2026 September 01/ 03:50: 00am

पलाञ्चोक/जिल्लाको ऐतिहासिक प्रसिद्ध मन्दिर पलाञ्चोक भगवतीमा भक्तजनहरुले साँढे बोका छाडा रुपमा छाड्ने प्रचलनलाई अर्काे सूचना जारी नहुँदासम्म रोक लगाईएको छ । १० दिनमा १२ वटा बोका मरे पछि तत्काल साँढे बोका छाड्न निषेध गरिएको हो । 
    वडा अध्यक्ष रामकाजी श्रेष्ठले जेठ १७ गते सूचना प्रकाशन गरी साँढे छाडिएका बोकाहरुमा गम्भिर प्रकृतिको संक्रमक रोग पिपिआर देखा परेकाले तत्कालका लागि बोका छाड्न रोक लगाईएको उल्लेख गरिएको छ । ‘देशका विभिन्न स्थानबाट पलाञ्चोकमा ल्याएर छाडिएका साँढे बोकाहरुमा पिपिआर नामक सरुवा रोग देखिएको छ’–वडा अध्यक्ष रामकाजी श्रेष्ठले भन्नुभयो–‘उक्त रोगका कारण १० दिनमा १२ वटा बोका मरिसकेका छन् । बाँकी १३ वटा बोकालाई भ्याक्सिन लगाईएको भए पनि अरु कति छन् र कुन स्थानमा पुगेका छन् फेला पार्न सकिएको छैन ।’ साँढे बोका जताततै पुग्ने भएकाले ति बोकामा देखिएको सरुवा रोग पिपिआर घरपालुवा बाख्रा तथा बोकाहरुमा पनि सर्न सक्ने भएकाले तत्कालका लागि पलाञ्चोक भगवति मन्दिरमा त्यस्ता बोका छाड्न निषेध गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 
    ‘धमाधम बोकाहरु मर्न थालेपछि नगरपालिकामा रहेको पशुपन्छी शाखामा जानकारी गरायौं । उक्त शाखाबाट खटिएका प्राविधिकहरुले मरेका बोकाहरुको पोस्टर्माटम गरी परिक्षण गरे पछि मात्रै सरुवा रोग पिपिआर पत्ता लागेको हो’–अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘मरेका बोकाहरुको ब्यवस्थापन र बाँचेका बोकाहरुमा भ्याक्सिन लगाउने कार्य वडा कार्यालयको तर्फबाट नगरपालिका र पशुपन्छी शाखाको समन्वयमा भईरहेको छ ।’ सर्वसाधारणहरुका लागि पलाञ्चोक भगवति मन्दिरमा तत्काल साँढे बोका नछाड्न वडा कार्यालयको तर्फबाट अनुरोध गरिएको छ भने पलाञ्चोक भगवती मन्दिर ब्यवस्थापन समितिले पनि अनुरोध गरेको छ । स्थानीयहरुले घरपालुवा बाख्रा तथा बोकाहरुमा पिपिआर रोगको लक्षण देखा परे वडा कार्यालय तथा पशुपन्छी शाखामा सम्र्पक गर्न अनुरोध गरिएको छ ।