नागरिकता पाएको खुशीले प्रशासन कार्यालयमा नागरिकले गरे जुस र चकलेट वितरण
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बाबु पहिचान हुन नसकेका नागरिकलाई आमाको नामबाट मावलीको थरका आधारमा नागरिकता उपलब्ध गराएको छ । बुधबार तीन जना नागरिकले बाबु पहिचान नभएको भन्दै आमाले गरेको स्वघोषणाका आधारमा नागरिकता प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकता हस्तान्तरण गर्दै उज्वल भविश्यको कामना गर्नु भयो ।
साविक बनेपा १ हाल बनेपा ५ घर भएकी १९ बर्षिया रिमा र १७ बर्षिया टिना कपालीले नागकिता प्राप्त गरेको खुशियालीमा एक कार्टुन जुस र चकलेट वितरण गरे । ‘७ पटक जति धाएँ । नागरिकता लिन बाबुको नाम चाहिन्छ भन्दै फर्काउनु भयो’–टिना कपालीले भन्नुभयो–‘नागरिकता पाउँदा खुशीको सिमा रहेन ।’ २१ वर्ष अघि टिना र रिमाकी आमा हिरामाया काठमाडौमा फर्निचरमा काम गर्दा गर्दै अपरिचत ब्यक्तिसँग प्रेम बसेको थियो । सामान्य लेखपढ समेत नगरेकी हिरामाया कपालीलाई दुई सन्तान छाडेर श्रीमान बेपत्ता भए । नाम र ठेगाना समेत थाहा नपाएकी हिरामाया त्यस लगत्तै माईतीमा आई बस्न थाल्नु भयो । बाबु विते पछि आमाको स्याहार सुसार र दुई छोरीको रेखदेख गरिरहेकी हिरामायालाई पोईल गएकी छोरी माईत बसेर राँईदाई गरेको भन्दै बचन लगाउँदा पनि नकुँडिएको मन दुई छोरीले नागरिकता नपाएर अध्ययन गर्न नपाउँदा कुँडियो । जेठी छोरी रिमाले +२ सम्मको अध्ययन सकेर काठमाडौमा आफन्तकोमा बसेर थप अध्ययन गरिरहेकी छिन् भने बाँकी रहेको समयमा रेस्टुरेन्टमा काम गरिहेकी छिन् । नागरिकता नभएकै कारण संघ संस्थामा जागिर खान नपाएको, अध्ययनका लागि समस्या भएको र बैकमा खाता खोल्न समेत नसकेको पीडा त छँदै थियो बाबुकै पहिचान नभएकाले नागरिकता प्राप्त गर्न नसकेको भन्ने शब्दले विजिरहेको थियो । कान्छि छोरी टिनाले नर्सिङ्ग विषय लिएर अध्ययन गर्न खोजे पनि सम्भव भएन । नर्सिङ्ग विषय अध्ययन गर्न नपाए पिछ टिनाले विषय मोडिन । सम्झन्छिन भाग्य पनि मोडियो कि ? नागरिकता प्राप्ती पछि खुशीले गद्गद् भएको टिनाले बताईन् ।
् रिमा र टिना जस्तै मण्डनदेउपुर नगरपालिका ७ का सुशान श्रेष्ठले पनि नागरिकता नपाएकै कारण जीवनमा प्राप्त गर्ने धेरै अवसर गुमाउन पुग्नु भयो । कक्षा १२ अध्ययन सकेर पनि प्रमाणपत्र समेत कलेजले रोकेर राखेपछि भौतारिएका श्रेष्ठले एनजिओमा जागिर खान पाएनन् । ब्याचलर तहको अध्ययन गर्ने अवसर गुमाए । ‘अध्ययन गर्नु पर्ने समयमा अवसर नपाए पछि अब विदेशिनुको विकल्प छैन’– सुशान श्रेष्ठले भन्नुभयो–‘नेपालमा अवसर छैन । रोजगार छैन । नागरिकता प्राप्त भयो अब विदेश जान्छु ।’ सुशान श्रेष्ठकी आमा माईली काठमाडौको बालकुमारीमा सामान्य चिया पसल गर्दै आउनु भएको छ । धेरै अघि रोजगारका लागि राजधानी जानु भएकी माईलीको अपरिचित ब्यक्तिसँग सम्वन्ध बस्यो । सुशासन पेटमा आए लगत्तै उनी बेपत्ता भए । त्यस पछि एक्लै संर्घष गर्दै आएकी माईलीलाई हौसला दिदै छोरा सुशासनले भने–‘आमाको के दोष ? समयको खेल हो । नागरिकता प्राप्त भयो अब भविश्य उज्जवल बनाउँछौं ।’ सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले यस अघि जन्मको आधारमा नागरिकता प्राप्त गर्ने बाबुका सन्तानलाई नागरिकता वितरण शुरु गरिएको बताउनु भयो ।






