ५ हजार भन्दा धेरै ब्यक्तिहरुको सहभागिता रहेको थियो भने दोश्रो दिन ७ हजार भन्दा धेरै दर्शकहरु सहभागि भएका थिए । महोत्सवमा सुकुल भोज समेत समावेश गरिएको थियो ।
अरनिको पार्टी प्यालेसमा सुकुल भोज र भिमसेनस्थान मार्गमा खुल्ला फेस्टिबल आयोजना गरिएको थियो । संघमा २ सय भन्दा धेरै होटल तथा रेस्टुरेन्ट ब्यवसायी आवद्द छन् भने ७० वटा भन्दा धेरै पार्टी प्यालेसहरु आवद्ध छन् । पछिल्लो समय पार्टी प्यालेसहरु थपिने र त्यसको गुणस्तर बृद्धी हुने क्रम बढेको छ । स्वस्थ प्रतिस्पर्धाले मात्रै गुणस्तरीयता प्रदान गर्न सकिने ब्यवसायीहरुले बताएका छन् ।






