2026 September 01/ 03:49: 02am

– सहकारी फुटाएर चार वर्ष जेल बसेकाहरुले लुटेका थिए पनौतीको सामुदायिक ।
– प्रहरीले यसरी पायो सफलता । 
– भकुण्डे, धुलिखेल, बनेपा लगायतका स्थानमा रेकी गरे पछि भिडभाड र धेरै पैसा भएको थाहा पाए पछि परेको थियो सामुदायिक । 
–    पक्राउ परेका चारैजना थुनामा ।

मोतीराम तिमल्सिना
धुलिखेल

    पनौतीको सामुदायिक सहकारी चोरीमा संलग्नहरुले अदालतमा बयान दिईरहेका छन् । प्रहरीको सुक्ष्म अनुसन्धान पछि चोरीमा संलग्नको पहिचान भई नगद सहित उनिहरु पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरेको थियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकले पक्राउ परेका चारैजनालाई थुनामा पठाउने आदेश दिएको छ ।
    श्रेष्तेदार उपसचिव गोविन्द घिमिरेका अनुसार चोरीमा संलग्न भएका चार जनालाई थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ भने फरार दुईजनालाई पक्राउका लागि म्याद जारी गरेको छ । पक्राउ परेका मध्ये चार जनाले साबिती बयान दिएका छन् । दुई फरार छन् । पक्राउ परेका मध्येका केहिले अघिल्लो पटक पनि सहकारी लुटेर पक्राउ परी जेल जीवन समेत विताईसकेकाले फेरी चाँडै धनी बन्ने योजनाका साथ रेकिको क्रममा सामुदायिक सहकारीमा चोरी गरेको बयान दिएका छन् । चोरीमा दाजुभाई र ससुरा संलग्न छन् भने सहयोगका लागि उनिहरुले अन्यको प्रयोग गरेका छन् । प्रहरीले सहकारीले उपलब्ध गराएको सिसी क्यामेराको रेकर्डेड हार्डडिक्स तथा अन्य माध्यमबाट चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको थियो । इलाका बनेपा र जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो । यसअघि काभ्रेको बेथान्चोकमा नारी चेतना सहकारी चोरी भएको घटनामा संलग्नहरु भने अझै फेला परेका छैनन् । 

घटना के हो ? 
कसरी मिल्यो प्रहरीलाई सफलता 

    काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नम्वर ४ टौखाल स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा २०८० साल बैशाख १८ गतेका दिन लेनदेन कारोबार भए बमोजिम जम्मा हुन आएको सदस्यहरुको रकम ३१ लाख ४९ हजार ५ सय २६ रुपैयाँ नगद कक्षमा कार्यरत प्रदिप श्रेष्ठले संस्थाकै भवन भित्र रहेको भल्ट रुमको सेफ भित्र राख्नु भएको थियो । दिउँसो २ः३० बजेको समयमा सेफमा लक लगाई काउन्टरमै गई कार्यालय बन्द गरी सेफको लकको साँचो प्रदिप श्रेष्ठले नै लगेका थिए । भल्ट रुमको चेन गेट, खापा गेट र काउन्टरको गेट बन्द गरी ताला लगाई सोहि तल्लाको मुख्य ढोका समेत बन्द गरी ताला लगाई प्रदिप श्रेष्ठ लगायतका कर्मचारी घर गएका थिए । उक्त कार्यालयमा सुरक्षा दिई आएका सुरक्षा गार्ड बिनय तिमल्सिनाले सुरक्षा दिईरहेको अवस्थामा अपरिचित ५ जनाको समुह अचानक २०८० बैशाख १९ गते बिहान राती अन्दाजी १ः२० बजेको समयमा सहकारीमा राखिएको रकम चोरी तथा डाँका गर्ने उद्देश्यका साथ प्रवेश गरेका थिए । 
    चोरीमा प्रयोग गर्ने औजारहरु खुकुरी, ग्याँस गन समेतका औजारहरु साथमा लिई संस्थाको परिसर भित्र रहेको गार्ड बस्दै आएको कोठाको ढोकाको चुकुल तोडी गार्ड रहेको कोठामा प्रवेश गरेका थिए । खुकुरी लगायतका हात हतियार देखाई चल्न चटपटाउन उम्कन नदिई गार्डलाई डर त्रासमा पारी मुखमा सेलो टेप लगाई बोल्न नदिई मुख थुनी गार्डको दुबै हात पछाडी लगि हात सोही सेलो टेपले बाँधी सोही गार्ड बस्दै आएको कोठामा रहेको कुर्सीमा गार्डलाई राखी कुर्सी र गार्ड समेतलाई पुनः टेपले बाँधी उम्कन दिएका थिएनन् । उक्त कोठाबाट निस्किई संस्थाको मुल ढोकाको चेन गेटको ताला तोडी संस्थाको भवन भित्र पसी पुनः संस्थाको भित्र रहेको चेन गेटको ताला तोडी पहिलो तल्लामा गई सोहि तल्लामा रहेको उत्तर तर्फको ढोकाको ताला फोडी संस्थाको काउन्टरमा गई काउन्टरको उत्तरतर्फ रहेको भल्ट रुमको ढोकाको ताला फोडी पुनः सोही रुममा जाने चेन गेटको ताला तोडी नगद राखिएको स्थानमा पुगी नगद राखिएको सेफको लक ग्याँस गनले काटी सेफमा रहेको नगद चोरी तथा डाँका गरी लगेका थिए । संस्थाको सुरक्षाको लागि राखिएको सि.सि.क्यामरा रेकर्ड हुने डि.भी.आर. र सुरक्षा गार्डको मोबाईल सेट समेत लगेको साथै गार्ड बस्दै आएको कोठाको ढोकाको बाहिरी चुकुल बाहिरबाट लगाई घटना घटाई गएपछि सुरक्षा गार्डले मुखमा लगाएको टेप मुख चलाई टेप मुखबाट सरेपछि सुरक्षा गार्ड चिच्याई गुहार मागीरँहदा सोही भवनसँगैका स्थानीयहरुले थाहा पाएका थिए । स्थानीयहरुले गार्ड बसेको कोठाको चुकुल खोली भित्र गए पछि सुरक्षा गार्डलाई लगाएको टेप खोली के भयो भनी सोधेका थिए । गार्डका अनुसार ५÷६ जनाका समूहमा आएका मानिसले मुखमा मास्क लगाई टाउकोमा क्याप लगाई खुकुरी बोकी आएका समूहले मलाई गरेको घटनाका बारेमा जानकारी गराएका थिए । तत्काल प्रहरीले खबर पाए लगत्तै पुगेको प्रहरी चौकी पनौती, ईलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले थप सहयोग माग गरेर अनुसन्धान गरेको थियो । संस्थाका तर्फबाट सोहि ब्यहोराको जाहेरी दर्ता गरिएको थियो । चोरी भएको नगद तथा सम्पत्ति दिलाई भराई पाउन संस्थाको तर्फबाट सिसी क्यामेरामा कैद भएको घटनाको दृष्य हार्ड ड्राईभबाट देखिएको थियो । सोहि हार्ड ड्राईभबाट प्रहरीले थप अनुसन्धान गरेर चोरी र डाँका गर्नेहरुको पहिचान खुलेको थियो । प्रहरीको अथक मेहनत र गहिरो अनुसन्धानले उक्त घटना पत्ता लागेको थियो । संस्थाको तर्फबाट सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले प्रहरीकोमा जाहेरी दरखास्त दिएका थिए । 
    प्रहरीले अमृत थिङलाई जेठ १ गते राती १ बजे काठमाण्डौ चन्द्रागिरीस्थित सतुंगलबाट, गम्भीर भन्ने सोमलाल थिङलाई पनि सोहि दिन राति काठमाण्डौ चन्द्रागिरी स्थित स्याङजाली चोकबाट  अशोक रुम्बालाई सोही दिन बिहान ४ बजेको समयमा मकवानपुर जिल्ला ईन्द्रसरोवर गाउँपालिका ५ फाखेलस्थित निजकै घरबाट तथा अकबर भन्ने अगबर लामालाई सोही दिन बिहान ४ः३० बजेको समयमा उनकै घर इन्द्रसरोबारबाट पक्राउ गरेको थियो । 

को को संलग्न थिए ? 
चार पक्राउ, दुई फरार

    घटनामा मकवानपुर जिल्ला साविक फाखेल गा.वि.स.वडा नम्वर ५ हाल ईन्द्रसरोवर गाउँपालिका ५ स्थित कोदोखोरिया टोल बस्ने २८ बर्षिय गम्बिर भन्ने सोमलाल थिङ, सोहि जिल्ला साविक फाखेल गा.बि.स.वडा नम्वर ७ हाल ईन्द्रसरोवर ५ का मधुवन टोल बस्ने ३७ बर्षिय अगवर लामा, मकवानपुर जिल्ला साविक फाखेल गा.बि.स.वडा नम्वर ६ हाल ईन्द्रसरोवर ५ मधुवन बस्ने ३० वर्षिय अशोक रुम्बा र मकवानपुर जिल्लाकै साविक फाखेल गा.बि.स.वडा नम्वर ५ हाल ईन्द्रसरोवर गाउँपालिका ५ कोदोखोरिया टोल बस्ने २४ वर्षिय अमृत थिङ पक्राउ परेका छन् । घटनामा संलग्न सोहि ठेगानाका ४४ बर्षिय कृष्ण रुम्बा भन्ने कृष्णराज लामा र ३२ बर्षीय संजीव रुम्बा भन्ने सञ्जीव कुमार लामा फरार छन् । एउटै टोलका नाताले आफन्त समेत पर्ने समुहबाट उक्त घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

के भन्छन् चोरीमा संलग्नहरु ? 
     चोरी घटनामा संलग्नहरुले एक अर्कालाई राम्रोसँग चिन्ने बताएका छन् । प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतमा गरेको बयान अनुसार उनिहरु सबै जना एक अर्कामा चिनजान भएको अनुसन्धान र बयानबाट खुलेको छ । 
    घटनाको केहि दिन अघि सञ्जीव रुम्बा भन्ने सञ्जीव कुमार लामाले अगबर लामालाई फोन गरेका थिए । अशोक लामाले पनि २०८० बैशाख १८ गते फेरी अगबरलाई नै फोन गरी तिमी सँंग काम छ भनेर बोलाएका थिग । कृष्ण, सञ्जीवहरुले बोलाएको छ पनौती तिर सहकारी चोरी गर्ने भनेका छन त्यहाँ धेरै पैसा धेरै हुन्छ रे सबैले मिलेर काम गर्दा राम्रो पैसा हुन्छ जाउँ भनेका थिए । त्यसपछि अशोक र अगबर समेत सोही दिन चितवनको पुलचोक हुँदै मुग्लिङबाट साँझ ५ बजे तिर काठमाडौको सतुङ्गलमा आई गम्बिर भन्ने सोमलाल थिङ, कृष्ण रुम्बा भन्ने कृष्णराज लामा, सञ्जीव रुम्बा भन्ने सञ्जीव कुमार लामासँग सम्पर्क गरेका थिए । कृष्णराज, संजिव कुमार र गम्बिर भन्ने सोमलाल समेतले हामी सबैजना काभ्रेपलाञ्चोक जिल्लाको पनौती भन्ने स्थानमा सहकारी देखेर आएका छौ सहकारी तोडफोड गरी पैसा लुट्नु पर्छ सबैले मिलेर काम गर्ने हो, चोरी गरी ल्याएको सबै पैसा मिलेर बाँड्नु पर्छ भनेर आश्वासन दिएका थिए । अमृत थिङलाई पनि सो कुरामा जानकारी गराएका थिए । उनी काम बिशेषले आएनन् । ५ जना मात्र जाने हो भने पछि उक्त कुरामा समेत सहमती भई टोली कोटेश्वर आएको थियो । गम्बिर भन्ने सोमलाल, सञ्जीव कुमार र कृष्णराज ट्याक्सीमा आएका थिए । सोही ट्याक्सीमा रातको ८ बजे तिर बनेपा आई सडक साईडमा रहेको ठेलागाडाहरुमा मःम लगायतका खानेकुराहरु, विभिन्न रंगको घाँटी, मुखमा बाँध्ने मफलर क्याप टोपीहरु सेतो कालो रंगको माक्स, पञ्जा समेत किनी ल्याएका थिए । ट्याक्सीमा बसेर मःम खादै जसरी हुन्छ सबै मिलेर काम सफल बनाउनु पर्छ भन्ने योजना बनेको थियो । रातको १० बजे पनौती बजारबाट केही माथी जंगलको बाटोमा पुगेर ट्याक्सीलाई तीन हजार भाडा दिएर फिर्ता पठाएका थिए । 
    ट्याक्सी फिर्ता पठाए पछि सोही जंगलमा ५ जना करिब साँढे २ घण्टा सम्म बसिरहे । कृष्णराज लामा समेतले करिब ५ मिनेट माथी हिँड्दा पुगिने ठाँउमा सहकारी भएको भवन रहेकाले त्यसमा पाले पनि बस्ने गरेको छ पालेलाई डर त्रास देखाई बाँधेर नियन्त्रणमा लिई सहकारी भित्र भल्टमा भए जती सबै रकम चोरी गर्नु पर्छ भनि आ–आफ्नो काम बाँडफाड गराए । शुरुमै गेटको ताला फोड्ने र कोही मान्छे आउँछ की भनि हेर बिचार गर्ने काम अगबर लामाको जिम्मेवारीमा परेको थियो । २०८० बैशाख १९ गते विहान राति १ बजे तिर सहकारीको कम्पाउण्डमा पछाडिबाट छिरी केही समय वरपर हेरी बाहिर कोही कसैलाई नदेखे पश्चात सहकारीको कारोबार हुने चेनगेट भन्दा बिपरीत साईडमा रहेको भवन पाले सुती रहेको फेला पारे । एक्कासी गम्बिर भन्ने सोमलाल, अशोक रुम्बा, सञ्जीव भन्ने सञ्जीव  कुमार र अगबर लामा गई साथमा बोकेको औजार समेत देखाई नबोली बस भनि डर त्रासमा पारे । गार्ड नबोली बसे पछि साथमा ल्याएको सेतो टेपले उसको मुखमा थुनि वरीपरी बेरी दुबै हात पछाडीबाट एकै ठाँउमा बाँधी त्यसपछि भुईमा लढाई कुर्सीमा बाँधी उसको साथमा रहेको मोबाईल खोसी सञ्जीव लामाले झोलामा राखे । बाँकी अगबर, कृष्णराज र सञ्जीव लामा दगुर्दै सहकारीको चेन गेट फोर्न पुगे । हातमा ठुलो साईजको मोटरसाईकलको सिटहरु खोल्ने पेचकस समेतका औजारहरु लिई चेनगेटको ताला तोडे पछि सबै जना पालैपालो भित्र पसी पैसा के कहाँ राखेको रहेछ भनि सबै तिर हेर्दै भित्र बाहिर आउने जाने गरे । अशोक रुम्बाले सहकारी भित्रको काउन्टरको अपोजिट कोठामा रहेको सिसि क्यामेरामा रेकर्ड हुने डी.भी.आर झिकी ल्याई सोमलालले चेनगेटबाट पाले बस्ने कोठामा ल्याए । सहकारी भित्र पैसा राख्ने भल्ट देखे पछि भल्ट भित्र पस्ने चेन गेटको ताला फोडी भित्र रहेका सेफ काउन्टर, भल्ट समेत हाते ग्यास गनले फोडी हेर्दा नगद लाखका बिटा भएको पैसाहरु देखे । अशोक रुम्बाले भल्ट भित्र रहेको सिसी क्यामरा खुस्काई तत्काल सञ्जीव बाहिर आई पैसा अट्ने खालको झोला ल्याउ भने पछि गम्बिर भन्ने सोमलाल थिङले बाहिरबाट झोला दिए । अशोक रुम्बाले उक्त झोला भित्र लगी अशोक, कृष्णराज र सञ्जीव भई भल्ट र काउन्टरमा भएको सबै पैसाहरु झोलामा राखे । सबैजना सहकारी भित्रबाट बाहिर निस्की पालेलाई बाँधेकै अवस्थामा छाडी निस्किए ।
    सहकारीबाट अलिक तेर्सो हिडेर उकालो लाग्दै करिब १ घण्टा जती जंगल नै जंगल हिडे पछि सबैले पाँचलाख पचास हजारका दरले चोरेको पैसा बाँडे । अमृत थिङलाई पनि चोरी गरेको कुरा थाहा भएको र उनी इमर्जेन्सी कामले आउन नभ्याएकोले उनलाई पनि थोरै दिनु पर्ने सहमति भयो । उसलाई पनि पैसा दिए पछि कसैलाई भनि दिदैन भन्ने सबैलाई विश्वास थियो । १५÷२० मिनेट पछि उज्यालो भयो । सबैजना अलग अलग हिडे । उनिहरु अलग अलग पैसा बोकेर बस चढेर काठमाडौ पुगे । अगबरले प्राप्त गरेको रकम आफ्नै घरको टहराको भित्तामा झोलामा राखेका थिए । त्यसबाट उनले ५ हजार मात्रै खर्च गरेका थिए । प्रहरीले अगबरको घरबाट भरुवा बन्दुक सहित चोरीमा प्रयोग भएका केहि सामाग्री र नगद ५ लाख ४५ हजार बरामद गरेको थियो । अशोक रुम्बाले चोरी गरेर लगेकै दिन बेलुका कृष्ण रुम्बा भन्ने कृष्ण राज लामा र सञ्जीव  रुम्बा भन्ने सञ्जीव कुमार लामालाई जग्गा किनबेच प्रयोजनका लागि ५० हजार आफुसँग राखेर ५ लाख सञ्जीवकुमार लामालाई सापटी स्वरुप दिएका थिए । त्यसको केहि दिन पछि पसलमा सामान पाटेचौर पसलबाट चोरी गरेकै मध्येबाट १४÷१५ हजारको सामान ल्याए । बाँकी रकम कहाँ खर्च भयो भन्न सकेनन् । उनले पनि चोरी गरेको स्विकारेका छन् । 
    गम्बिर भन्ने सोमलाल थिङले फरक खालको बयान दिएका छन् । अमृत थिङ उनका आफ्नै भाई हुन् । सञ्जीव रुम्बा भन्ने सञ्जीव कुमार लामा र कृष्ण रुम्बा भन्ने कृष्ण राज लामा समेत २०७६ सालमा सहकारी फुटाई नगद पैसाहरु चोरी गरी केही बर्ष जेल भित्रै बसेर छुटेका थिए । २०७५ साल तिर गम्बिर र अमृत दुबै चोरी मुद्दा पक्राउ परी ४ बर्ष पछि छुटेका थिए । त्यहाँबाट छुटी सके पश्चात गम्बिर र उनको श्रीमती समेत जिल्ला काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नम्वर १०  सतुङ्गल बस्दै आएका थिए । सञ्जीव कृष्णराज र गम्बिर तीन जनाको सल्लाहमा काभ्रे जिल्लाको धुलिखेल, भकुण्डे, पनौती तिर गई धन सम्पती भएको घर तथा सहकारीहरुमा रेक्की गरी आउनु पर्छ समय र ठाँउ अनुकुल भएपछि चोरी गर्नु पर्छ भन्ने योजना भएको थियो । काभ्रेको भकुण्डेबेसी, बनेपा पनौती, धुलिखेल तिर दुई हप्ता अगाडी धनमाल भएका घर तथा सहकारीहरु रहेको ठाँउ हेरेका थिए । पनौती ४ को टौखाल स्थित चोरी गरेको सामुदायीक बचत तथा ऋण सहकारी त्यहि अवसरमा फेला परेको थियो । सहकारीमा मानिसको भिडभाड र तिब्र रुपमा कारोवार भएको सूचना पछि त्यहि  सहकारीमा तोडफोड गरी चोरी गर्ने योजना बनेका थियो । उक्त सहकारीमा राती पाले रहने हुँदा अझै थप मन मिल्ने मानिसहरुको समुह चाहिन्छ भन्ने योजना अनुसार अशोक रुम्बाको भाईलाई फोन गरेर झिकाएका थिए । योजना मुतावीक कार्य सफल भए पछि उनी हिडेर साँगा पुगेका थिए । त्यहिबाट बस चढेर काठमाडौ पुगेका थिए । उनिहरु दुबै दाजुभाईलाई प्रहरीले सतुंगलबाटै पक्राउ गरेको थियो । 
    अमृतका दाजु सोमलाल हुन् भने ससुरा कृष्णराज लामा हुन् । २०७६ सालमा सहकारी फुटाई नगद पैसाहरु चोरी गरी केही बर्ष जेल भित्रै बसेर २०७६ असोज १ गते दाई सोमलाल थिङ समेत जिल्ला प्रहरी परीसर ललितपुरबाट चोरी तथा डाँका मुद्दामा पक्राउमा परी अनुसन्धान पश्चात ४ बर्ष २ दिन केन्द्रिय कारागार कार्यालय नख्खु काठमाण्डौमा जेल सजाय बिताई छुटेका थिए । त्यसपश्चात घर तिरै बसी कृषि पेशा गरी आई रहेका थिए अमृत । दाई र ससुराले खबर गरे पछि उनी काठमाडौ आएका थिए । लुटेको पैसा अन्यत्र नजाओस् भनेर दाजुले भाई र भाईको ससुरालाई काठमाडौ बोलाएका थिए । प्रहरीले पक्राउ परेकालाई चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा कारवाही गर्न र फरारहरुलाई म्याद जारी गर्न माग गरेको छ ।