2026 August 26/ 02:07: 01am

– सेवाग्राहि आउँछन् मध्यरातमा

    धुलिखेल/सेवाग्राहीहरुको चापका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न कार्यालयको समन्वयमा विहान ७ बजे देखि साँझ साढे ७ बजेसम्म सेवा दिन थालेको १६ दिन भएको छ तर सेवाग्राही मध्यरात देखि लाईनमा बस्न छाडेका छैनन् ।
    ‘राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरु मध्यरातबाट लाईन बस्न थालेसँगै त्यसलाई रोक्न प्रशासन कार्यालयमा भएको जनशक्तिको अलावा थप जनशक्ति ब्यवस्थापन गरेर विहान ७ बजेबाट साँझ ७ बजेसम्म सेवा प्रारम्भ गरेका छौं’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘सेवाग्राहीहरुले तोकिएको समय भित्र आउँदा पनि सेवा उपलब्ध हुन्छ भन्ने विश्वास दिलाएका छौं तर पनि उहाँहरु लाईन बस्न छाडनु भएको छैन ।’ राष्ट्रिय परिचयपत्रका लागि जिल्लामा दुईवटा क्यामेरा स्टेशन राखिएको छ । दैनिक ८० जनाको क्षमता हुँदा पनि एकसय भन्दा धेरैको फोटो खिच्ने गरिएको थियो । अहिले दैनिक १ सय ५० भन्दा धेरैको फोटो खिचाउँदा पनि सर्वसाधारणको लाईन घटेको छैन । प्रशासन कार्यालयले भिड ब्यवस्थापनका लागि १३ वटा पालिकालाई बार अनुसारको समय तोकेको छ । उक्त समय भित्र परिचयपत्र बनाउन आउनेहरुको भिडले प्रशासन कार्यालय अस्तब्यस्त बनेको महिनौ भई सकेको छ ।
    ‘राष्ट्रिय परिचयपत्रका लागि बनेपामा रहेको निष्ट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले विहान ११ बजेबाट साँझसम्म निःशुल्क सहयोग गरिरहेका छन्’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘कार्यालयमा कार्यरत कर्मचारी विहान ७ बजे देखि साँझ साँढे ७ बजेसम्म निरन्तर कृयाशील छन् । थप सेवा सुविधा उपलब्ध गराउन सकिएको छैन । तर पनि नागरिकको सेवाका लागि उहाँहरु निरन्तर खटिईरहनु भएको छ ।’ अधिकृत परशुराम थापाको नेतृत्वमा अन्य कर्मचारीहरुको टिम निरन्तर साँढे १२ घण्टा सेवामा खटिएको भए पनि सेवाग्राहीले भने गुनासो गरिरहेका छन् । ‘स्टेशन नथपिँदा सम्म समस्या समाधान हुने देखिएन’– अधिकृत परशुराम थापाले भन्नुभयो–‘दैनिक साँढे १२ घण्टा काम गर्दा पनि नागरिकहरुको चित्त बुझाउन सकिएको छैन ।’
    राष्ट्रिय परिचयपत्रको फाराम अनलाईन भर्नु पर्नेछ । एउटा फाराम भर्न १५ मिनेट लाग्छ भने त्यस पछि फोटो खिचाउने प्रयोजनमा १० मिनेटको समय खर्च हुन्छ । निस्ट कलेजका विद्यार्थीहरुले फाराम भरिदिँदा समयको बचत भएको छ । यसअघि नागरिकहरुले आफै फाराम भरेर ल्याउँदा कम्प्युटर इन्ष्टिच्युटहरुले मनलाग्दी पैसा लिएको उजुरी पछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कार्यालय भित्रै उक्त सेवा दिने निर्णय गराएसँगै नागरिकहरुको रकम बचत हुन थालेको छ । ‘नागरिकहरुलाई ४÷५ सय सम्म फाराम भर्न लिएको उजुरी आए पछि बाहिर फाराम भर्न बन्द गरेर कार्यालय भित्रै शुरु गरेका हौं’– प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘केहि ढिला भए पनि नागरिकहरु ठगिनबाट जोगाउँ भन्ने उद्देश्य हो ।’ स्टेशन थप्न र जनशक्ति ब्यवस्थापनका लागि गृह मन्त्रालयमा पटक–पटक अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो । रोशी गाउँपालिका घर भई भक्तपुर डेरा लिएर बस्ने सिता तामाङका श्रीमान् रातको १ बजे लाईन बसेर विहान ७ बजे श्रीमती सीताको फोटो खिचाए । सीताले बनाएर राखौं भन्ने उद्देश्यले मात्रै परिचयपत्र बनाएको बताउनु भयो ।
    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि राहदानी बनाउनेहरुको चापका साथै नयाँ नागरिकता बनाउनेहरुका कारण राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड बढेको बताउनु भयो । जिल्लामा अभियानका क्रममा २ लाख ८ हजार नागरिकको परिचयपत्रका लागि फोटो खिचाएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा ६ हजार ४ जनाले फोटो खिचाए । आर्थिक वर्ष २०७८÷०७९ मा १३ हजार ९ सय ८४ जना र २०७९/०८० मा ८ हजार ६ सय ८९ जनाले फोटो खिचाएका छन् ।