2026 August 27/ 10:49: 00am

    रविगाउँ/धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँमा भुकम्प पछि सेतीदेवी माध्यामिक विद्यालयले नयाँ भवन प्राप्त गरेको छ ।
    २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त विद्यालयको नवनिर्मित भवन धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो । नेपाल सरकार र एसियाली विकास बैंकको अर्थिक सहयोगमा ६ करोड ६ लाख १९ हजार ३ सय २२ रुपैयाँ लागतमा तीन तल्ले २२ कोठाको विद्यालय भवन निर्माण भएको छ । उक्त भवनमा पुस्तकालय, म्युजिक कक्षा, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, प्राथमिक उपचार कक्ष, बगैंचा तथा व्यवस्थित र आकर्षक कक्षा कोठा छन । यस्तै छात्र, छात्रा, अपांगता भएका व्यक्ति तथा कर्मचारीका लागि अलग अलग शौचालय निर्माण गरिएको छ ।
    विक्रम सम्वत २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा शिशु कक्षा देखी १२ कक्षा सम्म अध्यापन भइरहेको प्रधानाध्यापक धनबहादुर विष्टले जानकारी दिनुभयो । विद्यालयमा अहिले ४ सय ११ जना विद्यार्थी छन् । यस अघि विद्यालय भवन नहुँदा विद्यार्थी टहरामा बसेर पढ्न बाध्य थिए । सडक छेउमा टहरा भएकाले विद्यार्थीहरु जोखिममा थिए । २०७७ मंसिर ५ गते विद्यालय भवनको शिलान्यास गरिएको थियो । कोभिडका कारण समयमै सम्पन्न हुन नसके पनि सरकारले थपेको समायवधी आगामी असोज मसान्तसम्म थियो । समय सिमा भन्दा एक महिना अगाडी नै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको निर्माण व्यवसायी धनबहादुर तामाङले जानकारी दिनुभयो । भवन उद्घाटन कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, ३ नम्बर वडा अध्यक्ष गणेश आचार्य, धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, पुर्व वडा अध्यक्ष देवप्रसाद कोईराला, विष्णु धिताल, शिक्षा समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की, भवनका विनेश श्रेष्ठ, शिक्षा शाखाका पुर्व प्रमुख माधव शर्मा,  अभिभावक रमेश घोरसाईने लगायतले विद्यालयले प्रदान गरेको शिक्षाका बारेमा मन्तब्य राखेका थिए । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । २०७२ को विनाशकारी भुकम्पका कारण क्षति पुगेका विद्यालयको पुननिर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै ब्याञ्जुले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा जोड दिएको बताउनुभयो । धुलिखेल नगरपालिकाले उच्च शिक्षा अन्तर्गत स्नातक तहसम्म अध्ययन गर्ने धुलिखेल नगरपालिकाका स्थायी वासिन्दालाई पुर्ण निःशुल्क र अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीका लागि क्याम्पस र नगरपालिकाको लागत साझेदारीमा ५० प्रतिशत शुल्क मिनाहाको व्यवस्था गरेको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो । यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न बहुकक्षा बहुस्तर (एमजीएमएल) शिक्षण पद्दती सबै विद्यालयमा लागु गर्ने नगरपालिकाले नीति लिएको छ ।