2026 August 26/ 02:06: 28am

    बेथान्चोक/जिल्लाको सबै भन्दा अग्लो स्थान ३०१८ मिटर हाईटमा नेपाली सेनाको सहयोगमा बेथान्चोक गाउँपालिकाले बुद्ध प्रतिमा निर्माण गरेको छ । सेनाको कालीजंग गण धुलिखेलको जनशत्तिले बेथान्चोक गाउँपालिका वडा नम्वर ३ स्थित चिप्लेटीडाँडामा बुद्ध प्रतिमा निर्माण गरेको हो । उक्त प्रतिमा सहितको संरचना निर्माणका लागि गाउँपालिकाले १० लाख रकम विनियोजन गरेको थियो । 
    ‘सैनिक र नागरिक सम्वन्ध फराकिलो बनाउन सेनाले स्थानीय सरकार तथा नागरिक समाजसँगको समन्वयमा सामाजिक सेवा गरिरहेको छ’–२६ नम्बर बाहिनी भकुण्डेका सहायक रथी ज्योतिन्द्र महतले भन्नुभयो–‘समाजबाट समाजसम्म भन्ने नाराका साथ नेपाली सेनाले समु्दायसँग कार्य गरिरहेको छ ।’ सैनिक नागरिक सम्वन्ध फराकिलो हुँदै गएको उहाँले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लाको अग्लो स्थान बेथान्चोकलाई पर्यटकिय रुपमा अघि बढाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको ज्योतिन्द्र महतले बताउनु भयो । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथान्चोक गाउँपालिकालाई समृद्ध बनाउन पर्यटन विकास प्रमुख भएको बताउनु भयो । बेथान्चोक नारायणस्थान मन्दिर वरपर घेराबार लगाउँदै अन्य पुर्वाधार निर्माण गरी पर्यटकहरुका लागि आर्कषक बनाउने अभियानमा कृयाशिल रहेको बताउनु भयो । पर्यटनको विकासले मात्रै बेथान्चोक गाउँपालिकको समृद्धी हुने गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताउनु भयो । नेपाली सेनाको सहयोग र समन्वयले बेथान्चोक गाउँपालिकाको समृद्धीलाई थप सहयोग पुगेको अध्यक्ष अधिकारीले बताउनु भयो । 
    कार्यक्रममा निवर्तमान अध्यक्ष गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गाउँपालिकाको विकास र समृद्धीका लागि शुरु भएका योजनाहरुको कार्यान्वयन जरुरी रहेको बताउनु भयो । बेथान्चोक नारायणस्थानको विकास र पर्यटकहरुको आर्कषणका लागि थप संरचनाहरु निर्माण गर्नु पर्ने बताउनु भयो । विकटता रहेको बेथान्चोक नारायणस्थानलाई सुगम बनाउँदै पर्यटकहरुलाई सहज बनाउनु पर्ने तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष कुवेर ढकालले बेथान्चोकमा केबुलकार निर्माणका लागि अध्ययन गर्न तथा पर्यटन विकासमा गाउँपालिका र अन्य सरोकारवाला क्षेत्रको समन्वय आवश्यक रहेको बताउनु भयो । कालीजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले नेपाली सेनाले समुदाय सँगको समन्वयमा सामाजिक कार्यहरु गरिरहेको बताउनु भयो । 
    सोहि अवसरमा वडा अध्यक्षहरु, निवर्तमान वडा अध्यक्ष एवं पुर्व जनप्रतिनधि तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको पनि कार्यक्रममा सहभागि थियो । बुद्ध प्रतिमा उद्घाटनसँगै सोहि क्षेत्रमा बृक्षारोपण गरिएको छ । कालीजंग गण धुलिखेलको २१८ औ बार्षिकोत्सवको अवसरमा गाउँपालिकाको समन्वयमा बुद्ध प्रतिमा निर्माण गरिएको कर्णेल मिलन थापाले बताउनु भयो ।