धुलिखेल/सविधान जारी भएको ७ वर्ष पुरा भएको उपलक्ष्यमा जिल्ला कारागार कार्यालय काभ्रेमा रहेका ८ जना कैदी बन्दीहरु मुक्त भएका छन् । मुक्त हुनेमा डाँका चोरी, सवारी ज्यान, बहुविवाह, ज्यान मार्ने उद्योग, कर्तब्य ज्यान अभियोगमा आधा सजायँ भोगिसकेका कैदी बन्दी छन् ।
संविधान दिवसको अवसर पारी असोज ३ गते नेपाल सरकारले काभ्रेपलाञ्चोक जिल्ला कारागार कार्यालयले गरेको सिफारिसका आधारमा ८ जना कैदी बन्दीलाई जेलमुक्त गरेको हो । जेलमुक्त हुनेहरुमा नमोबुद्ध घर भई कर्तब्य ज्यान मुद्दामा सजायँ भोगिरहेका तेजकाजी विक छन् । त्यस्तै डाँका चोरी अभियोगमा २०७७ बैशाख २४ गते जेल परेका पाँचखाल ८ का सुजन गौतम छन् । उनलाई तीन वर्ष कैद र ३० हजार जरिवना तोकिएको थियो । त्यस्तै सोहि अभियोगमा श्रेष्ठसँगै जेल परेका सिन्धुपाल्चोक बाह्रविसेका सुबास मगर छन् । ज्यान मार्ने उद्योगमा २०७६ मसिंर २२ गते जेल परेका रोशी गाउँपालिका १ का पेमा भन्ने कान्छामान तामाङ, बहुविवाह अभियोगका बेथान्चोक गाउँपालिका २ का रमेश तिमल्सिना, सवारी ज्यान अभियोगका मण्डनदेउपुर ९ का निकेश श्रेष्ठ, सवारी ज्यान अभियोगका सिन्धुपाल्चोक जिल्ला जुगल ५ का सुरेश परियार र बहुविवाह अभियोगका रोशी गाउँपालिका ४ का मिलन विश्वकर्मा रहेका छन् ।
कैदीको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७५ को दफा ३७ बमोजिम भुक्तान गर्नुपर्ने कैद अवधी भुक्तानी फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७५ बमोजिम कट्टा मिल्ने देखिएकाले कैद भुक्तानका लागि सिफारिस गरिएको जेलर गायत्री अधिकारीले बताउनु भयो । कैद मिनाहा हुनेमा डाँका चोरी दुई जना, सवारी ज्यान अभियोगमा जेल परेका दुई जना, ज्यान मार्ने उद्योग, बहुविवाह अभियोगका दुई र कर्तब्य ज्यान अभियोगका एक जना रहेका छन् ।





