2026 August 26/ 02:07: 00am

पुर्व मन्त्री गोकुल बास्कोटा क्षेत्र नम्वर २ बाट उठ्ने
    धुलिखेल/स्थानीय तहको निर्वाचन सकिएको ७ महिना पछि हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खिचडी शुरु भएको छ । स्थानीय तहमा सत्ता गठवन्धनले गरेको बैद्यानिक कब्जाको विरुद्धमा अन्य दलले विरोध गराएका छन् । 
    चुनाव घोषणा भए लगत्तै उम्मेदवारहरुको चर्चा शुरु भएको छ । एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा पुनः गोकुल बास्कोटालाई उम्मेदवार बनाउने छ भने प्रतिनिधि सभा १ र प्रदेश सभाहरुका बारेमा छलफल चलाएको छ । सत्ता निकट दलहरुको गठबन्धनका कारण कोहि बोल्न सकेको छैन । कुन क्षेत्र कसलाई छाड्नु पर्ने हो ? पर्ख र हेरको अवस्थामा सत्ता निकट दलहरु काँग्रेस, माओवादी र नेकपा समाजबादी रहेको छ भने अन्य सानादहरु उम्मेदवारी दिने तयारीमा जुटेका छन् । एमालेले आन्तरिक छलफलसँगै सर्वसम्मत उम्मेदवार टुङ्गो लगाउने प्रयास गरेको छ । 
    यसअघि अवसर नपाएका पार्टीका कृयाशिल र पुराना नेताहरु, पूर्व जनप्रतिनिधिहरु, अन्य पार्टीबाट एमालेमा समाहित भएकाहरुलाई पार्टीले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभा तर्फ २ र प्रदेश सभा तर्फ ४ वटा निर्वाचन क्षेत्र कायम छन् । झण्डै ३ लाख ११ हजार मतदाताले मतदानमा भाग लिनेछन् । एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे इन्चार्ज तथा पुर्व मन्त्री गोकुल बास्कोटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ बाट उठ्ने तयारी गरेका छन् । बास्कोटा मन्त्री हुँदा काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय गौरवका आयोजनाहरुमा अरवौ रकम विनियोजन गरेका थिए । 

एमालेको तयारी प्रशिक्षण
    नेकपा एमाले काभ्रेले चुनावी प्रशिक्षण शुरु गरेको छ । जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुका लागि आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी स्वरुप प्रशिक्षण आयोजना गरिएको एमाले काभ्रेले जानकारी दिएको छ । 
    एमाले सचिव योगेश भट्टराईले गठवन्धनका कारण मुलुकमा अस्थिरता र संकट उत्पन्न भएको बताउँदै आगामी निर्वाचनबाट गठवन्धनलाई परास्त गरी मुलुकको समृद्धीको यात्रालाई निरन्तरता दिनुपर्ने बताउनु भयो । ‘गठबन्धन नेतृत्वको सरकार र दलहरु मुलुकमा अस्थिरता निम्त्याउँदै सद्भाव भड्काउन खोजिरहेका छन्’–सचिव योगेश भट्टराईले भन्नुभयो–‘एमाले जातीय तथा क्षेत्रिय र सामाजिक सद्भाव कायम राख्न निरन्तर सक्रिय छ ।’ नेपालमा सद्भाव भड्काउन गठवन्धनको बलमा विदेशी शक्तिहरु समेत सक्रिय भएको भट्टराईले बताउनु भयो । ‘शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिका र चीनको लडाईमा नेपालको भूमी मैदान बनाउन दिदैछ’–सचिव भट्टराईले भन्नुभयो –‘असंलग्न राष्ट्रको सिद्धान्त विर्सेर नेपाललाई लडाईको केन्द्र बनाउने गठवन्धन सरकारको योजना नेपाली जनताले आगामी मसिंरको निर्वाचनबाट परास्त गर्नु पर्छ ।’ 
    एमाले सचिव भट्टराईले ३३ सिटमा झरेको, बुढानिलकण्ठमा ¥याल चुहाएर बसेको, प्रतिस्पर्धाबाट भागिसकेको काँग्रेसलाई सत्ता सुम्पन्न प्रचण्ड र माधव नेपालले गरेको गलत कृयाकलापको साक्षी बस्न नसकेको बताउनु भयो । ‘समाजबादमा जाने भन्दैमा सम्भव छैन, त्यसका लागि असल चालक आवश्यक छ, प्यासेन्जर बस्ने सिटमा बसेर समाजबादको यात्रा तय हुन सक्दैन’–सचिव भट्टराईले भन्नुभयो–‘समाजबादको यात्रा नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीले मात्रै संचालन गर्न सक्नेछन् । काँग्रेस र एमाले जाने बाटो फरक छ । फरक बाटो हिड्नेहरुसँग काँध मिलाएर प्रचण्ड र माधव नेपाल समाजबादको बाटोमा पुग्न सक्दैनन् ।’ विगतका आन्दोलनहरुमा एमाले सहयात्री बनेको बताउँदै एमाले सचिव भट्टराईले संविधान जारी गर्ने अगुवाई तत्कालिन संविधान सभा अध्यक्ष सुबास नेम्वाङ्गले गरेको स्मरण गराउनु भयो । ‘राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री शुशिल कोईराला डराएर भागिरहेका बेला अध्यक्ष सुवास नेम्वाङ्गले संविधान संविधान सभाबाट पारित गर्ने चेतावनी दिनु भयो’–भट्टराईले भन्नुभयो–‘काँग्रेसले संविधान जारी भएको पर्सिपल्टबाट संविधान जलाउने आन्दोलन गर्न निर्देशन दियो ।’ आगामी निर्वाचनबाट सत्ता गठबन्धनले मुलुकलाई भड्खालोमा हाल्न गरेका गतिविधिको भण्डाफोर गर्दै नेकपा एमालेले शुरु गरेको मुलुक निर्माणको अभियानलाई अघि बढाउन जनताको जाने तयारीमा जुटन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । 
    आगामी निर्वाचन र राष्ट्रिय राजनीतिका सन्र्दभमा एमाले सचिव योगेश भट्टराईले प्रशिक्षण दिनुभयो भने जनताको बहुदलीय जनबादको मान्यता अनुरुप पार्टी संगठन निर्माणका सन्दर्भमा स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटीका इन्चार्ज काशिनाथ अधिकारीले प्रशिक्षण दिनु भएको थियो । पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाका सन्दर्भमा प्रशिक्षण दिनु भएको थियो । बागमति प्रदेश कमिटी सचिव विजय सुवेदीले प्रदेशका समग्र जिल्लामा पार्टीका प्रशिक्षण र भेला तथा तयारीका बारेमा जानकारी गराउनु भएको थियो । एमाले अध्यक्ष अशोक ब्याञ्जुले काभ्रे जिल्लाको समग्र परिस्थिति र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । 
    स्थायी कमिटी सदस्य काशिनाथ दाहालले मुलुकलाई अघि बढाउन नेकपा एमालेको विचार अब्बल भएको बताउनु भयो । माओवादीहरु हतियार विसाएर एमालेको जनताको बहुललिय जनवादको अभियानमा आएको बताउँदै सिगो मुलुक नै एमालेको विचारको केन्द्रमा अघि बढिरहेको बताउनु भयो । एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचनमा एमालेले जिल्लाका सबै सिटमा जित हासिल गर्ने बताउनु भयो । कार्यक्रममा जिल्लाका ६ सय भन्दा धेरै अगुवा कार्यकर्ता सहभागी थिए । एमालेले भदौ १५ अगावै सबै संगठित सदस्यको सदस्यता नविकरणको अभियान जारी राखेको छ भने सबै जनवर्गिय संगठन, गाउँ तथा नगर कमिटी र वडा कमिटीको बैठक तथा चुनावी तयारी गर्न परिपत्र गरिसकेको छ । पहिलो चरणको अभियान भदौ २० मा सकिए लगत्तै दोश्रो चरणको कार्यक्रम तय हुने एमाले सचिव राजन भुर्तेलले जानकारी दिनुभयो । प्रशिक्षणमा एमाले केन्द्रीय सदस्यद्वय रेशम लामा र रुकमणी राना, प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी तथा प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु र सदस्यहरु, गाउँ कमिटीका पदाधिकारीहरु, जनवर्गिय संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  

काभ्रेमा सारिए १७ मतदान स्थल 
    निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले राजनीतिक दलहरको सर्वदलिय सहमतिका आधारमा जिल्लाका १७ वटा मतदान स्थलका मतदान केन्द्र परिवर्तन गरेको छ । आयोगले केन्द्रमा पठाएको निर्णयमा दलहरुको सर्वसम्मति निर्णय छ । 
    खानीखोला गाउँपालिका वडा नम्वर २ मा रहेको साविकको गाविस भवन फलामेटारको मतदान केन्द्र बालविकास माविमा सारिएको छ । उक्त स्थानमा साविकका १ हजार २ सय २८ मतदाता रहेका छन् । तेमाल गाउँपालिका वडा नम्वर ९ मा रहेको कुशेश्वर मावि मेच्छे पौवाको मतदान केन्द्र वडा कार्यालयमा सारिएको छ । उक्त केन्द्रमा यसअघि २ हजार ९ सय २८ मतदाता छन् । सबैभन्दा धेरै नमोबुद्ध नगरपालिकामा मतदान केन्द्र परिवर्तन भएका छन् । नमोबुद्ध नगरपालिका वडा नम्वर २ को जनकल्याण मावि बुच्चाकोटको केन्द्र वडा कार्यालयमा सारिएको छ भने वडा नम्वर ३ को कालिका आधारभुत विद्यालय भेडाबारीबाट वडा कार्यालयमा सारिएको छ । त्यस्तै वडा नम्वर ६ को कालिगंगा आधारभुत विद्यालय चरङ्गेफेदीबाट वडा कार्यालयमा सारिएको छ । 
    त्यस्तै नमोबुद्ध नगरपालिका वडा नम्वर ९ को बागदेबी आधारभूत विद्यालय भवन बाग्माराबाट नेपाने बुद्धपार्कमा केन्द्र सारिएको छ । वडा नम्वर १० को च्यामथुम्का पाटीबाट पञ्चकन्या माविमा सारिएको छ । पनौती नगरपालिका वडा नम्वर २ को वडा भवन कुशादेवीबाट कुशादेवी मावीमा सारिएको छ । वडा नम्वर २ को ३ नम्वर वडा कार्यालय नयाँपुलबाट विहावार आवासीय मावीमा सारिएको छ । वडा नम्वर ६ को वडा कार्यालय दलिन्चोकबाट गोरखनाथ आधारभुत विद्यालय दलिन्चोकमा सारिएको छ । पाँचखाल नगरपालिकाको वडा नम्वर ३ समाजकल्याण प्रावि तामाघाटबाट दुग्धेश्वरी माविमा सारिएको छ भने महाभारत गाउँपालिका वडा नम्वर ५ को गाविस भवन बुढाखानीबाट ग्रामोन्नती मावि चार किल्ला सारिएको छ । वडा नम्वर ६ को गाविस भवन बनखुचौरबाट आजाद माविमा सारिएको छ । रोशी गाउँपालिका वडा नम्वर ५ को गाविस भवन लुरपुङ्गडाँडाबाछ भुमिस्थान माविमा सारिउको छ । बनेपा नगरपालिका वडा नम्वर १२ का दुबै केन्द्र सारिएको छ । वडा कार्यालय देउरालीबाट गणेशभारती माविको नयाँ भवनमा सारिएको छ भने गणेश भारती मावीको नयाँ भवन देउरालीबाट वडा कार्यालय देउरालीमा सारिएको छ । परिवर्तन हुने मतदान केन्द्रका सबै मतदाताहरुको सारिएको निर्वाचन कार्यालय काभ्रेका जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । काभ्रेमा १ सय ८९ वटा मतदान स्थल छन् भने ३ सय ८१ मतदान केन्द्र छन् । 

८ हजार ६ सयले फोटो खिचाए
    स्थानीय तहको निर्वाचन २०७९ को बैशाखका लागि तयार भएका मतदाताहरुमा यो पटक ८ हजार ६ सयले थप फोटो खिचाएका छन् । यसअघि ३ लाख ३ हजार ५ सय ६० मतदाता योग्य थिए । २०७९ साल बैशाख २९ गतेसम्म योग्य ठानिएका मतदाता भन्दा पछि केहि हजारको संख्यामा थपिने आयोगले जानकारी दिएको छ । त्योबेला १८ वर्ष नपुगेका तर फोटो खिचाएका केहि ब्यक्तिहरुको नामावली थपिएर आउनेछ । बाहिरी जिल्लाका केहि मतदाताहरुले काभ्रेबाट नै फोटो खिचाएका छन् । निर्वाचन आयोगले रुजु गरिरहेको नामावलीको अन्तिम परिणाम केहि दिनपछि मात्रै आउने छ । काभ्रेमा करिब ३ लाख ११ हजार भन्दा जति मतदाता हुनेछन् ।

२०७४ मा यस्तो थियो मत परिणाम 
    २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । पछि पार्टी एकिकरण गर्ने गरी निर्वाचनमा होमिएका एमाले र माओवादीले जिल्लाका दुई प्रतिनिधि सभा र चारवटा प्रदेश सभामा विजय हासिल गरेको थियो । माओवादीले प्रतिनधि सभा १ र सोहि क्षेत्रको क निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को ख र प्रतिनिधि सभा क्षेत्र नम्वर २, २ को क र ख दुबैमा उम्मेदवारी दिएर विजय हासिल गरेको थियो । 
    बाम गठबन्धनका उम्मेदवार अत्याधिक मतले विजयी भएका थिए । अहिले एमाले र माओवादी अलग अलग भईसकेको छ भने माओवादी र एमाले दुबै चोईटिएका छन् । एमालेबाट निर्वाचित भएका प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का अन्र्तगतको प्रदेश सभाका दुई वटै विजयी नेता अर्काे पार्टीमा गएका छन् । एमालेको आफ्नै मत भने जिल्लाका अन्य पार्टीको तुलनामा धेरै छ । गठबन्धनको चर्चा चलिरहेकाले यो पटकको निर्वाचन फरक हुने विश्लेषण गरिएको छ । एमाले पोलिटब्युरो सदस्य समेत रहेका गोकुल बास्कोटा पूर्व मन्त्री हुन् । मन्त्री भएका बखत काभ्रेको विकासका लागि उनले शुरु गरेका कयन योजना अहिले पाईप लाईनमा छन् । जिल्लाकै कायापलट हुने गरी विनियोजन भएको बजेटको पूर्ण कार्यान्वयन र केन्द्रीय राजनीतिको मियोका रुपमा रहन पनि बास्कोटाको विजय अनिर्वाय मानिएको मतदाताले बताएका छन् । यस अघि मन्त्री भएकाहरुले पनि बास्कोटाको जति योजना र बजेट जिल्ला भित्र्याउन सकेका थिएनन् । बरु अहिलेको गठबन्धनले जिल्लाका विभिन्न योजनामा विनियोजन भएको रकम कटौती गरेर चालु योजनालाई अधुरो बनाएको छ । 
    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा गठवन्धन तर्फका नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा १७ हजार ८ सय ४८ फराकिलो मतान्तरले विजय भएका थिए । बास्कोटाले ९९ हजार ३ सय २८ मा बास्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गरेका थिए । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए । सोहि क्षेत्रमा ४ हजार ९९ मत बदर भएको थियो । सुर्य चिन्ह जस्तै देखिने नेपाली जनता दलले १ हजार ८८ मत प्राप्त गरेको थियो । बास्कोटा २०७० को संविधान सभाको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए । अहिले ५० हजार भन्दा धेरै मत ल्याउने उम्मेदवारहरु मध्ये बास्कोटा तेश्रो हुन् । सोहि प्रतिनिधि सभाको प्रदेश सभा १ मा नेकपा एमालेका लक्ष्मण लम्साल २७ हजार ६ सय २१ मत ल्याएर विजयी भएका थिए । ११ हजार ३२ मतान्तर फराकिलो मतान्तरले नेपाली कांग्रेसका सुरन्दरमणी आचार्यलाई लम्सालले पराजित गरेका हुन् । आचार्यको १६ हजार ५ सय ८९ मत प्राप्त भएको थियो । प्रदेश सभा २ मा नेकपा एमालेका बसुन्धरा हुमागाईले २८ हजार ६ सय ७७ मत प्राप्त गरे । हुमागाईले नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेलाई ६ हजार ८ सय ९७ फराकिलो मतान्तरमा पराजित गरेका थिए । राज्य मन्त्री समेत भईसकेका बनेपाका रैथाने बादेको २१ हजार ७ सय ८० मत प्राप्त भएको थियो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा गठवन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर दोङ्ग बमध्वजले ४३ हजार ६ सय ३१ मत प्राप्त गरेका थिए । निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तिर्थ लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए । ४ हजार २६ को फराकिलो मतान्तरले बमध्वज विजयी भएका हुन् । प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका रत्न ढकालले २५ हजार १ सय ६ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्द्धी सिवी लामाले ७ हजार ८ सय ५५ मत प्राप्त गरेका थिए । ७ हजार २ सय ५१ को फराकिलो मतान्तरले ढकालले लामालाई पराजित गरेका थिए । प्रदेश सभा २ मा डन भनेर चिनिएका गणेश लामालाई पराजित गर्दै एमाले निकट युवा संघका केन्द्रिय उपाध्यक्ष चन्द्र लामाले ४ हजार १ सय ७७ फराकिलो मतान्तरले पराजित गरे । चन्द्रले २४ हजार ४ सय ४७ मत प्राप्त गरेका थिए भने गणेशले २० हजार २ सय ७० मत प्राप्त गरेका थिए । 
    काभ्रेपलाञ्चोक जिल्लामा रहेका २ लाख ७२ हजार २ सय ९२ मतदाता मध्ये मतदानमा सहभागि भएका १ लाख ९२ हजार ८ सय ७० मतदाता मध्ये १४ हजार २ सय ८६ मतदाताले मतदान गरेको मत बदर भएको थियो । खसेको मत मध्ये १ लाख ८४ हजार ५ सय ७१ मत मात्रै सदर भयो । निर्वाचनमा ७९ हजार ४ सय २२ मतदाताले भाग नै लिएनन् । मतदान अधिकृतहरुको बदमासीका कारण एउटै केन्द्रमा ४० भन्दा धेरै मतपत्रमा हस्ताक्षर नभएको फेला परेको थियो । बाकस राख्ने स्थान नमिलाएको र मतदान अधिकृतहरुको बदमासीका कारण केहि मतपत्रहरु बदर भएका हुन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा सबै भन्दा धेरै ४ हजार २ सय मत बदर भए । प्रतिनिधि सभा २ मा त्यसको तुलनमा १ सय १ मत मात्रै कम बदर भयो । ४ हजार ९९ मत बदर भएको प्रतिनिधि सभा २ मा उम्मेदवारको मतान्तर समेत फरक देखियो । उस्तै चिन्ह ठानेर सुर्य चिन्हका गोकुल बास्कोटालाई दिएको मत जनता दलको पांग्रालाई दिँदा १ हजार ८८ मत खस्न गयो । १७ हजार ८ सय ४८ मत फरक पारेका बास्कोटाको मतान्तर मतदाता शिक्षा राम्रो भएको भए अझै फरक हुने थियो । 
    प्रतिनिधि सभा १ को प्रदेश १ मा १२ सय ६६, २ मा १८ सय मत बदर भएको छ । त्यस्तै प्रतिनिधि सभा २ को १ मा १३ सय २१ र २ मा १६ सय मत बदर भएको छ ।