2026 September 01/ 07:29: 33am

पनौती/पनौती नगरपालिकामा ३४ वर्ष पछि विशेष कार्यक्रमको आयोजना गरी गाईजात्रा मनाईएको छ । हलिं नेवाः गुथी पलाँती कचाको आयोजनामा ३४ वर्ष पछि गाईजात्रा पर्व विशेष कार्यक्रमका साथ मनाईएको अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । सहभागिहरुले विभिन्न झाँकी, लाखे नाच, नाटक प्रर्दशन गरी बजार परिक्रमा गरेको थियो ।  विभिन्न विद्यालयका विद्यार्थीहरुले उक्त अवसरमा नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकाहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
    वडा नम्वर ७ का अध्यक्ष सविन ताम्राकारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक प्रताप ताम्राकार, हलिं नेवाः गुथीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुरेश सैंजु, राजाराम कर्माचार्य, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्य, हलिं नेवाः गुथी पनौतीका समिता स्याउला लगायतले कला, संस्कृति, सम्पदा र भाषा जोगाउन सबै सक्रिय हुनु पर्ने बताए । पनौतीमा २०४६ साल भदौ ४ गते गाईजात्रा प्रर्दशन भईरहेका समयमा तत्कालिन पञ्चायतको सरकारले हस्तक्षेप गरी ९ जना स्थानीयलाई कुटपिट गरी राजद्रोहको मुद्दा समेत लगाएको थियो । गाईजात्रामा ब्यङ्ग गर्न पाईने अवस्था भए पनि त्यतिबेलाको पंचायत सरकारले केहि ब्यक्तिहरुलाई पक्राउ गरी कार्यक्रममा नै हस्तक्षेप गरे पछि स्थगित भएको गाईजात्रा कार्यक्रम सामुहिक रुपमा हुन सकेको थिएन । ३४ वर्ष पछि पनौतीमा सामुहिक रुपमा गाईजात्रा आयोजना गरिएको केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुरेश सैंजुले बताए । 
    कार्यक्रममा बोल्दै पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्यले पनौतीको कला, संस्कृति, भाषा,सम्पदा, इतिहासको संरक्षण, प्रर्वद्धन तथा विकासका लागि मानसागर श्रेष्ठ, विष्णुदास स्याउला र जगतबहादुर प्रजापतिलाई विर्सन नहुने बताए । उनिहरु तिनै जनाको निधन भए पनि उनिहरुले नेवारी समुदायको भाषा र संस्कृतिका बारेमा मात्रै नभई पनौतीका सम्पदाका बारेमा समेत पछिल्लो पुस्तालाई हस्तान्तरण गरेको सिप, ज्ञान र भाषालाई संरक्षण गर्नु पर्ने दायित्व रहेको कर्माचार्यले बताए । कार्यक्रममा सहभागिहरुले गाईजात्रा पर्वलाई हरेक वर्ष यसरी नै मनाउने गरी हलिं नेवाः गुथीले पहिलो पटक कार्यक्रम आयोजना गरेको संयोजक प्रताप ताम्राकारले बताए । अध्यक्ष रामकृष्ण श्रेष्ठले पनौतीको ईतिहास र सँस्कृति बचाउन निरन्तर संस्था सक्रिय हुने बताए । 
    गाईजात्राको अवसरमा बनेपा, धुलिखेल, चौकोट, दोलालघाट तथा विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएका छन् भने ब्यक्तिगत रुपमा परिवारका सदस्यहरुको निधन भएको परिवारले पनि विविध कार्यक्रमका साथ गाईजात्रा मनाएका छन् ।