– अपाङ्गता भएकालाई मासिक ५ हजार
– ११ महिना १६ दिनमा २ सय ८९ दुर्घटनामा ५४ को मृत्यु
पनौती/बागमती टिपर ब्यवसायी संघ काभ्रेपलाञ्चोकले वर्षभरी दुर्घटना नगराउने चालकहरु मध्येबाट गोलाप्रथाद्वारा दश जना चालकलाई पुरस्कृत गरिएको छ । संस्थाले तोकेको अवधीमा नियमित नविकरण गरिरहेका ५७ चालकहरु मध्येबाट १० जनालाई विभिन्न पुरस्कृत गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाको संयोजनमा बामगती टिपर ब्यवसायी संघले चालक सहचालकहरुलाई अनुशिक्षण तथा दुर्घटना न्यूनिकरण सम्वन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरेको हो । पुरस्कृत चालकहरुलाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, संस्थाका अध्यक्ष सुरेश खत्री, नेपाल ट्रक तथा टिपर ब्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद पन्त, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी ढुण्डीराज न्यौपाने, आईजिआई प्रोडेन्सीयल विमा कम्पनीका कार्यकारी अधिकृत युगेशभक्त बादे लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । गोलाप्रथाबाट बा ०१००४ क १६२१ नम्वरका चालक टेकराज बास्तोलाले वासिङ्ग मेशिन प्राप्त गर्नु भयो । त्यस्तै वा ०१००४ क १७५९ नम्वरका चालक रामबहादुर गोलेले इण्डक्सन चुल्हो प्राप्त गर्नु भयो भने बा ३ ख ४५८२ नम्वरका चालक तुलबहादुर श्रेष्ठले पंखा प्राप्त गर्नु भयो । अन्य ९ जना चालक सरोज पराजुली, सनकबहादुर थापा मगर, त्रिर्थबहादुर माझी, कृष्णबहादुर श्रेष्ठ, पुर्णबहादुर राई, शान्तिकुमार लामा, शम्भु मोक्तान, सुरेन्द्र श्रेष्ठ र थरबहादुर थापा मगरलाई एक वर्षको ५ लाख रुपैयाको दुर्घटना विमा उपलब्ध गराईएको छ । विमा कम्पनीका कार्यकारी अधिकृत युगेशभक्त बादेले बागमती टिपर ब्यवसायी संघ मार्फत गोला प्रथाबाट छानिएका चालकहरुलाई निशुल्क दुर्घटना विमा गराउने घोषणा गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले दुर्घटना न्यूनीकरणका लागि बागमती टिपर ब्यवसायी संघले प्रहरी प्रशासनसँगको समन्वय र सहकार्यमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । ‘संघले ब्यवसाय मात्रै गरेको भए पनि हुन्थ्यो होला तर सामाजिक उत्तरदायित्व बहन गर्दै ब्यवसायलाई मर्यादित बनाउँदै नागरिकहरुको सुरक्षा समेतलाई ध्यान दिदै दुर्घटना न्यूनीकरणका लागि प्रशिक्षण र पुरस्कृत गर्ने कार्य महत्वपुर्ण र स्वागतयोग्य छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘चालकहरु सचेत हुँदा धेरै दुर्घटना कम हुन सक्छ । सडक अनुशासन र सडकमा पैदलयात्रीका साथै अन्य सवारी साधनहरु पनि हिडिरहेका हुन्छन भन्ने कुराको चेत चालकलाई हुँदा दुर्घटना रोक्न सकिन्छ ।’ बागमती टिपर ब्यवसायी संघले आगामी दिनमा पनि चालक र सहचालकहरुको दुर्घटना न्यूनीकरण गराउन आयोजना गर्ने सचेतीकरणलाई निरन्तरता दिन प्रमुख जिल्ला अधिकारी पौडेलले अनुरोध गर्नु भयो । कार्यक्रममा निमित्त प्रहरी प्रमुख डिएस्पी ढुण्डीराज न्यौपानेले सडक दुर्घटना चालकको लार्पवाहीका साथै अन्य विविध कारणबाट हुने गरेको भए पनि टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि भएका प्रयास सकारात्मक रहेको बताउनु भयो । चालु वर्षको साढे ११ महिना १६ दिनमा काभ्रेपलाञ्चोक जिल्लामा २ सय ८९ वटा सवारी दुर्घटनामा ४ सय ७७ वटा सवारी संलग्न भए । जसमा १९ जना चालक, २६ जना यात्रु र १४ जना पैदलयात्रुको निधन भएको छ भने १ सय ७० जना चालक र सहचालक, २ सय ८४ यात्रु र ५४ जना पैदलयात्रु घाईते भएका छन् । प्रहरीले दुर्घटनाका ५८ वटा मुद्दा दर्ता गरेको डिएस्पी न्यौपानेले बताउनु भयो । कार्यक्रममा नेपाल ट्रक तथा टिपर ब्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद पन्तले दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष सक्रिय हुनु पर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले सडक दुर्घटना न्यूनीकरण गर्न हरेक वर्ष चालक र सहचालकहरुलाई दिईएको प्रशिक्षण महत्वपूर्ण भएको बताउनु भयो ।
‘दुर्घटना नगराउने चालकहरुलाई सम्मान गर्ने तथा हौसला प्रदान गरी सडक दुर्घटना न्यूनीकरण तथा सचेतना अभियानलाई तिब्र बनाउन चालक सम्मान कार्यक्रम अघिल्लो वर्षबाट शुरु गरेका हौं’–बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘चालकहरु प्रशिक्षित नहुँदासम्म दुर्घटना न्यूनीकरण सम्भव छैन । चालक र सहचालकहरुलाई हरेक वर्ष संघले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय मार्फत सचेतना कार्यक्रम संचालन गर्दै आएका छौं ।’ पनौतीमा आयोजित कार्यक्रममा चालक सहचालकहरुलाई अनुशिक्षण तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना आवश्यक रहेको निश्कर्ष निकाल्दै संघले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गरिएको बरिष्ठ उपाध्यक्ष नविन बैद्यले बताउनु भयो ।
कार्यक्रममा संस्थाका सचिव राजेश खत्रीले संघले हरेक वर्ष आयोजना गर्ने यस्ता कार्यक्रमहरुले मजदुर, ब्यवसायी र नागरिकरुलाई लाभ मिल्ने बताउनु भयो । अघिल्लो वर्ष पाँचखालमा आयोजना गरिएको कार्यक्रममा दुर्घटना नगराउने चालकलाई ५५ इन्चको टिभी उपलब्ध गराएको थियो । संघले दुर्घटनाबाट घाईते भई जीवनभर अपाङ्गता भएर बाँच्नुपर्ने अवस्थाका ब्यक्तिलाई मासिक ५ हजार उपलब्ध गराउन शुरु गरेको छ ।






