बनेपा/चौरीखोला लघु जलविद्युत आयोजनाका लाखौं मुल्य पर्ने सामाग्री एकलौटी ब्यक्तिगत कवाडीलाई विक्री गरिएको छ । स्थानीय शिक्षक समेत रहेका बमबहादुर लामाले गाउँपालिकाको सिफारिसका आधारमा कवाडीमा महत्वूर्ण सामान विक्री गराएका हुन् ।
स्थानीयको मौखिक उजुरीका आधारमा विक्री गरी काठमाडौ पु¥याईएका केहि सामान चौरीदेउराली गाउँपालिकाको प्राङ्गणमा सवारी साधन सहित नियन्त्रणमा राखिएको छ । अन्य केहि सामान जलविद्युत आयोजनामा नै अलपत्र अवस्थामा छाडिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानदास लामाले सार्वजनिक सम्पति बोलपत्र मार्फत लिलाम बढाबढमा विक्री गर्नु पर्ने भए पनि वडा कार्यालयले सिफारिस दिन नमान्दा नमान्दै विक्रीका लागि गरिदिएको सिफारिसका आधारमा शिक्षक बमहादुर लामाले विक्री गरेका हुन् । साविक धुशेनी शिवालयका सबै वडाहरु र माझिफेदा गाविसको वडा नम्वर १ मा उक्त आयोजनाको बत्ति बलिरहेको थियो । धुेशनी शिवालय हाल वडा नम्वर ४ मा पर्छ । माझिफेदा वडा नम्वर ३ मा पर्छ । केन्द्रिय लाईन सूचारु भए सँगै उक्त आयोजना बन्द भएको थियो । १० लाख रुपैयाँमा कवाडीको सामान विक्री गर्ने टुङ्गो लगाएर जलविद्युत आयोजनाका डुड लगायतका सामान विक्री भईसकेको छ । सरकारी सम्पत्ति क्षति भएकोमा कानूनी कारवाही गर्नुपर्ने स्थानीयको तर्क छ । विक्री भएका सामान फिर्ता गरिएको भए पनि थप प्रकृया अघि बढ्न सकेको छैन ।
माझिफेदामा गुम्बा बनाउने प्रयोजनका लागि शिक्षक बमबहादुरले कवाडीमा सरकारी सम्पति विना प्रतिस्पर्धा निर्णय बेगर नै विक्री गरेको स्थानीयहरुले बताएका छन् । प्रमुख प्रशासकिय अधिकृत मानदास लामाले वडाको सिफारिसका आधारमा पोल र तार काट्न सिफारिस दिएको बताउनु भयो । ‘एक स्थानको काट्नु पर्ने सामान अर्काे स्थानको काटिएछ’–प्रमुख प्रशासकिय अधिकृत मानदास लामाले भन्नुभयो–‘वडाको सिफारिसका आधारमा मैले सिफारिस दिएको हुँ ।’ वडा अध्यक्ष चित्रप्रसाद चौलागाईले आफुले कवाडीमा सामान विक्री गर्ने प्रयोजनका लागि कुनै पनि सिफारिस नदिएको बताउनु भयो । ‘सरकारी सम्पत्ति दुरुपयोग गर्ने तथा विक्री वितरण गर्ने प्रयोजनका लागि सिफारिस गरिएको छैन’– वडा अध्यक्ष चित्रप्रसाद चौलागाईले बताउनु भयो–‘चौरीखोला लघु जलविद्युत्तका सामान चोरी भएका छन् । चोरी भएका सामान बरामद गरिएको छ । केहि दिन पछि हुने छलफलबाट टुङ्गो लगाउने छौं ।’
प्रहरी चौकी ढाँडखर्कका इन्चार्ज रामशरण कोईरालाले आयोजनाका सामान चोरी भएको बताए । चोरी भएका केहि सामान नियन्त्रणमा लिएको भए पनि ब्यक्ति पक्राउ नपरेको कोईरालाले बताउनु भयो । वडाले सिफारिस नदिँदा नदिदै गाउँपालिकाले सिफारिस दिएका आधारमा कवाडीले सामान काठमाडौ पु¥याएको सूचना लगत्तै वडा अध्यक्ष चित्रप्रसाद चौलागाईको टोलीले सामान बरामद गरेको थियो । स्थानीयहरुले भने सामान विक्री गर्ने र लैजाने दुबै समुहलाई क्षतिपुर्ति सहित कानुनी कारवाही गर्नु पर्ने बताएका छन् ।





