2026 August 26/ 02:07: 04am

    धुलिखेल/बनेपा नगरपालिका वडा नम्बर ५ मा हुँदै नभएको जग्गा विक्री गर्ने गिरोहलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा दर्ता भएको मुद्दा प्रहरीले संगठित अपराधमा परिणत गरी थप अनुसन्धान शुरु गरेको हो ।
    ‘जग्गा ठगीसँगै सरकारी छाप दस्तखत किर्ते अभियोगमा थप अनुसन्धान आवश्यक भएको र उक्त अपराध संगठित देखिएकाले ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगको मुद्दालाई सरकारी वकिल कार्यालयको परामर्शमा संगठित अपराधमा बदलिएको हो’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘सोहि अभियोगमा एकपछि अर्काे ब्यक्ति जोडिदै गएको अनुसन्धानले देखाएको छ । पछिल्लो समय रवि रेग्मिले विक्री गरेको भनिएका जग्गाको प्लटिङ्ग तयार गरी कागजमा कित्ता तयार गर्ने इन्जिनियर पक्राउ परेका छन् ।’ खानीखोला ५ ताल्ढुंगा घर भई बनेपा बस्दै आएका निर्मल लामालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि मालपोत कार्यालय काभ्रेका दुई कर्मचारी शशित भण्डारी र रामविनय यादवलाई पक्राउ गरिएको थियो भने उजुरी परे लगत्तै जग्गा ठगिका मुख्य योजनाकार भनिएका रवि रेग्मी पक्राउ परेका थिए । उनको योजना सफल बनाउने मध्येका लेखापढी ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान् फरार छन् । उनिहरु विरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजतलास गरिरहेको छ ।
    धादिङ घर भएका रवि रेग्मीले साविक बनेपा १ हाल बनेपा ५ मा पर्ने खोला किनारको जमिन देखाउँदै ७६ कित्ताको प्लट बनाएर नक्कली कागजात तयार गरी ठगि गरेका थिए । ‘एउटै प्लट देखाएर ठगिनेहरु मध्ये ८ जनाको उजुरी परेको छ’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘थप पीडितहरु आउने क्रम जारी छ । अनुसन्धान जारी भएकाले थप विवरण आउनै बाँकी छ ।’ पीडितहरु गणेश मैनालीको ३२ लाख ७० हजार, सिता तिमल्सिनाको ३३ लाख ३ हजार ७ सय ५०, रुकमणी हुमागाईको २३ लाख ३ हजार ७ सय ५०, निर्मला उप्रेतिको ४६ लाख ५१ हजार ८ सय ७५, लालकृष्ण घिमिरेको ५४ लाख, पुण्यवती श्रेष्ठको ३८ लाख ५० हजार ६ सय २५ रहेको छ । जग्गा किन्न बैना रकम दिनेहरु बालकृष्ण श्रेष्ठ ५० लाख र बाबुकाजी श्रेष्ठको ५ लाख रहेको छ ।
    प्रहरीले सोहि प्लट अन्य गरी ३० वटा भन्दा धेरै पुर्जा एकीन गर्न फरेन्सिक ल्याबमा पठाई सकेको छ । बनेपा ५ मा गुठीमा रुपमा राखेका ज्ञानबहादुर शाही, जीवन शाही, चन्द्रबहादुर शाहीको जग्गाका साथै रेवती दाहाल र अर्जुन दाहालको नाममा रहेको जग्गा देखाउँदै रेग्मीले सर्वसाधारणलाई ठगेका थिए  अनुसन्धानमा रेग्मिका २६ वटा खाता फेला परेको छ । आफ्नो खाताबाट अन्यलाई पैसा पठाउने गरेको खुलेको छ । उनले डेढ करोड रकम दिएर बैना गरेका ५ वटा जग्गा पनि नक्कली देखिएको छ । नक्कली जग्गाको बैना गर्नेहरुमा सहकारीका संचालकहरु छन् । त्यो कागज र सहकारीका संचालकहरुले पनि आफुलाई थाहा नभएको बताएको छ । प्रहरीले सहकारीका संचालकहरुको बयान लिएको छ । रेग्मिले खरिद गरेका जग्गाहरुको लगत संकलन प्रहरीले गरिरहेको छ ।