– चौतारीको पदयात्रा र बृक्षारोपण
– अनेरास्ववियुको रक्तदान र निवन्ध प्रतियोगिता
बनेपा/जननेता मदन भण्डारीको ७२ औ जन्म जयन्तिको अवसर पारेर काभ्रेमा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रेस चौतारी नेपालले बृक्षारोपण, पदयात्रा तथा कविता बाचन गरेको छ भने अनेरास्ववियुले खुल्ला रक्तदान आयोजना गरेको छ ।
बनेपाको चण्डेश्वरी देखि गोसाईस्थानसम्म निर्माण गरिएको १ हजार ६ सय सिँढीमा पदयात्रा आयोजना गरिएको अध्यक्ष भुवन रायमाझीले बताउनु भयो । ‘मदन जयन्तीका अवसरमा पदयात्रा, कविता बाचन र बृक्षारोपण आयोजना गरिएको छ’–अध्यक्ष रायमाझीले भन्नुभयो–‘मदनका विचार र सन्देशहरु आम नागरिकहरुका लागि प्रवाह गर्न जन्म जयन्तीका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको हो ।’ पदयात्रा र बृक्षारोपण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटा लगायतका नेताहरु सहभागि थिए । कार्यक्रममा बोल्दै नेता बास्कोटाले नेपालको राजनीति, कम्युनिष्ट आन्दोलन र नागरिकहरुसँग राजनीतिक दल र नेताहरुको सम्वन्धका बारेमा मदन भण्डारीले दिनु भएका सन्देशहरु महत्वपूर्ण भएको बताउँदै तिनै सन्देश र मदन भण्डारीले उत्पादन गर्नु भएको जनताको बहुदलिय जनबादलाई ब्यवहारमा उतार्ने गरी पार्टी कमिटीहरु परिचालन गरिएको बताउनु भयो । कार्यक्रममा एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उपसचिवद्धय राजकुमार सापकोटा र रिता ढकाल, एमाले जिल्ला कमिटी सचिवालय सदस्यहरु, एमाले निकट भातृ संगठनका पदाधिकारीहरु, प्रेस चौतारीका सदस्यहरुको सहभागिता रहेको थियो । बनेपामा रहेको नैमिशारन्य परिसरमा विभिन्न जातका विरुवाहरुको रोपण गरिएको थियो भने नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष भोजराज तिमल्सिना, पत्रकार सुकदेव थपलिया लगायतले कविता बाचन गरेका थिए ।






