2026 September 01/ 03:48: 11am

के गरे के गर्दैछन् ? 

मोतीराम तिमल्सिना
बनेपा

    २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले एक वर्षको अवधी पुरा गरेका छन् । निर्वाचनको मत परिणाम प्राप्त भएसँगै सपथ ग्रहण पछि कार्यभार सम्हालेका जनप्रतिनिधिहरुले पहिलो वर्ष अघिल्लो आर्थिक वर्षका योजनाहरु सम्पन्न गर्न ध्यान केन्द्रित गरे भने चालुवर्षका लागि आफै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । जिल्लाका १३ वटा पालिकाले गरेका महत्वपूर्ण कार्यहरु कस्ता छन् ? जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ । 
    धुलिखेल नगरपालिका दक्षिण एशियामै पहिलो स्वस्थ शहर घोषणाको तयारीमा छ । यसका लागि नगरपालिकाले आवश्यक तयारी पुरा गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । स्वस्थ शहर निर्माणका लागि घरधुरी सर्भेक्षण सम्पन्न गरी कुन घरका ब्यक्तिलाई कस्तो प्रकारको रोग लागेको छ ? कस्तो प्रकारको रोगको निदान र उपचारका लागि नगरपालिकाले कस्तो योजना बनाउनु पर्छ भन्ने तय भएको छ । धुलिखेल अस्पताल र धुलिखेल नगरपालिकाले शुरु गरेको अभियानमा नेपाल सरकारका प्रदेश र संघ सरकारका अलावा विश्व स्वास्थ्य संगठनले समेत चासो राखेर त्यसको अनुमति प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । धुलिखेल नगरपालिकाको अर्काे महत्वपूर्ण कार्यक्रम एक घर एक धारा हो । ९० प्रतिशत घरमा धारा पुगिसकेको अवस्था छ । छिट्टै पूर्ण रुपमा खानेपानी प्राप्त गर्ने नगरपालिकाका रुपमा नगरपालिका चिनिने छ । गरिबी मुक्त नगर, स्वस्थ शहर, सरसफाई युक्त शहर, उज्यालो शहर, पूर्ण खोप, बालमैत्री शहर, शुन्य कार्वन उत्र्सजन गर्ने शहरका रुपमा चिनिदै छ । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका कार्यक्रम नगरपालिकाको प्राथमिकतामा छ । नियमित कामका अलावा नगरपालिकाले विश्वमै नमुना योग्य कार्य प्रारम्भ गरेको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले बताउनु भयो । 
    खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्गले एक वर्षको अवधीमा संस्थागत, भौतिक र प्रशासनिक कार्य प्रारम्भ गरिएको बताउनु भयो । खानीखोला गाउँपालिकाले एक वर्षको अवधीमा भौतिक पूर्वाधारका लागि प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्ति गरेको छ । अहिलेसम्म गाउँपालिकाको प्रशासनिक भवन साविकको गाउँ विकास समितिको साँघुरो भवनमा छ । उक्त भवनलाई आधुनिक तरिकाबाट निर्माण गर्न जग्गा प्राप्ति गरेको छ । स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनको चरणमा लगेको छ । शिक्षाको गुणस्तरका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गरी शिक्षक सेवा आयोगबाट प्राप्त शिक्षकहरुको ब्यवस्थापन गरेको छ । बाल विवाह न्यूनिकरण गर्न हरेक विद्यालय र अभिभावकहरुलाई जनचेतनामूलक सडक नाटक संचालन गरेको छ । सडक निर्माणलाई प्राथमिकतामा राखी १२ महिना नै सडक संचालन हुने गरी अवरुद्ध हुन सक्ने स्थानको पहिचान गरी मर्मत, सम्भार र पुर्ननिर्माणको कार्य गरेको छ । कर्मचारीहरुको दरबन्दी अनुसारको ब्यवस्थापनका लागि संघ र प्रदेश सरकारलाई अनुरोध गरेको छ । २०७३ सालमा ठेक्का सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेको काभ्रे र मकवानपुर जोड्ने बागमति पुल निर्माणको प्रकृयालाई अघि बढाएको छ । अस्पताल निर्माणको अधुरो र अलपत्र कार्यलाई पुरा गर्ने गरी प्रकृया शुरु गरेको छ । जसको उत्पादन उसैको अनुदान कार्यक्रमलाई प्राथमिकता दिएको छ । दीर्घरोगीहरुको उपचारका लागि विशेष ब्यवस्थापन गरेको छ । सुशासन, जवाफदेहिता र पारदर्शिता सहितको प्रशासनिक कार्य प्रारम्भ गरेको छ । 
    मण्डनदेउपुर नगरपालिकामा एक वर्षको अवधीमा नयाँ कार्य प्रारम्भ भएका छन् । विगत ५ वर्षको अनुभव र योजनालाई नयाँ निर्वाचित जनप्रतिनिधिहरुले सम्पतिका रुपमा लिदै थप योजना सहितको कार्य प्रारम्भ गरिएको नगर प्रमुख टोकबहादुर वाईवाले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रम तयार गरी चालु शैक्षिक सत्रबाट प्रारम्भ गरिएको छ भने निर्माणाधिन प्रशासकिय भवन, अस्पताललाई पुर्णता दिई सेवा प्रदान गर्न थालिएको छ । यो वर्ष नगरपालिकाले उद्योग ग्रामको शुरुवात गरेको छ । संघ सरकारको समन्वयमा नगरपालिकामा उद्योग ग्राम स्थापना हुनेछ । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा. लोकबहादुर लोप्चनले यो अवधीमा ऐन, नियम, संग्रहका साथै कार्यविधिहरु तयार गरी आवश्यक कार्य प्रारम्भ गरिएको बताउनु भयो । अर्गानिक खेतिलाई प्राथमिकतामा राखेर कृषि सम्वन्धी कार्यविधि तयार गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलाई अलग अलग रुपमा योजनागत हिसावले कार्य अघि बढाईएको नगर प्रमुख वाईवाले बताउनु भयो । 
    पनौती नगरपालिकाले एक वर्षको अवधीमा नगर अस्पतालको गुरुयोजना तयार गरी डिपिआर निर्माण गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले ५ वर्ष भित्र के के गर्न सकिन्छ भन्ने सोचका साथ केहि दिर्घकालिन योजनाहरु निर्माण गरिरहेको बताउनु भयो । नगर अस्पताल निर्माण, बसपार्क ब्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणका कार्य शुरु गरिएको छ । साना तथा मझ्यौला सवारी साधनको ब्यवस्थापनका लागि बसपार्क निर्माण गरिएको छ । एकिकृत खानेपानी, फोहोरमैला ब्यवस्थापन, कृषि तथा पर्यटनका केहि कार्यहरु शुरु भएका छन् । पनौतीको ऐतिहासिक तथा सांस्कृतिक शहर निर्माणका लागि पहल भएको छ । शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन, उद्यम, पूर्वाधार अन्र्तगतका सडक तथा अन्य विषयलाई प्राथमिकिकरणका साथ गति प्रदान गरिएको छ । नयाँ योजनाका साथ, केहि पुराना र अधुरा योजनाहरुको पनि निरन्तरता दिएको प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले बताउनु भयो । 
    बनेपा नगरपालिकाले एकीकृत खानेपानीलाई विविध समस्याका बाबजुत अस्थायी रुपमा ब्यवस्थापन गरेको छ । यो सबै नगरबासिहरुका लागि अझै उपलब्ध हुन सकेको छैन । खानेपानी र सरसफाई नगरका प्राथमिकताका विषय भएकाले प्रत्येक दिन फोहोर संकलन गर्ने, कुचो लगाउने कार्यलाई प्राथमिकताका राखिएको छ । पुलबजार देखि बनेपाका विभिन्न स्थानमा पुण्यमाता खोलाले डुबान पार्ने परिस्थितीलाई कम गराईएको छ । सडक फराकिलो हुने क्रम भएकाले राजमार्ग सिँगार्ने तथा अन्य विषयमा नियमित जस्तो काम भईरहेको छ । नगरपालिकाले लिएको लक्ष्य खानेपानी, सरसफाईसँगै शिक्षा, स्वास्थ्यमा विषेष जोड दिईएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । हरेक योजना र कार्यक्रम नमुना नै हुन्छन् । आवश्यकताका आधारमा गरिएका सबै योजनाहरु नमुना हुन् । सबै आवश्कताका आधारमा भएकाले अलग्गै नमुना कार्यक्रम भएको छैन । अधिकांश बजेट पुर्वाधारका लागि विनियोजन भएका छन् । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खानेपानी, पशु विकास लगायतका कार्यक्रमहरुमा बजेट विनियोजन भएका छन् । प्राथमिकिकरण पनि त्यहि योजना र शिर्षकहरमा भएको छ । बनेपाबासीहरुका दैनिक आवश्यकता पुरा गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिएकाृ प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमागाईले बताउनु भयो । 
    रोशी गाउँपालिकाले एक वर्षको अवधीमा १४ सय ४० घर परिवारको निःशुल्क स्वास्थ्य विमा गराएको छ । ५६ जना दीर्घरोगीलाई मासिक ५ हजारका दरले संघ सरकारबाट पछि प्राप्त हुने रकम उपलब्ध गराएको छ । २ सय ५० जनाको निशुल्क मोतियाविन्दुको उपचार गराएको छ । १२ वटै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बैक र सुरक्षा निकायको समन्वयमा प्रत्येक वडाबाट बैकिङ्ग प्रणाली मार्फत उक्त सेवा प्रारम्भ गरिएको अध्यक्ष दिनेश लामाले बताउनु भयो । तीन स्थानबाट एम्बुलेन्स सेवा शुभारम्भ गर्दै सबै स्वास्थ्य संस्थामा इन्टरनेट जडान गरिएको छ । अनलाईन सेवा प्रणालीको विकास गरिएको छ । प्रशासनिक भवन र १० शैयाको अस्पताल निर्माणलाई अन्तिम चरणमा पु¥याईएको छ । एक घर एक धारा अभियानलाई पूर्णता दिदैछ भने सबै वडालाई कालोपत्रेले जोड्ने गरी कालोपत्रे अभियान शुरु गरिएको छ । 
    सामुदायिक विद्यालयमा गुणस्तर बढाउन शिक्षा निती निर्माण गरिएको छ । सबै घरमा विद्युत पु¥याउने अभियान शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत राम लामाले बताउनु भयो । स्थानीय तहको सरकार घर दैलोको सरकार भएकाले हरेक नागरिकले प्रत्येक समस्यामा पालिकाका अध्यक्ष स्वयं उपस्थित भएर सुनिदिए सहज हुने अपेक्षा गर्ने गरेको अध्यक्ष दिनेश लामाको अनुभुति छ । ‘अपेक्षा धेरै, जनशक्ति र श्रोत थोरै भएका कारण नागरिकहरुको अपेक्षा अनुसार योजना वितरण सम्भव हुँदो रहेनछ’– अध्यक्ष दिनेश लामाले भन्नुभयो–‘उत्पादकत्व क्षेत्रमा भन्दा अनुपादकत्व क्षेत्रमा लगानी हुने गरी आयोजना वितरण हुने र माग हुने क्रम बढिरहेको छ ।’ स्थानीयहरुले प्रदेश र संघ सरकारसँग अपेक्षा गरे पनि सम्वन्धका हिसावले नजिक नभएकाले स्थानीय सरकासँग धेरै अपेक्षा गर्ने गरेका छन् । 
    चौरीदेउराली गाउँपालिकाले पुराना योजनाहरुलाई निरन्तरता दिदै नयाँ केहि योजनाहरु प्रारम्भ गरेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले वडा कार्यालय, प्रशासकिय भवन निर्माणको कार्य प्रारम्भ भएको बताउनु भयो । वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आब्हान भएको छ । प्रशासकिय भवनको डिपिआर तयार गरिएको छ । जेष्ठ नागरिकहरुलाई घर घर गएर उपचार गर्न शुरु गरिएको छ । निशुल्क उपचार र निशुल्क औषधीको ब्यवस्था गरिएको छ । अस्पताल आएर उपचार गर्ने जेष्ठ नागरिकहरुका लागि पनि निशुल्क ब्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत महानदास लामाले बताउनु भयो । शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकतामा राखिएको उहाँले बताउनु भयो । अधुरा कार्यलाई पूर्णता दिन निर्वाचित जनप्रतिनिधि सक्रिय रहेको अध्यक्ष चौलागाईले बताउनु भयो । 
    नमोबुद्ध नगरपालिकाले केहि नयाँ योजना शुरु गरेको छ । नगर प्रमुख कुन्साङ्ग लामाले ऐतिहाहासिक धार्मिक स्थल नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने गरी कार्य प्रारम्भ गरिएको बताउनु भयो । सडक बत्ति, कोल्ड स्टोर निर्माण, खानेपानीका योजनाको विस्तार गरिएको छ । यस अघि जनप्रतिनिधिहरुले शुरु गरेका धेरै योजनाहरुले निरन्तरता प्राप्त गरेका छन् । नागरिकहरुका लागि सहज सेवा प्रदान गर्ने गरी मेथिन्कोट अस्पतालबाट प्रारम्भ सेवामा सहजिकरण गरिएको छ । वडाहरु मार्फत प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउने र पूर्वाधार निर्माणका कार्यलाई तिब्रता दिईएको छ । नागरिकहरुका गुनासा सुनुवाई र सम्बोधनका लागि हरेक दिन जनप्रतिनिधिहरु सक्रिय छौं । एकता, समन्वय र सहकार्यबाट सबैको भूमिका र अस्तित्व स्विकार गर्दै हरेक ब्यक्ति र क्षेत्रको अनुभव लिएर अघि बढेका छौं । बाँकी चार वर्ष जनतालाई निराश नबनाउने गरी कार्य अघि बढाएको उहाँले बताउनु भयो । 
    बेथान्चोक गाउँपालिकाले केहि नयाँ योजना प्रारम्भ गरेको छ । जिल्लाको सबैभन्दा अग्लो स्थान बेथान्चोक नारायणस्थानलाई पर्यटकीय रुपमा अघि बढाउन ढुंखर्कबाट केबुलकार संचालनका लागि सम्भाब्यता अध्ययन गरिएको अध्यक्ष भगवान अधिकारीले बताउनु भयो । अर्काे महत्वपूर्ण कार्य गाउँपालिकाले जिल्लामै पहिलो पटक सुरुङ्ग मार्ग निर्माणका लागि काठमाडौ विश्वविद्यालयको सहकार्यमा प्राज्ञिक थलोको रुपमा चिनाउने गरी सम्झौता गरिएको छ । विश्वविद्यालयका तर्फबाट कार्य प्रारम्भ भएको छ भने गाउँपालिकाले गर्ने जिम्मेवारी पुरा गरेको छ । हरेक वर्ष ५ किमी सडक कालोपत्रे गर्ने गरी निर्वाचनको समयमा ब्यक्त गरिएको प्रतिबद्धता पुरा भएको छ । जेठ २५ गते सम्पन्न हुने गरि पहिलो वर्षको लक्ष्य पुरा भएको अध्यक्ष अधिकारीले बताउनु भयो । त्यसका अलावा गाउँपालिकाले शिक्षक दरवन्दी नभएका तर अत्यावश्यक स्थानमा घुम्ति शिक्षक मार्फत शिक्षक ब्यवस्थापन गरेको छ । कार्यविधि निर्माण गरेर शुरु गरिएको उक्त कार्यक्रम प्रारम्भ भएको छ । ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क उपचारको ब्यवस्था मिलाईएको छ । त्यसका लागि कार्यविधि तयार गरिएको छ । पालिका र बैकसँगको समन्वयमा युवाहरुलाई कृषिमा आकर्षण बढाउन ५ प्रतिशत ब्याजमा अनुदान उपलब्ध गराउने गरी कार्य प्रारम्भ गरिएको छ । प्रशासकिय भवन निर्माणका लागि जग्गा ब्यवस्थापन, गुम्बुडाँडामा १० शैया र ढुंखर्कमा ५ शैयाको अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीका अनुसार गाउँपालिकाले एक घर एक धारा, पर्यटन तथा अन्य नियमित योजनाहरु अघि बढिरहेको बताउनु भयो । प्रत्येक वर्ष नयाँ नयाँ योजना निर्माण र कार्यान्वयनका लागि गाउँपालिकाले योजनाबद्ध रुपले कार्य अघि बढाएको अध्यक्ष अधिकारीले बताउनु भयो । 
    महाभारत गाउँपालिकाले यो वर्ष १ हजार ५ सय घरमा विजुली बत्ति बालेको छ । पहिलो पटक राष्ट्रिय प्रसारण लाईनको बत्ति महाभारत गाउँपालिकामा पुगेको छ । वडा नम्वर ३, ४ र ५ का १ हजार ५ सय घरमा विजुली बत्ति बलेको छ । गाउँपालिकाले ३ हजार घर धुरीलाई मिटर जडानका लागि अनुदान उपलब्ध गराएको थियो । वडा नम्वर ६ र ७ मा पनि चालु वर्ष भित्रै विजुली बत्ति बलिसक्ने अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले विजुली बत्तिको उद्घाटन र सडक निर्माण कार्यको शिल्यान्यास गर्नु भएको छ । आगामी वर्ष सबै घर धुरीमा बत्ति बालिसक्ने योजना छ । गाउँपालिकाको बहुबर्षिय योजना अनुसार सडक कालोपत्रे महत्पूर्ण हो । सबै वडाहरुमा सडक सञ्जाल पु¥याउने, नागरिकहरुलाई सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गर्ने योजना कार्यान्वयन गरिरहेको छ । सडक सञ्जाल बाहिर रहेको गाउँपालिकामा १२ महिना सडक चल्ने गरि विनियोजन भएका बजेटहरु कार्यान्वयन गर्ने योजना अघि सारेको छ । प्रमुख प्रशासकिय अधिकृत हरि सिं विष्टले गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी कार्यविधि बनाएर कार्यान्वयन गरिएको बताउनु भयो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा नागरिकहरुलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम प्रारम्भ गरिएको अध्यक्ष जिम्बाले बताउनु भयो । महाभारत हुँदै मकवानपुर जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको कार्य अघि बढेको छ । प्रशासकिय भवन निर्माण, अस्पताल निर्माण तथा अन्य पूर्वाधारका कार्यहरु पनि निरन्तर अघि बढेका छन् । 
    पाँचखाल नगरपालिकाले विशेषगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख महेश खरेलले बताउनु भएको छ । लवग्रिन नेपालको सहयोगमा तथा स्थानीय उपभोक्ताहरुको सक्रियतामा विषादी न्युनिकरण अभियान शुरु भएको छ । पाँचखालमा उत्पादन शुरु भएको तरकारी नेपालमै कम विषादी प्रयोग भएको प्रमाणीत भएको छ । कृषिलाई अनुदान, उत्पादन र ब्यवस्थापनका लागि विगतका योजनाहरुलाई निरन्तरता दिएको छ । पलाञ्चोक भगवती मन्दिरको थप ब्यवस्थापन तथा अन्य पूर्वाधारका कार्यहरु अघि बढेका छन् । खानेपानीको कार्य तिब्र गतिमा अघि बढेको छ । शिक्षा, स्वास्थ्य तथा कृषिका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन योजनागत रुपमा अघि बढेको नगर प्रमुख खरेलले बताउनु भयो । 
    तेमाल गाउँपालिकाले जिल्लामै नमुना रुपमा नसर्ने रोगहरुका बारेमा ४ हजार ६ सय नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । सुगर, प्रेसर, मुटु, क्यान्सर, क्षयरोग लगायतका रोगहरुको पहिचान, परिक्षण र उपचारमा केन्द्रित गरिएको अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनु भयो । उपाध्यक्ष डिएम लामाले गाउँपालिकाले स्वास्थ्य परिक्षणसँगै नागरिकहरुलाई सहज उपचार दिने गरी कार्य प्रारम्भ गरिएको बताउनु भयो । वडा देखि गाउँपालिका केन्द्रसम्म जोड्ने सडकलाई रणनीतिक योजना अनुरुप सडक पुर्वाधारको कार्यक्रम संचालन गरिएको उपाध्यक्ष डिएम लामाले बताउनु भयो । सडक पूर्वाधार र नागरिकहरुको स्वास्थ्य परिक्षण यो वर्षका नमुना कार्यक्रम रहेको उहाँले बताउनु भयो । खानेपानी, शिक्षा, पूर्वाधार लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिएको अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनु भयो । 
    भुम्लु गाउँपालिकाले जिल्लाकै नमुना कार्य शुरु गरेको अध्यक्ष प्रेम भुजेलले बताउनु भयो । गौरवको आयोजना अनुसार २७ किमी सडक निर्माण कार्य प्रारम्भ भएको छ । गाउँपालिका आफैले हेभि इक्युमेन्ट खरिद गरेर भुम्लु गाउँपालिकाको भुम्लुटार देखि सिम्थली जोड्ने सडक निर्माण कार्य जारी छ । गाउँपालिकामा भएका ४६ वटै विद्यालयमा योगालय निर्माण गरेर हरेक विद्यार्थीहरुलाई योगको माध्यमबाट स्वस्थ राख्ने कार्यक्रम प्रारम्भ गरिएको छ भने विद्यालयमा हर्बल बगैचा शुरु गरिएको छ । दोलालघाट देखि साँगासोतीसम्मको पर्यटन गुरुयोजना निर्माण र डिपिआर तयार गरिएको छ । ४८ वठा सामुदायिक वनको भेला, गोष्ठी, अन्र्तक्रिया र छलफल मार्फत नियमित वन समुहको बैठक बस्ने, वन योजना निर्माण गरी आय आर्जन गर्ने गरी बनेका योजना कार्यान्वयन गर्ने र लेखापरिक्षण नभएका वन समुहका चालु वर्ष भित्रै लेखापरिक्षण गर्ने गरी कार्य अघि बढाईएको अध्यक्ष प्रेम भुजेलले बताउनु भयो । फोहोरमैला ब्यवस्थापनलाई आधुनिकिरण र बैज्ञानिकीकरण गर्ने गरी जैविक मल उत्पादनमा प्रोत्साहन गरिएको छ । 
    अध्यक्ष भुजेलले कृषि मार्फत आत्मनिर्भर बनाउने गरी हरेक वडामा प्राविधिक तयार गरिएको छ । रैथाने बाली संरक्षण गर्ने गरी अनुदानको ब्यवस्थापन गरिएको छ । कोदो, फापर, कफि र किवी पकेट क्षेत्र घोषणा गरिएको छ । ४५ वटा दुहुनो भैसी खरिद गरी समुहलाई हस्तान्तरण गर्ने र दुध पकेट क्षेत्र घोषणा गरिएको छ । आफै डेरी संचालन गर्ने उद्योग मार्फत रोजगार सिर्जना गरिएको छ । नियमित कृषि र पशुपालनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा जोड दिएको छ । सुधारिएको गोठ, मलखाद, विषादी नियन्त्रणका लागि जैविक मल उत्पादन, कम्पोष्ट विनको प्रयोग, नमुना करेसावारीका कार्यक्रम शुरु भएका छन् । हरेक कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराउने गाउँपालिकाको नीति रहेको अध्यक्ष भुजेलले बताउनु भयो । एक हजारवटा पोखरी निर्माणको कार्य प्रारम्भ भएको छ । नागरिकहरुलाई ५ वर्ष भित्र आत्मनिर्भर बनाउन गाउँपालिकाले शुरु गरेका हरेक कार्यक्रम कार्यान्वयन गरिने अध्यक्ष भुजेलले प्रतिवद्धता ब्यक्त गर्नु भयो ।