रोशी/रोशी गाउँपालिका वडा नम्वर २ काफलडाँडामा रहेको तिनधारे झरनालाई पर्यटकीय हिसाबले प्रचार प्रसार गरी नागरिकहरुको आय–आर्जन बढाउने उद्देश्यले वडा नम्वर २ को आयोजना तथा गाउँपालिकाको सहयोग र समन्वयमा तीनधारे झरनाको प्रर्बद्धन तथा विकासका लागि अवलोकन भ्रमण गराएको छ ।
‘बागमती प्रदेशकका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरु उक्त स्थलमा उपस्थित गराएर त्यहाँको बस्तुगत अवस्थाका बारेमा जानकारी गराउने र त्यसको विकासका लागि पहल गराउन सहज होस् भन्ने उद्देश्यले अवलोकन भ्रमण आयोजना गरेका हौं’– गाउँपालिका अध्यक्ष दिनेश लामाले भने–‘पर्यटन प्रर्वद्धन तथा उक्त क्षेत्रको विकासका लागि अवलोकन भ्रमण महत्वपूर्ण भएको छ ।’ रोशी गाउँपालिकाका अन्य वडाहरुमा रहेका महत्वपूर्ण स्थलहरुको पनि प्रचार प्रसार र सम्वद्र्धन तथा प्रर्वद्धन गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रमहरु आयोजना गरेको अध्यक्ष लामाले बताए । अध्यक्ष लामाले रोशी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएकाले रोशीकै चैतेपानीमा नेपालकै एक मात्र ठाउँमा पाईने १२ बर्षमा फूल्ने निलाम्बरी फूल पाईने स्थान रहेको बताउँदै भूमेचुली डाँडा, तीनधारे झरना, हात्तीआहाल, ताराखसे लेक तथा पोखरी लगायत रोशी गाउँपालिका भित्र पर्यटकीय स्थल रहेको बताए । ति स्थलहरूको विकास र प्रर्वद्धनका लागि गाउँपालिकाले मात्र गर्न सम्भव नहुने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।
अवलोकन भ्रमणमा बागमती प्रदेश अर्थमामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन लगायतको सहभागिता रहेको थियो । शनिबार पर्यटकीय स्थल तीनधारे झरनाको प्रबद्र्धन तथा विकासका लागि अवलाकन भ्रमण कार्यक्रम सम्पन्न भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले रोशी गाउँपालिकामा रहेको तिनधारे झरनासम्म पुग्ने सडक लगायतको पुर्वाधार निर्माणकालागि आवश्यक बजेट ब्यवस्थापन गर्ने बताएका छ्न । तीनधारे झरनाको पर्यटन प्रबद्र्धनका लागि आयोजित अवलोकन भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीनधारे झरना पर्यटन प्रर्वद्धनको उत्कृष्ट गन्तब्य रहेको बताए ।
खानेपानी सिंचाइ तथा उर्जामन्त्री तिर्थ लामाले तीनधारे झरनाको विकासको लागि पहिलो खण्ड दाप्चा देखि फलामेसाँघु र दोस्रो खण्ड फलामे साँघुदेखी तिनधारे सम्मको सडक पुर्वाधार पक्की बनाईने, तीनधारे झरनाको अन्य संरचना ब्यवस्थित गरिने, समग्र रोशी र निर्वाचन क्षेत्र भित्रमा समग्र वडामा आवश्यक पुर्वाधार निर्माणका लागि बजेटको प्रबन्ध गरिने बताए । आफू मन्त्री भए पछि हरेक वडामा खानेपानी आयोजना भएको समेत उनको दाबी छ । कार्यक्रममा उद्योग बाणिज्य मन्त्री रामकृष्ण चित्रकार, संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जन, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा, जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा लगायतले सम्बोधन गरेका थिए । रोशी गाउँपालिका २ मा रहेको तिनधारे झरना आन्तरिक र बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । तीनधारे झरनाको विकासका लागि तीन तहकै सरकारले आवश्यक गुरुयोजना बनाएर काम गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले तीनधारे झरनाको प्रबद्र्धन गरेर आर्थिक उपार्जनमा लाग्नुपर्ने बताए । त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने गौतमले बताए । नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कन्साङ लामाले चारजना प्रदेश मन्त्री पर्यटकीय स्थलमा उभिए पछि विकासको मूल फुट्नेमा विश्वास लिएको बताए । रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले पनि रोशीको बिसमा सहयोग गर्नु पर्नेमा जोड दिए । पालिका समृद्ध हुँदा जिल्ला समृद्ध हुने जिल्ला समृद्ध हुँदा प्रदेश समृद्ध हुने र प्रदेश समृद्ध हुँदा देश समृद्ध हुने भएकाले पालिका समृद्धमा सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा रोशी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष श्रीदास लामाले तिनधारेदेखि ताराखसे लेकसम्म पदमार्ग निर्माण हुने, दाप्चादेखि तिनधारेसम्म सडक कालोपत्रे हुनेमा विश्वस्थ भएको बताए । स्थानीय सार्कीमान वल र वडाध्यक्ष हस्तमान लामाले तीनधारे झरनाको विकासका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले बागमती प्रदेशले सहयोग गर्नुपर्ने बताए । स्थानीय तहको सिमित स्रोत साधान रहने तर जनताको अपेक्षा धेरै हुने भएकाले बिकासमा प्रदेश सरकार र संघ सरकारले सहयोग गर्नुपर्ने उनीहरूको जोड थियो ।






