मोतीराम तिमल्सिना
धुलिखेल
तथ्याङ्क सुन्दै डरलाग्दा घटना हुन थाले पछि जुर्मुराउने पर्ने निकाय अझै उठ्न सकेका छैनन् । प्रहरी सचेतना बोकेर विद्यालय प्रवेश गरेको छ स्थानीय सरकार मुकदर्शक छन् । जिल्लाका हरेक निकाय ब्यक्ति ब्यक्तिको स्वास्थ्य अवस्था बुझ्दै मनोपरामर्शमा जुट्ने समय आएको मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीले बताए ।
दिन दिन अप्रत्यासित रुपमा ब्यक्तिहरु मरेका खबरले समुदायमा त्रास फैलन थालेको छ । त्रास न्यूनकिरण गर्न समुदाय जुर्मुराउन थालेका छ । ‘ब्यक्ति ब्यक्तिमा मानसिक समस्या देखिन थालेको छ । यसका कारण थुप्रै छन् । मानसिक समस्यालाई समाधान गर्ने गरी स्थानीय सरकारले अलग्गै कार्यक्रम संचालन गर्नुपर्छ’– पाटन अस्पतालका निर्देशक मानसिक रोग विशेषज्ञ डा.अनन्त अधिकारीले भने–‘मानसिक रोगको उपचार र परिक्षणका लागि हरेक पालिका स्तरमा अस्पताल संचालनमा ल्याउनु पर्छ ।’ जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय र केहि स्थानीय तहले सचेतनामुलक कार्यक्रम शुरु गरेका छन् । ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले जिल्लाका सबै नीजि र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उत्प्रेरणा दिन शुरु गरिएको बताएका छन् । महामारीजन्य रुपमा फैलन थालेको आत्महत्या न्यूनीकरणमा स्थानीय सरकार चुपचाप छन् ।
मुलुक र विश्वमै प्रविधिको विकसित रुपका कारण ब्यक्ति एक्लो हुँदैछ । समाज, समुदाय र परिवारबाट एक्लो महसुस हुन थालेको ब्यक्तिलाई सम्झाउने, बुझाउने र पारिवारीक घुलमिलमा रमाउन दिने वातावरण विस्तारै हराउँदै गएको मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारी बताउनु हुन्छ । अनन्तका अनुसार पछिल्लो सर्भेक्षणले १ सय जना ब्यक्तिमा ५० प्रतिशत ब्यक्ति कुनै न कुनै मानसिक समस्याले ग्रसित छन । महामारीजन्य मानसिक रोगको न्यूनिकरण, रोकथाम र त्यस बारेमा जनचेतना जगाउन संचारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ । तर राज्यका निकायले नै मानसिक स्वास्थ्यलाई आवश्यकताका आधारमा प्राथमिकतामा नराखेका कारण नागरिकहरु रोग लुकाउन बाध्य छन् । रोग लुकाएकै कारण मानसिक रोग विस्फोटन हुँदा आत्महत्यासम्म पुग्ने गरेको चिकित्सकहरुले बताएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को एक वर्षमा ९० जनाले आत्महत्या गरेको तथ्याङ्कमा २० जना पारिवारीक बेमेलका कारण छन् । १६ जना मानसिक रोगका कारण र १२ जनाले मानसिक असन्तुलनका कारण आत्महत्या गरेका छन् । आवेगमा आउँदा १० जनाले आत्महत्या गरे भने प्रेममा धोका पाएका कारण १२ जनाले आत्महत्या गरेका छन् । गरिबी, ब्यवसायीक तनाव, असफलता, बेरोजगार र अन्य कारणमा ब्यक्तिले ज्यान गुमाउन थाले पनि राज्यले गरिबी न्यूनिकरण, रोजगार सिर्जनाको अवसर र ब्यवासीयक सहजताका लागि काम गरेको छैन । जसका कारण नागरिकहरुले हरेक दिन ज्यान गुमाउने गरेका छन् ।
कस्तो छ काभ्रेको अवस्था ?
काभ्रेपलाञ्चोक जिल्लामा १० वर्षको अवधीमा १ हजार १२ जनाले आत्महत्याका कारण ज्यान गुमाउन पुगेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो वर्ष २२ जनाको संख्या कम हो । तर यो संख्या आर्थिक वर्ष २०८०/०८१ मा बढ्ने संकेत देखिएको छ । पहिलो महिना साउनमा १२ जनाले आत्महत्या गरेकोमा भाद्र महिनाको पहिलो सातामै १० जनाले आत्महत्या गरिसकेका छन् । त्यसमा पनि बालबालिकाहरुको दर धेरै छ ।
आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा धेरै फागुन महिनामा १३ जनाले आत्महत्या गरे भने जेष्ठ महिनामा १२ जनाले आत्महत्या गरे । सबैभन्दा कम माघ महिनामा २ जनाले आत्महत्या गरेका थिए । तथ्याङ्कका आधारमा शुक्रबार धेरै आत्महत्या हुने गरेको छ । बुधबार ७ जनाले आत्महत्या गर्दा शुक्रबार २१ जनाले आत्महत्या गरेका छन् । मर्नेहरुले दिउँसो १२ बजे देखि साँझ ६ बजेसम्मको समय रोज्ने गरेका छन् । यो समयमा ४२ जनाले आत्महत्या गरे । पेशाका आधारमा सबैभन्दा धेरै ४५ जना कृषकले आत्महत्या गरेका छन् । समयमा मल विउ नपाउनु, पाए पनि महङ्गो हुनु, उत्पादन भएका सामानहरुले उचित मुल्य नपाउनु तथा कृषिबाट पारिवारीक समस्या समाधान गर्न नसक्ने भए पछि आत्महत्या गरेको हुन सक्ने विश्लेषण गरिएको छ । ज्यामी मजदुरी गर्ने २५ जना, ब्यापारी ६ जना, गृहिणी ५ जना, विद्यार्थी ७ जनाले आत्महत्या गरेका छन् । विद्यार्थीहरुमा पनि नैराश्यता बढ्न थालेको छ । ब्यवसायमा असफलता हुन थाले पछि ब्यवसायीहरुले पनि आत्महत्या गरेका छन् । १० वर्ष तलका एक जनाले आत्महत्या गरेका छन् भने आत्महत्या गर्नेहरु मध्ये ३६ देखि ४५ वर्ष उमेर समुहका नागरिक छन् । २६ जना ब्यक्ति त्यो उमेर समुहका छन् । त्यस पछि १८ देखि २५ वर्ष उमेर समुहका १९ जना छन् ।
आत्महत्या गर्नेहरुमा बाहुन क्षेत्री २४ जना छन् । ५२ जना आदिबासी जनजाती समुहका छन् । १३ जना दलित समुदायका नागरिकले आत्महत्या गरेका छन् । मर्नेहरुमा पहिला महिला धेरै हुने गरेको भए पनि अहिले पुरुष धेरै छन् । ३२ जना महिला र ५८ जना पुरुष छन् । शैक्षिक योग्यताका आधारमा साधारण लेखपढ गर्ने ५७ जना छन् । एसईई पास गर्ने २४ जना, आईए गर्नेहरु ६ जना, विए अध्ययन गर्ने २ जना र मास्र्टस डिग्री अध्ययन गरेका १ जनाले आत्महत्या गरेका छन् । विष सेवन गर्नेहरुको संख्या गत वर्षहरु भन्दा कम भएको छ । विष सेवन गर्नेहरु १५ जना र झुण्डिएर मर्नेहरुको संख्या ७५ छ । काभ्रेका यो वर्ष खानीखोला बाहेक १३ वटै पालिकामा आत्महत्याका घटना भए । बनेपामा १७, रोशीमा ११, पनौतीमा ९, भुम्लुमा ६, नमोबुद्धमा ८, पाँचखालमा १५, मण्डनदेउपुरमा २, धुलिखेलमा ९, बेथान्चोकमा ७, तेमालमा ३, चौरीदेउरालीमा २ र महाभारतमा १ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ को प्रारम्भको साउन महिनामा १२ जना र भाद्र महिनाको ६ गतेसम्म १० जनाले आत्महत्या गरेका छन् । महिला १० र पुरुष २२ जना छन् । १८ वर्ष भन्दा कम उमेरका ६ जना, १८ देखि २४ वर्षसम्मका ८ जना र २५ देखि ४५ वर्षसम्मका ३ जना र ४५ वर्ष भन्दा माथीका ५ जना छन् । यो आर्थिक वर्षमा खानिखोला, महाभारत, तेमाल र चौरीदेउराली गाउँपालिकामा आत्महत्याका घटना भएका छैनन् ।
जुर्मुराउँदै समुदाय
मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले स्वस्थ्य कार्यालयले काभ्रेपलाञ्चोकले जिल्ला जनस्वास्थ्य समन्वय समितिको बैठकको अवसर पारी सरोकारवालाहरुसँग बृहत्त छलफल र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । बनेपामा पनि विभिन्न संघ संस्थाहरुले आत्महत्या न्यूनीकरणमा चासो र सक्रियता बढाएका छन् । प्रहरीले पनि मातहतका कार्यालयहरु मार्फत विद्यालय र समुदायमा आत्महत्या न्यूनीकरण सम्वन्धि जनचेतना मुलक कार्यक्रम गरिरहेको छ । तर पनि दैनिक रुपमा ब्यक्तिले आफ्नो हत्या आफै गरेका छन् ।
तथ्याङ्कमा आर्थिक वर्ष २०७८/०७९ मा भन्दा २२ जना कम अथार्त आर्थिक वर्ष २०७९/०८० मा ९० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को ४० दिन नपुग्दै २२ जनाले आत्महत्या गरे पछि त्यसको न्यूनीकरणका लागि मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणमा सबै पक्षको उत्तिक्कै भूमिकाका लागि बृहत्त छलफल गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईले बताए । छलफल कार्यक्रममा डा. सेढाईले जिल्लामा भएका आत्महत्यासम्बन्धी तीन वर्षे तथ्याङ्क विश्लेषण सहित प्रस्तुत गरेका थिए । आत्महत्याको संख्या, पालिकागत अवस्था, उमेर, लिङ्ग, पेशा, समय, बार, महिनाका आधारमा जिल्लामा भएका घटना, त्यसको न्यूनीकरणका लागि भएका प्रयास र अवस्थाका बारेमा जानकारी गराएका थिए ।
धुलिखेल अस्पताल इमरेजेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले अस्पतालमा आत्महत्याको प्रयास गरेर इमरेजेन्सी विभागमा भर्ना भएका मध्ये केहि बाहेक अधिकांशलाई बचाउन सकिएको बताए । विष सेवन गरेका समयमै अस्पताल ल्याउँदा तथा विषको मात्रा र अवस्थाका आधारमा विरामीलाई उपचार गर्न सहज भए पनि त्यस पछिको अवस्थाका बारेमा विभिन्न विभागका चिकित्सकहरुको भूमिका हुने डा. सानुकृष्ण श्रेष्ठले बताए । एकपटक आत्महत्याको प्रयास गरेको ब्यक्तिले ३ देखि १० वर्षको बीचमा पुनः आत्महत्याको प्रयास गरेको उनले बताए । सोहि कार्यक्रममा धुलिखेल अस्पतालले गरिरहेको रिसर्चका बारेमा रेनु श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेकी थिईन् । धेरै विरामीहरुले मर्न चाहनुको कारण भन्न अन्कनाउने गरेको उनले बताईन् । शिर मेमोरियल अस्पतालकी मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले विष सेवन गरेर मर्नेहरुको संख्या केहि वर्ष अघिसम्म धेरै भए पनि पछिल्लो समयमा झुण्डिएर आत्महत्या गर्नेहरु धेरै भएको बताईन् । विष सेवन गर्नेहरु मध्ये अधिकांशलाई बचाउन प्रयास गरिए पनि त्यसले शरीरका भित्री भागहरुलाई पु-याउने असर र त्यसबाट जोगिन पहिलो प्रयास हुने भए पनि आत्महत्याका लागि तयार भएको ब्यक्तिलाई पहिलाकै अवस्थामा फर्काउन कठिन भएको बताईन् ।
कार्यक्रममा धुलिखेल अस्पतालमा कार्यरत फरेन्सिक डा. पंकजकुमार शाहले परिवारका सदस्य वा नजिकका आफन्तले गरेको आत्महत्या पछि अर्काे घटना हुने गरेको बताए । आत्महत्या गरेका ब्यक्तिहरुको केहि बाहेक अधिकांशको प्रकृया मात्रै पुरा गरेकाले त्यसको ब्यवस्थापनमा अझै ध्यान दिनु पर्ने बताए । आत्महत्या गर्नेहरु मध्ये पोस्टमार्टम गरिएकाहरुको आधारमा गरिएको प्रारम्भिक अनुसन्धानले त्यसको सम्बन्धहरु केलाउँदै जाँदा पहिला धेरै पटक प्रयास गरेको, आफन्त वा परिवारका सदस्यहरुले १० वर्ष भित्रको अवधीमा आत्महत्या गरिसकेको देखिएको डा.पंकजकुमार शाहले बताए । महिला भन्दा पुरुषहरु धेरै आत्महत्यामा संलग्न हुने गरेकाले पुरुषहरुलाई समाज र समुदाय अर्थात कानूनले पनि पछिल्लो समयमा जिम्मेवारी, दायित्व भन्दा पर गएर अनिवार्य र जर्बजस्ति लाद्न बाध्य गरेकाले आत्महत्या धेरै हुन थालेको उनको निश्कर्ष छ । कार्यक्रममा पाटन मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारीले मानसिक समस्या भयावह हुँदै गएकाले त्यसको न्यूनिकरणका लागि समयमै उपचार, मनोपरामर्श र मानसिक स्वास्थ्यको परिक्षण गर्ने अभियानमा सबै सक्रिय हुनु पर्ने बताए । कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरु, पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागि थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संचारकर्मी मधुसुदन गुरागाई, धुलिखेल स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्य कार्यालयका दिपेन्द्र श्रेष्ठ लगायतले जिल्लाको समग्र अवस्थामा सरोकारवाला निकायले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।






