2026 August 31/ 12:52: 02am

१८ हजार ५ सय ५५ वटा भवन खाली

लक्ष्मण तिमल्सिना
धुलिखेल

    काभ्रेपलाञ्चोक जिल्लामा १ लाख २९ हजार ५ सय ९४ वटा भवन रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा निर्माण भएका कुल भवनहरुको संख्या जनगणना २०७८ मा सार्वजनिक भएको हो । निर्माण भएका घरहरु मध्ये १८ हजार ५ सय ५५ वटा घर खाली छन् । 
    जिल्लामा कुल भवनहरु मध्ये ८० हजार ६१ आवासीय छन् । ब्यवसायीक तथा तालिम केन्द्रहरुका रुपमा २५ सय ७९ वटा भवन निर्माण भएका छन् । सरकारी भवन ३ सय ७४ वटा छन् भने शैक्षिक संस्थाहरु १ हजार ४ सय ६७ वटा निर्माण भएका छन् । भुकम्प पछि विद्यालय भवन निर्माणको संख्या ह्वात्तै बढेको हो । स्वास्थ्य संस्थाहरुको संख्या २ सय ५८ वटा छन् । हरेक वडामा स्वास्थ्य चौकी निर्माण तथा अस्पताल निर्माण भएको छ । उद्योगका लागि ५ सय ७२ वटा भवन निर्माण भएका छन् । जिल्लामा होटल तथा लजका लागि ४ सय ४२ वटा भवन निर्माण भएको तथ्यांकमा उल्लेख छ । जिल्लामा गोठ तथा स्टोरका लागि निर्माण भएका भवनहरुको संख्या १७ हजार ३ सय १२ वटा निर्माण छन् । अन्य भवनहरुको संख्या ७ हजार ४ सय १० वटा रहेका छन् । खाली घरहरुको संख्या १८ हजार ५ सय ५५ वटा रहेका छन् । 

ग्याँस र दाउरा प्रयोग गर्ने बराबरी
    जिल्लामा अक्सर खाना पकाउन अझै काठ दाउरा प्रयोग गर्नेहरुको संख्या अधिक छ । ९१ हजार ३ सय ३० घर धुरी मध्ये ४५ हजार २ सय ९९ घर धुरी काठ दाउरा प्रयोग गर्छन । एलपी ग्याँस प्रयोग गर्ने घरधुरी ४४ हजार ८ सय २९ रहेको छ । दाउरा र ग्याँस प्रयोग गर्ने घर धुरी बराबरी जस्तै भएका छन् । बिजुलीबाट खाना पकाउनेहरुको संख्या १ सय ७३ मात्रै छ । गुईठा गोबर प्रयोग गर्नेहरुको संख्या ९ छ भने बायो ग्याँस प्रयोग गर्ने घरधुरीहरु ८ सय ९५ रहेको छ । मट्टितेल प्रयोग गर्ने परिवार १ सय २ घर छन् भने विभिन्न माध्यमबाट खाना पकाउने परिवार २३ वटा रहेका छन् । खाना पकाउने सँगै बत्ती बाल्न विभिन्न माध्यम प्रयोग भएको छ । जिल्लामा विजुली प्रयोग गर्नेहरुको संख्या ८७ हजार ९ सय ८१ घर परिवार रहेका छन् । सोलार सौर्य उर्जा प्रयोग गर्ने परिवार ३ हजार १ सय ४६ रहेको छ । मट्टितेल बाल्ने घर परिवार १ सय १ छन् भने बायोग्याँस ७ र अन्य ९५ रहेका छन् । 
२० हजार नागरिक मुलुक बाहिर
    जनगणना २०७८ को तथ्यांकले जिल्लाको कुल जनसंख्यामा उल्लेख भएका ३ लाख ६४ हजार ३९ जनसंख्या भन्दा बाहेक १९ हजार ५ सय ५८ जना नागरिक मुलुक बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । बाहिर गएका नागरिकहरु सहित जिल्लाको जनसंख्या ३ लाख ८३ हजार ८ सय ९७ रहेको छ । २०६८ सालको जनगणनामा ३ लाख ८१ हजार ९ सय ३७ कुल जनसंख्या रहेको जिल्लाको तथ्याङ्कमा जनसंख्या घट्दो क्रममा रहेको छ । विदेशिएका मध्ये १४ हजार ८ सय १२ जना पुरुष छन् भने ५ हजार ४६ जना महिला छन् । विदेशमा बस्ने अनुमति लिई सकेका नागरिकहरुको गणनामा समावेश गरिएको छैन । काभ्रेमा कुल जनसंख्यामा १ लाख ७८ हजार ९ सय ९ पुरुष र १ लाख ८५ हजार १ सय ३० महिला छन् । ८० हजार ६१ घर परिवारका ९१ हजार ३ सय ३ घर धुरी रहेको छ । 
साक्षर काभ्रेमा ७५ प्रतिशत साक्षरता
    साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा भएको ५ वर्ष पछि भएको जनगणनामा काभ्रेपलाञ्चोक जिल्लाको तथ्याङ्क ७५.६८ प्रतिशत मात्रै देखिएको छ । साक्षर हुन १५–६० उमेर समुहका ब्यक्तिहरुलाई मात्रै समेटेर सामान्य लेखपढ तथा अक्षर चिन्न सक्ने भएको अवस्थामा साक्षर मानिएको थियो । जनगणनामा सबै उमेर समुहका नागरिकहरुको साक्षरता गणना गर्दा प्रतिशतमा कम भएको हुन सक्ने स्थानीय तहका प्रतिनिधिहरुले बताएका छन् । साक्षरताका हिसाबले सबैभन्दा धेरै बनेपा नगरपालिकामा ८४.८१ प्रतिशत नागरिकहरु साक्षर देखिएका छन् भने सबै भन्दा कम चौरीदेउराली गाउँपालिकामा ५७.७५ प्रतिशत मात्रै साक्षर देखिएका छन् । जिल्लाको विकट मानिएका पालिका खानिखोलामा ७५.१८ प्रतिशत र महाभारतमा ७०.२९ प्रतिशत साक्षर देखिएका छन् । बेथान्चोक गाउँपालिकामा ७१.६६ प्रतिशत साक्षर छन् भने भुम्लुमा ६७.०५ प्रतिशत साक्षर छन् । धुलिखेलमा ८०.१३ प्रतिशत साक्षर रहेका छन् । मण्डनदेउपुरमा ७२.६४ प्रतिशत साक्षर छन् । नमोबुद्धमा ७१.०३ प्रतिशत, पनौतीमा ८१.०५ प्रतिशत, पाँचखालमा ७५.१५ प्रतिशत र रोशीमा ६९.५२ प्रतिशत साक्षर छन् । त्यस्तै तेमाल गाउँपालिकामा ६१.२४ प्रतिशत साक्षर छन् ।