– अब सधै उजुरी दिन सकिने
– ८६ लाखको ब्याज ४५ लाख ३ हजार
धुलिखेल/जग्गा प्लटिङ्ग र किलोमिटर ब्याजीको दादागिरीले सर्वसाधारण त्रसित छन् । सरकारले मिटरब्याजी विरुद्ध उजुरी दिन आब्हान गरे सँगै जिल्ला प्रशासन कार्यालयमा डरबाट उम्केर केहिले उजुरी दिएका छन् । अधिकांश पीडित उजुरी दिन डराएर प्रशासन कार्यालय पुगेनन् । सरकारले उजुरीको समय सिमा हटाउँदै सधै उजुरी दिन सकिने ब्यवस्था गरेको छ ।
‘सरकारले दिएको म्याद भित्र प्रशासन कार्यालयमा १७ जना पीडितले उजुरी गरेका छन्’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘म्याद भित्र आएका उजुरीका बारेमा अध्ययन भईरहेको छ । उजुरीको म्याद नभएकाले सर्वसाधारणले जहिले पनि उजुरी दिन सकिने ब्यवस्था छ ।’ सरकारले उजुरीका सन्र्दभमा छानविन गर्ने अधिकार प्रत्याजोनका लागि कार्यविधि तयार गरी प्रशासन कार्यालयमा पठाएको छ । प्रशासन कार्यालयले उजुरीका सन्दर्भमा कारवाही अघि बढाउने निर्णय भई नसकेकाले पीडित र पीडक दुवैको नाम गोप्य राखिएको छ । तर चेष्टालाई प्राप्त सूचना अनुसार ३५ जना विरुद्ध उजुरी दर्ता भएको छ ।
उजुरी पर्नेमा सहकारी र सहकारीका प्रबन्धकहरु, संचालकहरु, जग्गा ब्यवसायीहरु रहेका छन् । प्राप्त सूचना अनुसार बनेपाको एशिएन स्टार सहकारीका अध्यक्ष एवं स्वर्णिम सहकारीका प्रबन्धक दिनेश राउत, दिनेशको श्रीमती मनिषा मधिकर्मी राउत क्षेत्री, दिनेशका भाई उमेश राउत छन् । थप सहकारीका विवरणहरु प्राप्त हुँदैछन् । त्यस्तै गतिशिल सहकारी र सहकारीका प्रबन्धक बलराम पाठक विरुद्ध पनि उजुरी परेको छ । जिल्लाको विभिन्न क्षेत्रमा कारोवार गर्ने शिखरपुर होक्से घर भएका प्रताप सिं तामाङ, बनेपाका प्रविन लामा, भक्तपुर घर भई बनेपा बसोबास गर्ने दिनेश राउत, उमेश राउत, मनिषा मर्धिकर्मी राउत क्षेत्री, नवराज बानियाँ, राजकुमार बराल, आसमान तामाङ, दिपक थापा, बलराम सुवाल, अशोक लामा, युवराज अधिकारी, इन्द्रलाल तुसुजु, बलराम पाठक, कृष्ण बोहजु, रामकुमारी श्रेष्ठ, बद्रीबहादुर श्रेष्ठ,उर्मिला प्रधान, रामबहादुर कार्की, राधेलक्ष्मी लखाजु (त्वायना), पूर्णकुमारी अधिकारी, लोकनाथ अधिकारी, विजया अधिकारी सापकोटा, सनिल भालु, राजनबहादुर दाहाल लगायत छन् । त्यस्तै रोशी घर भएका रक्तिम तामाङ लगायत विरुद्ध पनि उजुरी दर्ता भएको छ ।
बनेपामा वर्षाै देखि किलोमिटर ब्याज चलाउने विरुद्ध पनि उजुरी परेको छ । पूर्ण विवरण प्राप्त हुन सकेको छैन । किलोमिटर ब्याजीले पीडितहरु मध्ये केहिलाई कुटपिट गरी जिल्ला आउन दिएका छैनन् उनिहरु उजुरी गर्न सक्ने अवस्थामा छैनन् । मिटर ब्याजीहरुले पीडितहरुसँग रकम लिनु अगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले चेक अनादार मुद्दामा जेल जान थालेका छन् । मिटर ब्याजीहरुले खाली चेकमा मनलाग्दी रकम भरिरहेका छन् । ८६ लाख सापटीको ४५ लाख ३ हजार ब्याज बुझाएका छन् । बनेपाका राजकुमार प्रजापतिले राजकुमार बराललाई उक्त ब्याज बुझाएका हुन् ।
शान्तिले मच्चाएको अशान्ति
काभ्रेपलाञ्चोक जिल्लामा किलोमिटर ब्याजीहरुले वितण्डा शुरु गरेका छन् । पेशा, ब्यवसाय गर्न सापटी रकम लिएकाहरुलाई चर्काे ब्याज लिएर किलोमिटर ब्याजीहरुले सर्वसाधारणलाई त्रसित बनाएका छन् । पीडितहरु भने प्रशासनमा उजुरी लिएर जान सकेका छैनन् । जग्गा कारोबार गर्न ऋण लिएका दिपक थापा ब्यवहार मिलाउन नसकेर तनावमा छन् । घरमा लागेको ताला खुले पनि उनले पास गरेर दिएका जग्गाहरु फिर्ता नहुँदा उनले ऋण लिएका ब्यक्तिहरुको रकम फर्काउन सकेका छैनन् । उनले रकम नर्फकाएका कारण अरु पनि तनावमा छन् । बनेपामा अशोक हार्डवेयर संचालन गरिरहेका अशोक लामा पनि किलोमिटर ब्याजकै कारण तनावमा छन् ।
नमोबुद्ध नगरपालिका ११ कुरगाउँ घर भई पाँचखाल अनेकोटमा विवाह गरेकी शान्ति तामाङ किलोमिटर ब्याजकै कारण प्रहरी हिरासतमा छिन् । उनले लिएको करोडौ रकम तिर्न नसकेकै कारण सासुका नाममा भएको ११ रोपनी जमिन, बाबु र दिदीका नाममा भएको जमिन समेत परिवारका सदस्यहरु कसैलाई खबर नगरी विक्री गरेकी छिन् । श्रीमान्लाई समेत जानकारी नदिई उनको नामको चेक दिएर अर्काे वितण्डा गरेकी शान्ति र रोशी मंगलटारकी साईली तामाङले किलोमिटर ब्याजीहरुसँग कारोवार गरिरहेका थिए । शान्ति र साईली अनेकोट पुगेर सुकुुमाया तामाङको नाममा रहेको ११ रोपनी जमिन लिएका थिए । साईलीले शुरुमा आफ्नो नाममा उक्त जग्गा पास गराएकी थिईन् । २०७८ चैत्र ८ गते सुकुमायालाई जालसाझी गरेर श्रीमान् र छोरालाई समेत जानकारी नदिई गुपचुप ढंगबाट शान्ति र साईलीले जग्गा विक्री गराएका थिए । साईलीले उक्त जग्गा २०७८ चैत्र २८ गते अनेकोटकै सुर्यबहादुर तामाङलाई ४४ लाख रुपैया थैली राखेर विक्री गरेकी थिईन् । तर उनले २८ लाख मात्रै लिएको बयान दिएकी छिन् । प्रहरीले साईली र शान्तिलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ । साईलीलाई प्रशासनले अभद्र ब्यवहारमा १० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । उनि छुटिसकेकी छिन् ।
प्रहरीले साईली र शान्तिलाई पक्राउ गरेसँगै साईलीका श्रीमान् पञ्चबहादुरले बन्दी प्रत्यक्षीकरणमा उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए । आईतबार भदौ ५ गतेसम्म रिट निवेदनमा जवाफ दिनु पर्ने गरी आएको म्याद शान्तिका पूर्व श्रीमानले बुझेका थिए भने जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बुझेको थियो । उक्त मुद्दा उच्च अदालतले खारेज गरिदिएको छ । साईलीका श्रीमान्ले दर्ता गरेको रिटमा १ करोड ५७ लाख ३५ हजार नगद शान्तिबाट आफुले लिईसकेको बताएका छन् भने बाँकी ५० जना जतिको ७ करोड जति रकम लिन बाँकी रहेको बताएका छन् । साईलीका श्रीमान् पञ्चबहादुर तामाङले शान्तिका यसअघिका श्रीमान्लाई पटक पटक धम्कि दिएका थिए भने शान्तिले श्रीमान्को नामको चेक दिएका आधारमा क्षितिज लामालाई १० लाख रुपैयाँ तिरेका थिए । शान्तिले प्रहरीसँग श्रीमान्, ससुरा, सासुलाई जानकारी नै नदिई आफुले कारोवार गरेको बयान दिएकी छिन् । घर विग्रने डरमा शान्तिका श्रीमान्ले श्रीमतीले गरेको पहिलो गल्तिलाई माफ दिदै उनले आफुले सहि गरेको चेक झुक्याएर क्षितिज लामालाई दिएको भए पनि रकम तिरिदिएका थिए । शान्ति आफैले श्रीमानको सहि गरेर दिएको अर्काे चेक चित्र तामाङसँग पनि छ । त्यो पनि नक्कली नै हो तर शान्तिले पैसा तिर्ने भाका सार्न उक्त चेकको दुरुपयोग गरेकी थिईन् । शान्तिले गरेको कारोवार श्रीमान्लाई जानकारी नभए पनि पैसा लिनु पर्ने ब्यक्तिहरुले दवाब दिन थाले पछि मात्रै शंकाले शान्ति र श्रीमान्को भनाभन भएको थियो । त्यसपछि मात्रै श्रीमान्ले थाहा पाए कि आफ्नै आमाको नाममा भएको जग्गा पनि श्रीमतीले विक्री गरिसकेकी रहिछन । त्यहि विषयले उग्र रुप लिए पछि शान्तिले २०७९ साउन १७ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सम्बन्ध विच्छेद गरेकी छिन् । सम्बन्ध विच्छेद अगावै महाभारतका मोक्तान थरका युवासँग उनि रिलेसनसिपमा रहेको खुलेको छ । उनकै कारण ति युवाको श्रीमतीले ७ महिना अघि आत्महत्या गरेकी थिईन् । शिक्षक समेत रहेका ति युवाले शान्तिले दिएको झण्डै दुई करोड चलाएको बताएका छन् । श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी शान्तिले ६० हजार रुपैयाँ तिरेर अर्जेन्ट राहदानी बनाएकी छिन् । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएर अर्जेन्टमा राहदानीका बनाईसकेको अनुसन्धानबाट खुलेको छ । उनले विभिन्न ब्यक्तिसँग लिएको रकम कहाँ खर्च गरिन् ? उनले तिरेको किलोमिटर ब्याजको रेकर्ड ? मिटर ब्याज लिने ब्यक्तिहरुका बारेमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । स्वंय साईली तामाङका श्रीमान पञ्चबहादुर तामाङका बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उता बाल निकेतन माविका दिलिप मुखियालाई पनि किलोमिटर ब्याजीहरुले हैरानी पारेका छन् । बनेपाका विभिन्न ब्यक्तिहरुसँग लिएको ऋण सापटी रकम समयमै फिर्ता गर्न नसकेका दिलिपले दिएको चेकलाई आधार बनाउँदै मिटर ब्याजीहरुले चेक अनादारमा मुद्दा दर्ता गरिरहेका छन् । २५ लाख दिनेले डेड करोड लिईसकेका छन । ४० लाख दिनेले ४ करोड भनिरहेको छ । खाली चेकमा कारोवार गरे पछि किलोमिटर ब्याजीहरुले आफु खुशी रकम भरेर चेक अनादारको मुद्दा दर्ता गरिरहेका छन् ।





