2026 August 25/ 08:34: 58pm

दाप्चा/नमोबुद्ध नगरपालिका वडा नं. १० का नव–निर्वाचित वडा अध्यक्ष रामकृष्ण उपाध्यायले असहाय र जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको छ ।  
गत सोमबार वडा कार्यालयमा पदवहाली गरे लगत्तै नमोबुद्ध १० मा रहेको बाल उज्ज्वल माविमा आयोजित कार्यक्रममा वडा–अध्यक्ष उपाध्यायले स्वर्गीय पिता छविलाल उपाध्यायको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको हो । अधिकारीले अक्षय कोषका लागि व्यक्तिगत तर्फबाट १ लाख ५१ हजार रुपैयाँ समेत बाल उज्ज्वल माविलाई हस्तान्तरण गर्नु भएको थियो ।
अक्षयकोषको रकमबाट बाल उज्वल माविमा अध्यनरत अभिभावकबिहीन विद्यार्थीका लागि खर्च गरिने अधिकारीले बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष उपाध्यायका भाई एवं जनक क्याम्पसका प्रमुख हरिहर अधिकारीले संयुक्तरुपमा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लालकाजी लामा र प्रधानाध्यापक नारायणभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गर्नु भएको थियो । वडाअध्यक्ष उपाध्यायले वडाको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा समितिका निर्वातमान सदस्यहरुलाई विदाई पनि गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नमोबुद्ध नगरपालिका वडा नं. १० मा विगतका बर्षमा पनि उदाहरणीय कामहरु भएको भन्दै त्यसको निरन्तरताको कामना गरे । सीमित स्रोत साधनका बाबजूद वडामा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनले नागरिकहरुलाई सहजरुपमा सेवा प्रवाह गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नु भएको थियो ।