2026 August 30/ 10:52: 06pm


बनेपा/बनेपा नगरपालिकाले यातायात व्यवस्थापन तथा बसपार्क सञ्चालन सम्बन्धी कार्ययोजना कार्यान्वयन सुरु गरेको छ । 
नगरपालिकामा जनप्रतिनिधि, यातायात व्यवसायी लगायत सरोकारवालाको सर्वपक्षीय बैठकले आवश्यक निर्णयसहित कार्ययोजना अघि बढाएको हो । कार्ययोजनामा जेठ १० गतेदेखी बसपार्क पुर्ण रुपमा सञ्चालनमा ल्याउने, सवारी चाप व्यवस्थापनका लागि सर्भिस ट्रयाक खाली गराउने, निजी सवारी साधनलाई बसपार्कमा पार्क गर्न निषेध गर्ने उल्लेख गरिएको छ । नगरपालिका क्षेत्रलाई व्यवस्थित र सफा बनाउने योजना अन्तर्गत कार्ययोजना सहित काम सुरु गरिएको नगरप्रमुख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो । उपलब्ध ठाउँलाई व्यवस्थि तगर्न सकिएमात्रै पनि धेरै समस्या समाधान हुने उहाँको भनाई छ । यस्तै उप–प्रमुख विमला सापकोटाले प्रतिक्षालय र टिकट काउण्टरको व्यवस्थापनमा सहयोग गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । छलफलमा नगरप्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाँई, प्रशासकीय अधिकृत धु्रवराज नेपाल,  इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुरेश थापा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, काभ्रे पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेशसुन्दर सैंजु, काभ्रे बस प्रालिका अधयक्ष बर्ण शाक्य, सिन्धु–हेलम्बु यातायात सेवा प्रालिका अध्यक्ष राजेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । बैठकले अरनिको राजमार्ग भएर सञ्चालन हुने सबै यात्रुवाहक बसहरु बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढ्ने ओर्लने व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय आवश्यक कार्य योजना सहित कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै बसपार्क सञ्चालन र सवारी चाप व्यवस्थापनका लागि अरनिको राजमार्ग बनेपा खण्डको हाललाई बसपार्क प्रवेश गर्ने पश्चिम प्रवेश मार्गदेखी तीनदोबाटोसम्म र चाँदनी चोकदेखी चारदोबाटोसम्मको दक्षिणतर्फको सर्भिस ट्रयाक खाली गराई सोही ट्रयाकबाट बस सञ्चालनको व्यवस्था मिलाउने सहमती समेत बैठकमा भएको छ ।  बनेपाबाट विभिन्न स्थानका लागि छुट्ने बसहरु बसपार्कबाट मात्रै छुट्ने व्यवस्था मिलाउने,डिटेनमा रहने बसहरु बसपार्कमा पार्किङ निषेध गर्ने, निजी सवारी साधन बसपार्कमा पार्क गर्न निषेध गर्ने निर्णय भएको बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाँईले जानकारी दिनुभयो । यातायात व्यवस्थापन र बसपार्क सञ्चालनका विषयमा तयार भएको कार्ययोजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहजीकरणमा सबै यातायात व्यवसायी मजदुर संगठनका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । बैठकले जेठ १० गतेबाट बसपार्क पुर्णरुपमा सञ्चालनका लागि सम्बन्धीत सबै पक्षले आवश्यक सहयोग र सहजीकरण गर्ने निर्णय गरेको छ ।