2026 August 27/ 01:53: 04am

रवि/बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौडाबाट आर्थिक बर्ष २०७८÷०७९ को दुध उत्पादनमा आधारित अनुदान सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लि. धुलिखेलले  ३४ लाख ९८ हजार ८ सय ५६ रुपैयाँ प्राप्त गरेको छ । 
१ वर्षमा २१ लाख ३६ हजार ५४ लिटर दुध उत्पादन गरेबापत प्रतिलिटर १ रुपैयाँ ६३ पैसाका दरले उक्त रकम अनुदान प्राप्त गरेको सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष चर्तुभुज तिमल्सिनाले जानकारी दिनु भयो । बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट उक्त अनुदान कृषकको हातमै पुग्ने गरी प्रदान गरिएको र प्रत्यक्ष लाभन्वित भएको तिमल्सिनाले बताउनु भयो । गतवर्ष देखी कृषकलाई उक्त अनुदान वितरण गर्न लागिएको वागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्दब सापकोटाले वताउनु भयो । 
संस्थामा हाल १ हजार भन्दा बढी सदस्य रहेको संस्थाले आगामी वर्ष बाट ७ सय वटा गाई पालन शुरु गर्ने बताएको छ । संस्थाले त्यसका लागी भौतिक पुर्वाधार फर्म तयार गरिसकेको र आगामी वर्षबाट संस्थाकै सञ्चालनमा ७ सय वटा गाईपालन गर्ने उपाध्यक्ष निरन्जन गेलालले बताउनु भयो । कार्यक्रममा वार्षिक ३८ हजार ७९ लिटर दुध संस्थालाई विक्रि गर्ने कृषक तथा धुलिखेल वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपानेले अनुदान बापत ६२ हजार ३ सय ७३ रुपयाँ प्राप्त गर्नु भएको छ । त्यसैगरी संस्थामा ३३ हजार ३ सय ९४ लिटर दुध विक्रि गर्ने कृषक जगन्नाथ ढुङ्गानाले ५४ हजार ६ सय ९९ र रामचन्द्र न्यौपानेले २० हजार ८ सय ६३ लिटर दुध विक्रि गरी ३४ हजार १ सय ८३ रुपया प्राप्त गर्नु भएको छ । कृषकहरुलाई आफुले जति दुध विक्रि गरेको हो त्यसमा सिधै अनुदान प्रतिलिटर १ रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको बताएको छ । उक्त अनुदान वागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टिकाबल्दब सापकोटाले वितरण गर्नु भएको थियो । सापकोटाले प्रदेशका सम्पुर्ण कृषकहरुलाई प्रत्यक्ष लाभ हुने गरी दुधमा अनुदान वितरण गरिएको बताउनु भयो । 
सेतीदेवी दुग्ध उत्पादक सहकारी प्रदेशकै उत्कृष्ट दुग्ध सहकारी संस्था भएको सापकोटाले बताउनु भयो । सहकारीले अब दुध लिने र दिने मात्र नभई आफै कृषि फर्म शुरु गर्नुपर्ने, दुधका विभिन्न परिकारहरु उत्पादन गरी विक्रि वितरण तर्फ लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र धुलिेखेलका प्रमुख राजकुमार हुमागाई, काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी सघंलिका अध्यक्ष तथा धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नारायण बडाल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष चर्तुभुज तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।