धुलिखेल/आसन्न स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको छनौटका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार लिखित परीक्षा लिएको छ ।
धुलिखेलको रंगशालामा २ हजार ४ सय २५ परीक्षार्थीले एकै पटक परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनुभयो । म्यादी प्रहरीका लागि ३ हजार १ सय ७३ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये केहि प्रारम्भिक छनौटमा नै अस्विकृत भएका थिए । उचाई र तौल नपुगेका, विभिन्न कारण म्यादी प्रहरीमा छनौट गर्न नमिल्ने ७ सय ५० जना प्रारम्भिक छनौटबाट हटेका छन् । लिखितमा पास हुनेहरुको अन्र्तवार्ता लिईनेछ । जिल्ला प्रहरी कार्यालय काभ्रे मार्फत १३ वटा पालिकाको १ सय ८९ वटा मतदान स्थल र ३ सय ८१ मतदान केन्द्रमा सुरक्षाकर्मी खटाउनेछ । सोहि प्रयोजनका लागि म्यादी प्रहरी १ हजार ६ सय १६ जना खटिनेछन् । लिखित र अन्र्तवाताबाट छनौट भएकाहरुलाई विभिन्न स्थानमा तालिम उपलब्ध गराईनेछ ।
जिल्लामा म्यादी प्रहरीका लागि २० वर्षसम्मका ७ सय २३, २१ देखि ३० सम्मका १ हजार ६ सय ६२, ३१ देखि ४० सम्मका ५ सय ५०, ४१ देखि ५४ सम्मका २ सय ३८ जना छन् । साधारण लेखपढ गर्न जान्ने १ हजार ७ सय १ जना, एसएलसीसम्म अध्ययन गर्ने ९ सय २४ जना, +२ अध्ययन गरेका ५ सय ३९ जना र ९ जना ब्याचलर तहको अध्ययन गरेका छन् । आवेदन दिने मध्ये ७ सय ३६ जना महिला र १ हजार ९ सय ९७ पुरुष थिए । सुरक्षा निकायमा जागिरका लागि आवेदन दिने १२ जना, नेपाली सेनामा कार्यरत रहि अवकाश भएका ६१ जना, नेपाल प्रहरीबाट अवकाश ११ जना, शसस्त्र प्रहरीबाट अवकाश १६, यसअघि म्यादी प्रहरीमा भर्ना भएका ३ सय ४० जना रहेका छन् ।
लिखित परीक्षा शुरु हुनु अघि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, कालीजंग गण धुलिखेलका प्रमुख कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, सशस्त्र प्रहरी प्रमुख एसपी सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र दाहाल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी हरि खतिवडा लगायतले सहभागिहरुलाई निर्देशन दिनु भएको थियो ।





