धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयमा आवश्यक पर्ने शिक्षकहरुको दरवन्दी धमाधम पूर्ति हुँदै छ । शिक्षक सेवा आयोगल माध्यमिक तहका ३९ जना शिक्षकहरु पठाएसँगै निमावि तहमा आवश्यक दरवन्दी अनुसारका शिक्षकहरु पठाउन शुरु गरेको छ । त्यस पछि प्राथमिक तहका शिक्षकहरु प्राप्त हुने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्कीले बताउनु भयो । स्थायी शिक्षकका कारण अस्थायी शिक्षकहरु विस्थापित हुन थालेका छन् । स्थायी शिक्षक खुरुखुरु आए पछि अस्थायी शिक्षक लुरुलुरु घर जान बाध्य भएका छन् ।
शिक्षकहरु विस्थापित हुन थाले पछि शिक्षक संगठन काभ्रेले अस्थायी शिक्षकहरुको ब्यवस्थापनमा ध्यान दिन ज्ञापनपत्र बुझाएको छ । स्थानीय सरकारले अस्थायी र करार तहका शिक्षकहरुलाई स्थान अनुसार पदस्थापन गर्न समन्वय इकाई मार्फत ध्यानाकर्षण गराएका हुन् । जिल्लामा मावि तहका नेपाली विषयमा ४ जना, अँग्रेजी तहमा ८ जना, गणित विषयका ७ जना, विज्ञान विषयमा १२ जना, लेखा विषयमा ३ जना र सामाजिक विषयमा ५ जनाको पदस्थापन भएको छ । ३९ जना शिक्षकहरुको पदस्थापन हुँदा ३३ जना शिक्षकहरु विस्थापित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्कीका अनुसार २०७९ कार्तिक १५ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा काभ्रेपलाञ्चोक जिल्लालाई आवश्यक पर्ने शिक्षकहरु सूची माग गरेको छ । आन्तरिक प्रतिस्पर्धा र बढुवा प्रयोजनका लागि ७५ प्रतिशतमा प्रावि तहमा ११, निम्न माध्यमिक तहमा २ जना र माध्यमिक तहमा ७ जना र वाँकी २५ प्रतिशतमा प्राविमा ९ जना, निमावीमा १ जना र मावीमा ६ जना शिक्षक पठाउन माग गरेको छ । खुल्ला प्रतिस्पर्धाका लागि ३७ जना प्राथमिक तहका लागि शिक्षक माग गरिएको छ । निमावीमा ६ जना र माविमा ६ जना शिक्षक माग गरिएको छ । २०७८ चैत्र मसान्तसम्मा काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तहमा प्राथमिक तहमा ३ सय २२ शिक्षक रिक्त रहेका थिए । पनौती र धुलिखेल नगरपालिकाकामा प्राथमिक तहमा शिक्षक रिक्त छैनन । बनेपा नगरपालिकामा ६, पाँचखाल नगरपालिकामा १२, नमोबुद्ध नगरपालिकामा १८, मण्डनदेउपुर नगरपालिकामा ३५, चौरीदेउराली गाउँपालिकामा ४५, तेमाल गाउँपालिकामा ४०, रोशी गाउँपालिकामा ३८, बेथान्चोक गाउँपालिकामा १०, खानीखोला गाउँपालिकामा ३६, महाभारत गाउँपालिकामा ७२ र भुम्लु गाउँपालिकामा १० जना शिक्षक पद रिक्त थिए । अहिले तिनै पदहरुमा शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरु शिक्षा सेवा आयोग मार्फत पठाईरहेको छ । निमावी र मावी तहका शिक्षकहरु पनि धमाधम आईरहेका छन् ।
सामुदायिक विद्यालयमा हरेक ६÷६ महिनामा जूकाको औषधि तथा सामान्य स्वास्थ्य जाँचको व्यवस्था, बालकक्षा देखि कक्षा ५ सम्मका सम्पूर्ण भाईबहिनीहरुलाई पोषणयुक्त दिवा खाजाको व्यवस्था, महिनावारी हुने सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई विद्यालय समयमा सेनिटरी प्याडको व्यवस्था, हरेक स्थानिय तहमा विद्यालय नर्स कार्यक्रम लागू, माध्यमिक तहमा स्वास्थ्य फोकल पर्सनको व्यवस्था, नवनिर्मित नयाँ विद्यालय भवनमा वालमैत्री शौचालयको व्यवस्था गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा प्राथमिक तहमा दरवन्दि १७११ र राहात गरी ३८१ गरी २०९२ को संख्यामा शिक्षक कार्यरत छन् । त्यस्तै निम्न माध्यमिक तहमा दरवन्दि २७८ र राहात २९६ गरी ५७४ जना कार्यरत छन् । माध्यमिक तहमा दरवन्दि २९२ र राहात १६१ गरी ४५३ जना शिक्षक कार्यरत छन् । उच्च माध्यमिक दरवन्दि तथा अनुदान १२६ जना शिक्षक कार्यरत छन् । सामुदायिक सिकाइ केन्द्रमा ३४ जना र वालविकास केन्द्रमा ४९० जना कार्यरत छन् । काभ्रेपलाञ्चोक जिल्लामा पार्वती मा.वि., बेथानचोक गा.पा., प्रभा मा.वि., चौरीदेउराली गा.पा., संजीवनी मा.वि., धुलिखेल न.पा., जनक मा.वि., नमोबुद्ध न.पा. र भालेश्वर मा.वि., पनौती न.पा नमुना विद्यालय छन् । सामुदायिक विद्यलाय ५२७, संस्थागत १०२ गरी ६२९ वटा विद्यालय छन् । वालविकास केन्द्र ४९०, सामुदायिक सिकाई केन्द ३४, बहुप्राविधिक शिक्षालय २ (बनेपा पोलिटेक्निक प्राविधिक शिक्षालय र पनौती प्राविधिक शिक्षालय), विश्वविद्यालय १ (काठमाण्डौं विश्वविद्यालय), क्याम्पस १९ (सामुदायिक १६ र निजी ३) वटा छन् । द्वन्द्व पिडित र सहिद परिवारको छात्रवृत्ति पाउने १९ जना छन् ।









