2026 August 27/ 10:49: 03am

– राजश्व छली, सडक र सर्वसाधारण समस्यामा

मोतीराम तिमल्सिना
बनेपा

    कानून विपरीत कार्यपालिका छल्दै बनेपा नगरपालिका वडा नम्वर १४ स्थित खाल्चोकबाट निजी जमिनको माटो नेपाल नागरिक उड्डयन प्राधिकरणको पत्र देखाउँदै निर्यात हुन थालेको छ । प्रदेश कानुन विपरीत निकासी भईरहेको माटोको राजश्व वडा कार्यालयले असुल गरिरहेको छ । 
    बनेपा १४ खाल्चोकका साङगे लामा र र लर्ड बुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रा.लि.का मिम सिं तामाङले कानून विपरीत सम्झौता पत्र तयार गरी ३ हजार ३ सय ३३ टिप माटो विक्री गर्ने सम्झौता गरेका छन् । ‘ कानूनले तोके बाहेक माटो विक्री तथा निर्यात हुन सक्दैन’–बनेपा नगरपालिका राजश्व शाखा प्रमुख विनोद हुमागाईले भन्नुभयो–‘बनेपा १३ राहुल डाँडामा प्लटिङ्ग गरी ठुलो परिणाममा माटो कटिङ गर्दा पुरा गर्नु पर्ने कानूनी प्रकृया नपु¥याएकाले तत्काल रोक्न निर्देशन दिईएको थियो । माटो निर्यातमा प्रयोग भएका टिपरलाई कारवाही गरी प्रकृया पु¥याएर मात्रै माटो कटान गर्न निर्देशन दिने निर्णय भएको थियो ।’ बनेपा १४ खाल्चोकका बारेमा जानकारी नभएको हुमागाईले बताउनु भयो । 
    आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश हेटौडाले २०७७ असार २५ गते प्रमाणीकरण गरेको राजपत्रको अनुसुची ५ को दफा ९ सँग सम्वन्धित ढुंगा,गिटी, बालुवा, माटो, दहत्तर बहत्तर शुल्क सम्वन्धी ब्यवस्थामा माटोको स्वीकृत खानी क्षेत्र बाहेकमा प्रति घन फिट २ रुपैया ५० पैसा दर तोकेको छ । सोहि अनुसूचीको ६ नम्वर बुँदामा ब्यक्तिको निजी जग्गाबाट माटो विक्री गर्दा जग्गा धनीले नै कति घनफिट माटो विक्री गर्ने हो यकिन गरी सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्ने ब्यवस्था गरेको छ । सो सम्बन्धमा सम्बन्धित स्थानीय तहको कार्यपालिकाले निर्णय गरी बार्षिक रुपमा एकमुष्ट शुल्क लिने गरी ब्यवस्था मिलाउनु पर्नेछ । सार्वजनिक जग्गा तथा स्थान बाहेक ब्यक्तिको स्वामित्वमा रहेको निजी जग्गाको बाटो उत्खनन् गर्दा साँध सिमानामा पर्ने जग्गा धनीको लिखित स्विकृत भएको हुनु पर्ने, माटो उत्खनन्बाट प्राकृतिक श्रोतको दुरुपयोग, भौगोलिक संरचना, मानवीय बासस्थान, सार्वजनिक तथा ब्यक्तिगत भवन लगायतको संरचना, सडक, कुलो, नहर, साँध सिमानामा रहेको छिमेकीको जग्गाको सरचना आदिमा कुनै किसिमको असर नपरेको हुनुपर्ने उल्लेख छ । कानूनले तोकेको मापदण्ड कम्पनी र ब्यक्तिले पूरा गरेका छैनन् । माटो विक्री गर्ने ब्यक्तिले आफुले विक्री गर्न चाहेको माटोको परिणाम उल्लेख गरेर नगरपालिकामा निवेदन दिनु पर्नेमा त्यसो भएको छैन । तर नगरपालिकाको वडा नम्वर १४ ले प्रतिटिप ४ सय रुपैयाँ राजश्व लिईरहेको छ । ‘दैनिक ४० भन्दा धेरै टिप माटो १० चक्के टिपरमा ढाला थपेर निर्यात भएको छ’–स्थानीयले भने–‘वडा कार्यालयले ४० टिप लैजाँदा ४ टिपको मात्रै राजश्व लिने गरेको छ ।’ एकातिर राजश्व छलि भईरहेको छ भने अर्काेतिर राति माटो कटान गर्दा स्थानीयहरुलाई डिस्टर्ब भएको, माटो कटान क्षेत्रबाट साँगा भञ्ज्याङसम्म साँढे ३ किलोमिटर सडक क्षति पुगेको, धुलो, हिलोका कारण धार्मिक स्थल आशापुरी, विद्यालय तथा सोहि मार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई असर पुगेको भन्दै स्थानीयले वडा कार्यालयमा पटक–पटक जानकारी गराएका छन् । राजश्व लिएकाले आफुले थप केहि गर्न नसक्ने वडा कार्यालयले जानकारी दिएको छ । 
    वडा सचिव सत्यजित भैलले प्रति टिप ४ सयका दरले राजश्व लिएर माटो निर्यातका लागि सहजिकरण गरेको बताउनु भयो । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको पत्र अनुसार माटो निर्यातका लागि राजश्व लिएर सहजिकरण गरिदिएको हुँ’–वडा सचिव सत्यजित भैलले भन्नुभयो–‘कति टिप जान्छ त थाहा भएन तर हामीलाई जति लैजाने भनेको हुन्छ त्यतिको रसिद काटेर राजश्व लिएका छौ ।’ दिउँसो रसिद काटेर राति टिपर जाँदा अनुगमन नभएको सचिव भैलले बताउनु भयो । दैनिक कति टिप जान्छ ? काटिएका रसिद कसरी प्रयोग हुन्छन् ? जानकारी नभएको उहाँले बताउनु भयो । लिएको राजश्व नगरपालिकामा पठाउने गरिएको सचिव भैलले बताउनु भयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना निर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठले नगरपालिकालाई पत्र नलेखी वडामा माटो ढुवानी गर्ने टिप्पर संचालन गर्न सहिजकरण गरिदिन २०७९ भदौ ५ गते पत्र पठाएका छन् । स्थानीय साङगे लामा र लर्ड बुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रा.लि.का मिम सिं तामाङ बीच २०७८ चैत्र २१ गते माटो विक्री गर्ने सम्झौता भएको छ । सम्झौताका १० वटा बुँदा मध्ये पाँचौ बुँदामा माटोको कार्य गर्दा लाग्ने स्थानीय कर ठेकेदार कम्पनीले बुझाउने उल्लेख गरिएको छ । साविक नासिका ७ हाल बनेपा १४ को कित्ता नम्वर ४९९ र ५०० कित्ताका जग्गाबाट निस्केको माटो प्रति टिप १५० का दरले विक्री गर्ने तथा खरिद गर्ने पक्षले अग्रिम भुक्तानी बापत लुम्विनी विकास बैकमा ५ लाख जम्मा गरिदिने उल्लेख छ । चेक नम्वर ५७१०६७४ बाट उक्त रकम साङगे लामाको खातामा जम्मा भएको छ । उक्त रकमका आधारमा ३ हजार ३ सय ३३ टिप विक्री हुनेछ । थप कति विक्री हुने र कति रकम कसरी बुझाउने सम्झौतामा उल्लेख छैन । 
    साङगे र कम्पनी बीच भएको सम्झौता कार्यान्वयनका लागि भाद्र १३ गते भेला बसेको थियो । भेलामा सरोकारवाला भन्दा अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो । स्थानीयहरुले माटो विक्री गर्दा हुने समस्या र त्यसले पु¥याउने क्षतिका बारेमा जानकारी गराउँदै तत्काल विक्री गर्न नहुने बताएका थिए । माटो विक्री गर्दा प्रयोग गर्ने टिपर क्षमता भन्दा धेरै भएकाले सडकलाई क्षति पु¥याएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । कम्पनीले सडक निर्माण गरिदिने, बाटो छेउमा भएका घरहरुलाई २ लाख रकम उपलब्ध गराईदिने, माटो राति मात्रै १० चक्के टिपरमा बोक्ने निर्णय गराएको थियो । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको राष्ट्रिय महत्वको आयोजना विस्तारका लागि ठुलो परिमाणमा माटो आवश्यक पर्ने भएका, सो माटो खाल्चोक बनेपाबाट लैजान अवरोध नगर्ने गरी टिपरहरुलाई जान दिन वडालाई पत्र पठाएको छ । यति ठुलो परिमाणमा माटो निर्यात गर्न कानुन अनुसार कार्यपालिका बैठकले अनुमति प्रदान गर्नु पर्ने ब्यवस्था छ । तर निर्माण कम्पनी र ब्यक्तिले मात्रै गरेको सम्झौताका आधारमा माटो निर्यात भईरहेको छ । उक्त सम्झौताले नगरपालिकाले प्राप्त गर्नु पर्ने राजश्व गुमिरहेको छ भने स्थानीयहरुलाई माटो कटानका कारण समस्या परिरहेको छ ।