धुलिखेल/झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तर दोहोरो नागरिकता सिफारिस गर्ने वडा अध्यक्षलाई भने प्रहरीले उन्मुक्ति दिएको छ । यसअघि पनि भुम्लु तथा चौरीदेउराली गाउँपालिकाबाट दोहोरो नागरिक सिफारिस भएर आउँदा वडा अध्यक्षहरुलाई अनुसन्धान गरिएको छैन ।
रामेछाप जिल्ला स्थित तत्कालिन चुचुरे गा.वि.स. वडा नम्वर २ घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्वर ३ बस्ने रमेशराज गिरीको श्रीमती सुनिता गिरीले श्रीमानको ठेगाना जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा. वडा नम्वर ५ उल्लेख गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट पहिलो पटक नागरिकता लिनु भएको थियो । २०६९ साउन ८ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी सुनिता गिरीले पुनः आफ्नो ठेगाना काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्वर ३ जनाई आफ्नो नाम देवी खड्का खत्री उल्लेख गरी श्रीमान राजु खत्री उल्लेख गरेकी छिन् । राजु सुनिताको बैद्यानिक रुपमा दोश्रो श्रीमान भएको स्विकार गरेकी छिन् । दर्ता नभएको तर उनले विवाह गरेर गएका श्रीमानको संख्या ५ औं भएको बताईएको छ । दोश्रो श्रीमान राजु खत्रीको सनाखतमा २०७५ मंसिंर २६ गते एकै व्यक्तिले दोहोरो नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रशासनको रेकर्डमा छ । २०७९ असार १ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दोहोरो नागरिकता लिने सुनिता गिरी र राजु खत्रीलाई पक्राउ गर्न प्रहरीलाई पत्र पठाएसँगै उनिहरु पक्राउ परेका छन् । स्थानीयहरुले भने पटक पटक यस्ता घटना दोहोरिन थाले पछि जनप्रतिनिधिलाई सचेत गराउनु पर्ने बताएका छन् ।
पक्राउ परेका गिरी र खत्रीलाई नागरिकता ऐन २०६३ बमोजिम आवश्यक कारवाहीको लागि प्रहरीले अनुसन्धान शुरु गरेको छ । सुनिताले परिवर्तित नाम देबी खड्का खत्री राखेकी छिन् । उनि ३९ बर्षकी भईन् । उनीबाट जन्मेका एक सन्तान जो जो सँग गए पनि सँगै लिएर जाने गरेकी छिन् । राजु खत्री ३६ वर्षका छन् ।





